|

काठमाडौं  : मंसिर १४ गते राति संविधान संशोधन विधेयक दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र संसदबाट आन्दोलन गर्दै आएको छ। 

संशोधन प्रस्ताव दर्ता भएको दोस्रो दिन मंसिर १५ गते बसेको एमाले संसदीय दलको बैठक र १६ गते बसेको सचिवालय बैठकले सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको थियो।

संविधान संशोधन विधेयक दर्ता हुनअघि अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका प्रमुख नेताहरुले औचित्यबिना संविधान संशोधन गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए। सरकारले ५ नम्बर प्रदेशको पहाड र तराइका जिल्ला छुट्याउने गरी संविधान संशोधन विधेयक ल्याएपछि पछिल्ला ४ दिन एमाले निरन्तर सडक तथा संसदमा आन्दोलनरत छ। 

विधेयक दर्ता भएको भोलिपल्टै सदन चल्न नदिएको एमालेले १७ गते पनि विधेयकको विरोध गर्दै सदन अवरुद्ध गर्‍यो।राजधानी काठमाडौं, प्रदेश नम्बर ५ र देशका अन्य भूभागमा एमालेको अगुवाईमा बन्द, हड्ताल र जुलुस हुँदै आएका छन्। तर, एमालेका अध्यक्ष केपी शर्मा ओली चुप छन्। 

संविधान संशोधन विधेयकबारे चुप छन् ओली  

धेरैलाई चासो छ, संविधान संशोधनको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष के बोल्लान् त? शनिबारअघि उनी कुनै सार्वजनिक कार्यक्रममा उपस्थित नै भएनन्। त्यसैले ओलीले बोल्न परेन।

शनिबार उनी सुखानी हत्याकाण्डका सहिदहरुको स्मृतीमा स्थापना गरिएको सुखानी सहिद स्मृती प्रतिष्ठानले आयोजना गरेको १२ औं साधारणसभामा उपस्थित भए। ढिलो आइपुगेका ओली झापा आन्दोलनका योद्धामध्येका एक मोहनचन्द्र अधिकारी (जसलाई नेपालका नेल्सन मण्डेला भनिन्छ) सँग गफिए।

'तपाईँलाई आजभोलि कस्तो छ?' मोहनचन्द्रले प्रश्‍न गर्दा नेता ओलीले ठिकै भएको बताए। झापा आन्दोलनका सहयात्री रहेका दुई पुराना नेता धेरै समयपछि मञ्‍चमा भेटिएका थिए। त्यसैले उनीहरुबीचको भलाकुसारी स्वभाविक नै थियो।

तर अस्वभाविक थियो त ओलीको भाषण। किनभने उनले संविधान संशोधन विधेयक दर्ता भएपछिको स्थितिबारे बोल्दै बोलेनन्। ओलीसँगको कुराकानी पछि मोहचन्द्र कार्यक्रमबाट बाहिरिए। त्यसपछि प्रमुख अतिथिका रुपमा ओलीको भाषण सुरु भयो। उनले संविधान संशोधनबारे के भन्लान् भन्‍ने जिज्ञासा कार्यक्रममा उपस्थित धेरैमा थियो। तर ओलीले संविधान संशोधनबारे केही पनि बोलेनन्।

के भने ओलीले ?  

ओलीले झापा आन्दोलनबारे बोले। उनले सुखानी हत्याकाण्ड सम्झिए। सँगै जेल जीवन बिताएका सहयोद्धाहरुलाई सम्झिए। 'बलिदानीको एउटा असाधारण साहसिक इतिहास' सम्झिए।

'झापा आन्दोलन पञ्चायत गिराउन गरिएको महान् जनक्रान्ति थियो।अहिलेको परिवर्तन झापा आन्दोलनकै प्रतिविम्ब हो,' झापा आन्दोलनकै जगमा नेपाली राजनीतिमा स्थापित भएका ओलीले भने, 'संघर्ष, त्यसको प्रतिबिम्ब, आन्दोलनलाई दमन गर्न गरिएको हमला, त्यसको प्रतिवाद र त्यस हमलालाई प्रतिवाद गरेर अगाडि बढ्ने प्रतिबिम्ब हो सुखानी।'

ओलीले झापा आन्दोलन दबाउन तत्कालीन पञ्चायती सरकारले अनेक खेल गरेपनि अन्‍ततः असफल भएको स्मरण गरे। 'आन्दोलन दबाउन तानाशाहहरुले कोसिस गरे तर त्यसलाई झापा आन्दोलनले क्षतविक्षत बनाइदियो', ओली नोस्टाल्जिक बने, 'घाम, जुन रहुञ्जेल पञ्चायत रहन्छ भन्थे उहिले। अब घाम, जुन, धर्ती रहुञ्जेल एमाले रहिरहन्छ भन्‍ने बेला आइसक्यो।'

कार्यक्रमको अन्त्यतिर निकै भावुक देखिएका ओलीले सुखानीमा सहिदहरुले बगाएको रगतको मूल्य नभुल्न आग्रह गरे। 'तपाईँहरु (प्रतिष्ठान) ले जुन किसिमको काम गर्नुभएको छ त्यो सह्राहनीय छ। यसले अझ राम्रा काम गर्न सकोस्, स्मृति सँगसँगै अझै रचनात्मक कार्य गर्न सक्यो भने उपयुक्त हुन्छ,' ओलीले सुझाव पनि दिए। सुन्नुस् ओलीको अडियोः


Audio recording software >>

सम्बन्धित सामग्री

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.