|

काठमाडौं : किर्ते कागजात बनाएर २८ लाख बढी भ्रष्टाचार गरेको आरोपमा भोजपुरको षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय प्रमुखसहित १० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३-७४ का लागि नगरपालिका अन्तर्गतको विद्युत् विस्तार परियोजनामा विनियोजित रकमअनुसार काम नगरी किर्ते कागजात बनाएर उनीहरूले आर्थिक हिनामिना गरेको आरोपसहित आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारले तत्कालीन निमित्त प्रशासकीय प्रमुख जयनारायण खनाल, लेखा अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर विमलमान राई, असिस्टेण्ड सब इन्जिनियर महेश कार्की, षडानन्द नगरपालिका दिङ्लाका शिक्षा अधिकृत मणिराम तामाङविरुद्ध मुद्दा दायर गरेको छ।

यस्तैगरी, अनुगमन समितिका सदस्य तथा वडा अध्यक्ष किशोर किराँत, विद्युत् विस्तार योजना उपभोक्ता समितिका अध्यक्ष फूर्वा तामाङ, सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ श्रेष्ठ, सँयोजक हेमकुमार श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ। 'साविक वडा-५ र ६ मा विद्युत् विस्तार परियोजनाका लागि गठन भएको उपभोक्ता समितिमा संलग्न पदाधिकारीहरूले विद्युत् विस्तार योजना लागत इस्टिमेट अनुसार योजनाको काम सम्पन्न नगरी १७ प्रतिशत मात्र काम सम्पन्न भएको अवस्थामा कार्य सम्पन्न भएको भनी झुठ्ठा प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको देखिएको छ', अख्तियारले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ।

योजनाको कुल लागत रकम ५८ लाख ७० हजारबाट २९ लाख ७४ हजार ४ सय बराबरको मात्र काम गरी झुठ्ठा बिल भर्पाइको आधारमा काम गरेको भन्दा २८ लाख ९५ हजार, पाँच सय बढी निकासा गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

यस्तैगरी, जाजरकोटको साबिक सीमा गाउँविकास समितिका तत्कालीन गाविस सचिव दीपबहादुर सिंहसहित ४ जनाविरुद्ध पनि भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेको छ। सिंहसित असिस्टेण्ड सब इन्जिनियर नरबहादुर नेपाली, सामाजिक परिचालक एवं उपभोक्ता समितिका सदस्यसचिव भीमबहादुर राना र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलीदेवी बाँठाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता मदनकुमार कोइरालाले जानकारी दिए।

उनीहरूले साविकको सीमा गाविसलाई एलजिसिडिपी कार्यक्रमबाट हिमालय नागरिक सचेतना केन्द्र भवन निर्माणका लागि निकास भएको रकम झुटा बिल भर्पाइ तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी २ लाख ३३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.