|

काठमाडौं : संघीय संसदको तेस्रो अधिवेशन अन्त्य भएको छ। आइतबार समापन बैठक बसेर संघीय संसदको दुवै सदनको बैठक अन्त्य भएको हो। दुवै सदनमा प्रधानमन्त्रीसहित सदनमा रहेका सबै दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।

गत पुस ११ गते प्रारम्भ भई चैत १० गते आइतबारसम्म ८९ दिन चलेको तेस्रो अधिवेशन कानुन निर्माणका दृष्टिले सफल रहेको सत्तापक्ष र प्रतिपक्षले मानेका छन। प्रधानमन्त्रीले त समापन बैठकलाई सम्बोधन गर्दै कुनै पनि सदनले एक अधिवेशनमा यति धेरै काम गर्न प्रायः सम्भव नभएको दाबी गरे।

प्रतिनिधिसभाको तेस्रो अधिवेशनमा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएका थिए। जसमध्ये आठ विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुन बाँकी छन।

सात विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने दुईमाथि राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको सभामुख कृष्णबहादुर महराले जानकारी गराएका छन।

अन्य छ विधेयक संघीय संसदको दुवै सदनबाट पारित भइसकेका छन। साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न सात विधेयकमध्ये चार विधेयक दुवै सदनबाट पारित भइसकेको छन भने दुई विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको र एक विधेयक राष्ट्रियसभामा विचाराधीन रहेको अवस्था छ।

सभाका विभिन्न बैठकमा सडक दुर्घटना रोक्न कदम चाल्नुपर्नेसम्बन्धी र छाउपडीप्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नुपर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावउपर छलफल भई सम्बन्धित मन्त्रीबाट जवाफ दिने कार्य सम्पन्न भएको थियो।

गत माघ ४ गतेको बैठकमा प्रारम्भ भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिने कार्य भएको थियो। साथै सभाको विभिन्न बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट दिइएको थियो। त्यस्तै विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भई सदनमा प्रस्तुत गर्न बाँकी रहेका मौखिक एवं लिखित उत्तरसमेत टेबुल भएका छन।

प्रधानमन्त्रीसँग संसद बैठकमा प्रश्नोत्तरको नयाँ प्रयोग पनि यहिँ अधिवेशनबाट शुरु भएको छ। यसलाई एक नयाँ शुरुवातका रूपमा लिइएको छ। हप्ताभरी नै सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले समसामयिक र विशेष महत्वका विषयमा सांसदहरूले उठाएका लिखित र मौखिक प्रश्नको जवाफ दिनैपर्ने व्यवस्थाको शुरुवात भएको हो।

सभाको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदन पेश गर्ने कार्य सम्पन्न भएको सभामुखले जानकारी दिएका छन। यस अधिवेशन अवधिभर पूर्वसांसदहरू चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतिदेवी थारु, कमलादेवी शर्मा, रवीन्द्रप्रसाद अधिकारी, भरतमोहन अधिकारी, गणेश पण्डित र जीतबहादुर पुरीको निधन भएकामा शोक प्रस्ताव पारित भएका छन।

यसै अवधिमा सदनको विभिन्न बैठकमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनका बारेमा, गृहमन्त्रीले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौताका विषयमा र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सम्बन्धमा सार्वजनिक महत्वको वक्तव्य दिएका थिए।

यसअघि आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका नेताले अधिवेशन समापनका अवसरमा मन्तव्य दिएका थिए। त्यस्तै सभामा प्रस्तुत हुन नसकेको लिखित एवं मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिएको थियो। बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त संसद अधिवेशन अन्त्य हुनेसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।

राष्ट्रियसभाको समापन बैठक

राष्ट्रियसभाको हिउँदे अधिवेशन समापनमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए। बैठकमा अध्यक्ष तिमिल्सिनाले तेस्रो अधिवेशन अवधिभर भएका बैठक र काम कारवाहीबारेमा जानकारी गराउँदै ८९ दिन बैठक बसेको र विभिन्न १२ विधेयक पारित भएको जानकारी दिए।

यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भएको सन्देशसहित प्रतिनिधिसभामा पठाइएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट पारित भई आएको सन्देश बैठकसमक्ष जानकारी गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.