|

बुटबल : 'प्रदेश नम्बर ५ टुक्र्याउन नहुने' माग राख्दै सर्वदलिय आन्दोलन थालेका बुटबलका राजनीतिक पार्टीहरु चौथो दिन विभाजित भएका छन्।

प्रदेश नम्बर ५ विभाजनसहितको संविधान संशोधन विधेयकको विरोधमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुले रुपन्देहीमा छुट्टा-छुट्टै आन्दोलन गर्ने घोषणा गरेका छन्। नेकपा एमालेले संसदमा हालै दर्ता भएका संसोधन विधेयक फिर्ता गर्ने माग अघि सारेको छ। सत्तारुढ माओवादी-कांग्रेसका नेताहरुको असहमति 'प्रदेश नम्बर ५ टुक्र्याउने' विषयमा मात्रै छ।

एमालेलाई राष्ट्रिय जनमोर्चा, जनमोर्चा नेपाल, अखण्ड नेपाल पार्टी, नेकपा संयुक्त, नेकपा माक्र्सवादी लगायतका दलले साथ दिएका छन्। उनीहरुले संविधान संसोधन प्रस्ताव फिर्ता गर्ने मागसहित आइतबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएका छन्।

आन्दोलनको स्वरुप फरक-फरक

'हामीले संसोधन प्रस्ताव फिर्ता गर्नका लागि आन्दोलन थालेका हौं, आन्दोलन तुहाउने षड्यन्त्र हुनसक्ने देखिएको छ,' एमाले शिवराज सुवेदीले भने,'आन्दोलन झन् कडा भएर जान्छ।' उनले आइतबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरिएको जानकारी दिए। हरेक दिन बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बजार बन्द हुने उनले बताए।

नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बन्दको कुनै कार्यक्रम नभएको बताए।'बन्द दिनप्रतिदिन अराजक बन्दै गएको र अराजनीतिक गतिविधि बढ्दै गएकोले हामीले बन्दको कार्यक्रम नगरी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेका छौं,'  उनले भने,'एमालेले संविधान संसोधन विधेयक नै फिर्ता हुनुपर्छ भन्ने माग अघि सारेकाले हामी सबै मागमा सहमत हुन सकेनौं, हामी प्रदेश नम्बर पाँच टुक्राउन हुन्न भन्ने पक्षमा छौं, यसका लागि हामीले हाम्रो हिसाबले शान्तिपूर्ण आन्दोलन गर्छौं।'

अखण्ड प्रदेश नम्बर पाँच दबाब अभियानको बन्द फिर्ता

बन्द अराजक बन्दै गएको भन्दै अखण्ड प्रदेश नम्बर पाँच दबाब अभियानले बन्दको कार्यक्रम फिर्ता लिएको छ । अभियानका संयोजक विष्णु पोखरेलले विज्ञप्ति निकालेर शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी राख्ने बताए। उनले बन्दका कार्यक्रम फिर्ता भइसकेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.