कुलत छाडेर मासिक ३० देखि ४० हजार कमाइ

|

काठमाडौं :  मुलुकको युवा जनशक्तिको ठूलो हिस्सा रोजगारीका लागि विदेशिएको छ। किशोर र युवाहरूको ठूलो संख्या पनि दुर्व्यसनमा फसेका उदाहरण धेरै भेटिन्छन्। नेपालका कतिपय युवा अहिले लागुपदार्थ दुर्व्यसनमा लिप्त भएका छन्। दुर्व्यसनले समाजमा विकराल अवस्था सृजना हुँदै गइरहेको छ। आपराधिक घटना बढ्दै जाँदा देशको गरिमामाथि पनि प्रश्न खडा हुँदै गइरहेको छ। नैतिक शिक्षा र चेतनामूलक माध्यमबाट त्यता लाग्नै नदिन सकिन्छ भने लागि सकेकालाई प्रयास गरेर दुर्ब्यसनबाट बाहिर ल्याउन पनि सकिन्छ। 

यस्तै दुर्व्यसनमा फसेका १८ वर्षीय प्रेम ठाकुर (नाम परिवर्तित) लाई उनको दाइले अन्तिमपटक गाँजा खुवाउन आफूसँगै पशुपति लगे। पशुपतिक्षेत्रमा भाइलाई गाँजा खुवाई जिन्दगीसँग लड्दै गरेका दुर्व्यसनीहरूलाई देखाए। यो देखेपछि ती दुर्व्यसनीहरूको कष्टकर जिन्दगीदेखि उनी दुर्व्यसनबाट बाहिर आउने अठोट लिएपछि गाँजा लगायतको दुर्व्यसन छोडेर सफलताको उदाहरण प्रस्तुत गरेका छन् ।

प्रदेश-२ को राजधानी जनकपुरको कमला नगरपालिका २ स्थित बाँची–झिटकहिया (ठेगाना परिवर्तित)मा ठाकुरको जन्म २०५७ साल मा भएको थियो। उनको बुबा गाउँमै किसान छन् भने जेठो दाइ काठमाडौंमा किराना पसल चलाउँदै आएका छन्। आमा–बुबाको निरन्तर रेखदेख नभएपछि आठ वर्षको उमेरमा उनको विद्यालयमा भर्ना भयो। घरको दयनीय आर्थिक अवस्था रहेकाले उनी गाउँकै सरकारी विद्यालयमा पढाइ सुरु गरेका थिए। 

पढाई सुरु गरेको एक वर्ष पुग्दै ठाकुर लागु पदार्थको उपभोक्ता पनि बन्न पुगे। उनी भन्छन्, ‘नौं वर्षको उमेरमै म गुटखा, सुर्ती र चुरोट खान सुरु गरेको थिएँ। त्यतीबेला म कक्षा २ मा अध्ययनरत थिएँ।’ आमा–बुबाको र शिक्षकको अभिभावकत्व अभावले उनले खराब साथीहरूको संगत गरे। साथीहरूकै संगतले उनलाई दुर्व्यसनको बाटोमा लाग्ने बनायो। कक्षा २ बाट सुरु भएको उनको सो दुर्व्यसनको यात्रा पाँच वर्षसम्म चलिरह्यो। यो अवधिमा उनी गुटखा, सुर्ती र चुरोटका अम्मली बने। उनको गुटखा, सुर्ती र चुरोटले नयाँ रूप लियो। त्यसपछि उनी गाँजाका पनि अम्मली बने। गाँजाले शारीरिक, मानसिक र शैक्षिक क्षति गरे पनि गाँजाको नसामा हरेक दिन लट्ठिदै गए। १४ वर्षकै उमेरमा उनी दुर्व्यसनको उच्च विन्दुमा पुगिसकेका थिए।

समय बित्दै जाँदा उनको अम्मल लिने तरिकासमेत बदलिँदै गयो। १६ वर्षको उमेरमा उनी गाँजा जस्तो हानिकारक नसालाई छोड्न सफल भए। गाँजा छोडे पनि उनको दुर्व्यसनको यात्रा समाप्त भएन। त्यस पछाडि ड्रग्स लिन थाले। उनको ड्रग्सको त्यो यात्रा निरन्तर दुई वर्षसम्म चल्यो। जसमा उनी ब्राउन सुगर, हेरोइन, नाईट्रोभेटलगायतका नसालु पदार्थ प्रयोग गर्थे। नसाकै भरमा उनी २०७४ सालमा उनले एस.ई.ई (कक्षा १०) को परीक्षा पनि दिए। परीक्षा दिएर घुम्ने उद्देश्यका साथ ठाकुर काठमाडौं आइपुगे। काठमाडौं आउँदा उनी सँगै उनको लत पनि आयो। काठमाडौं आएपछि घरबाट कुनै प्रकारको आर्थिक सहयोग नपाएपछि उनी आफ्नो दाइ कहाँ पुगे।

कुलत छाडेर मासिक ३० देखि ४० हजार कमाइ

आर्थिक रूपले सबल नरहेको उनको दाइले उनलाई बानेश्वरको थ्री ब्रदर्स पेट्रोल पम्पमा काम लगाई दिए। मासिक ८ हजार तलबमा उनी पिलर (गाडीमा तेल हाल्ने)मा नियुक्त भएका थिए। दाइको निगरानीमा उनी सबै नसा छोड्ने निर्यात गरी काममा व्यस्त भए। बिहानदेखि रातिसम्म काम गर्न शारीरिक रूपले उनी सक्षम नभएपछि सो काम एक महिनामै छोडे र फेरि दाइकोमा पुगे। उनले दाइलाई भने, ‘अब केही नसा नगरी म बाँच्न सक्दिँन्।’ दाइलाई अन्तिम पटक गाँजा खाने र त्यसपछाडि केही नसा नगर्ने उनले वाचा गरे। वाचा गर्ने बित्तिकै दाइले पशुपति लगेर उनलाई आफूसँगै गाँजा खुवाए। दाइले आफूलाई खुवाउँदाको पल ठाकुरको मनमा नरमाइलो लाग्यो र आफै प्रति प्रतिज्ञा गरे, ’आजैको मितिबाट सब थोक छोड्छु।’ आफैँप्रति गरेको प्रतिज्ञापश्चात् उनले कुलतका कुनै पनि सामान प्रयोग गरेनन्। 

ठाकुरले आफूले गरेको प्रतिज्ञामा सफल हुँदै गए। कुलतको बाटो छोडेर सही मार्गमा हिँड्न थालेपछि उनका दाइले काठमाडौंकै एक निजी कम्पनीमा मार्के्टिङको काम लगाइदिए। एक वर्षदेखि उनी सो कम्पनीको एक अंग भएर मासिक ३० देखि ४० हजार रुपैयाँसम्म कमाउँदै आइरहेका छन्। 

युवा वर्ग लागु पदार्थ दुर्व्यसनमा परी आफ्नो जीवन अन्धकार बनाउँदै गई रहेका छन्। समाज बर्बादको बाटो लाग्नुको एक कारक युवाहरू दुर्व्यसनमा फस्नु पनि हो। बाल्यकालमा आफ्ना छोराछोरीलाई उचित अभिभावकत्व दिन सक्नुपर्छ। ठाकुर भन्छन्, ’नसा यस्तो चिज हो, जसको सेवन पश्चात् मान्छे आफू बर्बाद भएको यथार्थको जानकार हुँदैन। नसामा डुबेपछि त्यहाँबाट निस्किन अत्यन्तै गाह्रो हुन्छ।’ दुर्व्यसनबाट बाहिर निस्किन त्यति सहज छैन। तर आफैले प्रतिज्ञा गरे असम्भव भन्ने कुरा कुनै शब्दकोशमा छैन भने प्रेम ठाकुरको अहिलेको जीवनले बताउँछ।

नसाले मानिसलाई अन्धो बनाउँदो रहेछ

त्यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका ७ स्थित बखरीगाउँका २२ वर्षीय कन्हैया शर्मा पनि दुर्व्यसनमा लागेका थिए। १४ वर्षकै उमेरमा शर्मा गुटखाको लतमा परेका थिए। समयका साथै शर्माको नसा गर्ने तरिका पनि बदलिँदै गयो। १५ देखि २१ वर्षको उमेरसम्म शर्मा गाँजा, चुरोट र रक्सीसमेत सेवन गर्थे। त्यस्ता खराब लतले घरपरिवारबाट निकै टाढा पर्दै गए र जीवनमा एक्लै भएको अनुभव गरे। शर्मा भन्छन्, ‘म सानै उमेरदेखि लागुपदार्थ दुर्व्यसनमा फसेर आफ्नो जीवन बर्बाद गर्दै गएँ। तर घरपरिवार गुमाउने डरले भविष्यमा कहिले नसा नगर्ने प्रतिज्ञा गरेँ। किनभने नसाले मानिसलाई अन्धो बनाउँदो रहेछ।’

यी प्रतिनिधिमूलक पात्र मात्र हुन्। देशमा दुर्व्यसनको यस्ता धेरै पात्र देख्न सकिन्छ। जो लागु पदार्थ दुर्व्यसनमा फसी आफ्नो जीवन बर्बाद गर्दै गएका छन्। 
प्रहरी तथ्यांककाअनुसार आर्थिक वर्ष २०७४–७५ मा लागु पदार्थ दुर्व्यसनका कुल तीन हजार ८८ मुद्दा प्रहरीमा दर्ता भएका थिए। ती मुद्दामा कुल चार हजार ७५४ जना पक्राउ परेका थिए। जसमा स्वदेशी महिलाको संख्या १८९ र पुरुषको संख्या चार हजार ४१६ रहेको थियो भने विदेशी महिलाको संख्या १० र पुरुषको संख्या संख्या १३९ रहेको थियो। 

त्यसै गरी चालु आर्थिक वर्ष २०७५–७६ को ६ महिनामा मात्र लागु पदार्थ दुर्व्यसनको कुल एक हजार ३९५ वटा मुद्दा प्रहरीमा दर्ता भएको प्रहरी तथ्यांकमा उल्लेख छ। दुई हजार १६६ जना पक्राउ परेका छन्। जसमध्ये स्वदेशी महिला ७८ जना, पुरुष दुई हजार ३२ जना र विदेशी पुरुष ४५ जना रहेका छन्। 

अभिभावक वैदेशिक रोजगारीमा जानुले सन्तानलाई समय दिन नसक्नु र नैतिक शिक्षाको अभावले युवा वर्ग दुर्व्यसनतिर तानिँदै गएको नेपाल प्रहरीका प्रवक्ता उत्तम राज सुवेदीले बताए। सुवेदीकाअनुसार आमाबुबामध्ये एक वा दुवै जना वैदेशिक रोजगारमा गएपछि आफूलाई स्वतन्त्र ठान्दै बच्चाहरू सानैदेखि दुर्व्यसनमा फस्दै गएका छन्। साथै विद्यालयमा शिक्षकबाट नैतिक शिक्षाको ज्ञान नपाएकोले पनि बालबालिका यस्ता कुलतमा फस्ने गरेका छन्। मानवमा देखिने गरेको नयाँ बिमारीका उपचारका लागि उत्पादन गरिएको औषधीलाई युवावर्गले दुरुपयोग गरी समाजमा विभिन्न प्रकारका विकृति फैलाउँदै गएको प्रहरीको तर्क छ। जसले गर्दा अपराधिक घटनाहरू हुने गरेका छन्। 

कतिपय औषधी पसलको लापरबाहीले गर्दा युवा वर्ग दुर्व्यसनमा लाग्ने गरेको औषधि व्यवस्था विभागका प्रवक्ता तथा वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए। डाक्टरको अनुमति नभएकोलाई पैसाको लोभमा नदिनु पर्ने औषधी पसलहरूले दिने गरेका छन्। जसले देशमा विभिन्न अपराधीक घटनाहरू घटाउने गरेका छन्। यस्ता अपराध रोकी बच्चालाई राम्रो बाटो देखाउन निम्न माध्यमिक र माध्यमिक स्तरमा दुर्व्यसन सम्बन्धी शिक्षा ल्याउन अति आवश्यक रहेको उनले बताए। समाज र देशमा बढ्दै गएको यस्ता समस्याहरूको न्यूनिकरणका लागी प्रहरीका साथमा जनताले पनि सहकार्य गर्नुपर्ने हुन्छ। विगत केही वर्षदेखि देखिएको प्रहरीको सक्रियताले आपराधिक घटनाहरूमा निकै नियन्त्रण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.