|

झापा : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताएका छन। वर्तमान महामन्त्री डा. शशांक कोइरालाले यी विषयमा जनमतसंग्रहको माग गरिरहेका बेला सिंहको यो धारणा आएको हो।

झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने स्पष्ट पारेका थिए।

'नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आफ्नो अलग्गै धारणा राख्न पाउने नेताको पनि अधिकार हो', उनले भने, 'तर पार्टीको आधिकारिक धारणा के हो भनेर प्रश्न उठ्यो भने कुनै अलमलमा पर्न जरुरी छैन, महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा।'

पछिल्लोसमय कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मनिरपेक्षता लगायतका विषयमा जनमतसंग्रह हुनुपर्ने धारणा राखेका थिए। जसको कांग्रेसभित्र र बाहिर आलोचनाका साथै समर्थन पनि मिलेको थियो।

पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा पूर्वमहामन्त्री सिंहले सत्तासँग असन्तुष्ट विप्लव समूहलाई वार्तामा ल्याउनेसमेत औकात अहिलेको सरकारसँग नभएको टिप्पणी गरेका थिए।

नेपाली कांग्रेसको नेतृत्वमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सशस्त्र संघर्षमा रहेको तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै उनले अविलम्ब विप्लव समूहलाई वार्तामा ल्याउन र सम्झाउन वर्तमान सरकारसँग आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.