ओली-प्रचण्डको हातमा नेकपा एकताको निर्णय

|
फाइल फोटो

काठमाडौं : सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपाले आफ्नै पार्टीभित्रको एकता प्रकृया टुंग्याउन सकेको छैन। तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचमा एकता भएर नेकपा बनेको लामो समय भइसक्दा पनि दुई पार्टीको सम्पूर्ण रूपमा एकता हुन नसक्दा तल्लो तहमा कार्यकर्ताहरूबीच निराशा बढ्दै गएको छ।

पछिल्लो समय गठन गरिएको एकता कार्यदलले पनि एकताको अन्तिम टुंगो लगाउन नसकेको भन्दै कार्यदल भंग भएपछि एकताको सम्पूर्ण अधिकार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले लिएपछि एकता प्रकृया दुई अध्यक्षको हातमा गएर अड्किएको छ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको एकता आकस्मिक रूपमा हुने अभिव्यक्ति दिएका छन। चुनावी गठबन्धन र एकता घोषणा भएजसरी नै आकस्मिक रूपमा तल्लो तहमा पार्टी एकता भएको घोषणा हुने प्रधानमन्त्रीको अभिव्यक्तिको आशय थियो।

नेकपाको तल्लो कमिटीको एकता, जनवर्गीय संगठन, विभागहरूको एकताको काम लगभग टुंगिसकेको छ। तर केही ठाउँमा नेताहरूको 'इन्ट्रेष्ट'का कारण एकता प्रकृया अन्तिम टुंगोमा पुग्न सकेको छैन।

तल्लो तहका नेताहरूमा नभएर माथिल्लो तहका केही नेताका कारण एकताको काम सम्पन्न हुन नसकेको नेकपाका नेताहरू बताउछन्। अब अधिकार दुई अध्यक्षमा गएकाले उनीहरूले नै एकताको टुंगो लगाउनेछन्।

नेकपाका शीर्ष नेताहरू पार्टीभित्र आफ्नो पकड कायम राख्‍न एकताकार्य मै पनि हिसाबकिताब मिलाउनै केन्द्रित भएका कारण एकताले मूर्तरूप लिन नसकेको हो। केन्द्रीय कमिटी हुँदै प्रदेश कमिटीमा आफ्ना पक्षको वर्चस्व बढाउन आन्तरिक रसाकस्सी गरेका नेताहरू अहिले जिल्ला, जनवर्गीय संगठन, विभागहरूको नेतृत्वको एकतामा पनि आफू निकटलाई जिम्मेवारी दिने कार्यमा लागिपरेका छन्।

अध्यक्ष प्रचण्ड फर्केलगत्तै एकता

एकताका सम्पूर्ण काम पुरा भइसकेकाले बाँकी एकताको घोषणा अध्यक्ष फर्केलगत्तै हुने नेकपाका नेताहरू बताउछन्। श्रीमती सीता दाहालको उपचार गर्न अमेरिका गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केपछि एकताको घोषणा गरिने उनीहरूको भनाइ छ।  

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एकता टुंगिसकेको र घोषणा हुन मात्र बाँकी रहेको जानकारी दिए। 'अध्यक्षलाई पर्खिएको हो, एकता अब टुंगिन्छ। अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केलगत्तै एकता टुंगिन्छ', नेता नेम्वाङले भने।

प्रदेशको एकता यसअघि टुंगिसकेको र विवाद पनि मिलिसकेको उनले बताए। अहिले स्थानीय तहका कमिटिहरूको विभिन्न ठाउँमा सपथग्रहणका कामहरू भइरहेको भन्दै उनले देशभर एकताका काम टुंगिसकेको बताए। एकताका बाँकी काम पनि प्रचण्ड आएलगत्तै घोषणा हुने नेता नेम्वाङको भनाइ छ। उनले भने, 'जिल्लाको अध्यक्ष र सचिवको कुरा जो छ त्यो पनि टुंगिसकेको छ। अर्को अध्यक्ष आउनासाथ टुंगिन्छ।'

नेकपा अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको उपचारका निम्ती गएको चैत्र ३ गते अमेरिका प्रस्थान गरेका हुन। उनी फर्कने मिती भने तय भइसकेको छैन।

नेताहरू जिम्मेवारी बिहिन

नेकपाको एकताको काम समयमा नटुंगिदा नेताहरू कामबिहिन भएका छन्। नेकपाको ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी छ। नेकपाको पोलिटब्युरो बन्न सकेको छैन भने केन्द्रीय नेताहरूको कार्यविभाजन हुन सकेको छैन।

नेकपाको तल्लो तहमा पनि एकता टुंगो नलाग्दा पार्टीका कामहरू हुन सकेका छैनन। जसले कार्यकर्ता तथा शुभचिन्तकहरूमा निराशा उत्पन्न हुदै गएको छ। निश्चित जिम्मेवारी नहुँदा जिल्लाका जिम्मेवार नेताहरू पनि निष्क्रिय बन्दै गएका छन्। जसका कारण धेरै नेता कार्यकर्ता पार्टीको कामभन्दा बाहिर छन्। पार्टीका गतिविधि हुन सकेका छैनन। 

यसअघि एकताको प्रस्ताव तयार गर्ने प्रयोजनका निम्ती नेता रामबहादुर थापाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको थियो। तर त्यो कार्यदलले झन्डै डेढ महिनामा पनि काम पूरा गर्न सकेन। कार्यदलभित्रकै पाँच सदस्यले कार्यदलभित्रै छलफल गर्न संयोजक र महासचिवले समय उपलब्ध नगराएको भन्दै छुट्टै ज्ञापनपत्र अध्यक्षद्वयलाई बुझाए। दुई अध्यक्षलाई बुझाएको प्रतिवेदन अपूर्ण थियो।

कार्यदलभित्रै विवाद बढेपछि सचिवालयले पुनः दुई अध्यक्षलाई नै जिम्मेवारी दियो। त्यही जिम्मेवारीअनुसार अध्यक्षहरूले प्रस्ताव तयार गर्नुपर्ने हो। तर दुई अध्यक्षले हालसम्म छलफल मात्र गर्न सकेको देखिन्छ। तर नेताहरू भने सबै कुरा मिलिसकेको बताउँदै आएका छन्।

जिल्ला नेतृत्व टुंगियो

यसैबीच नेकपाले जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार पारेको छ। नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन्।

प्रस्ताव अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव विष्णु पौडेलको सहयोगमा तयार पारेका हुन्। ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्तावमाथि आइतबार बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.