|

हेटौंडा : भरत शाहको उत्कृष्ट ह्याट्रिक प्रेरित नेपाल पुलिस क्लब दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा फ्रेण्डस क्लब काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। फाइनल प्रवेशका लागि अब पुलिसले आयोजकको मकवानपुर–११ सँग प्रतिस्पर्धा गर्ने छ। पुलिसको जीतमा स्ट्राइकर भरत शाह नायक सावित भए। उनले प्रतियोगिताको पहिलो ह्याट्रिक समेत गरे। उनले खेलको १२ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। उनले वान भर्सेस वानको अवस्थामा सहज रुपमा बललाई जाली चुमाएका थिए। खेलको ४२ औं मिनेटमा दोस्रो गोल गरेका भरतले ४३ औं मिनेटमा ह्याट्रिक पूरा गरे। उनले डिबक्स बाहिरबाट प्रहार गरेको सशक्त बललाई फ्रेण्डसका गोलरक्षक देव लिम्बूले बचाउन सकेनन्।

खेलको म्यान अफ दी म्याच पुलिसका ह्याट्रिक गर्ने खेलाडी भरत घोषित भए। उनले नगद दशहजार रुपियाँ प्राप्त गरेका थिए। उनी प्रतियोगिता सर्वाधिक गोलकर्ता समेत भएका छन्। खेलमा एकपक्षी अर्को गर्दै  फ्रेण्डसका गोलरक्षकले गल्तीहरू गरिरहेका थिए। जसको प्रत्यक्ष फाइदा पुलिसले लिन सफल भयो। पहिलो हाफ्मा पुलिसले फ्रेण्डसमाथि पूर्ण दबाब बनाए पनि दोस्रो हाफ्मा भने सकेन। दोस्रो हाफमा फ्रेण्डसले सुधारको खेल प्रस्तुत गरेको थियो।

फ्रेण्डसका लागि विदेशी खेलाडी फोफना र स्यान्कोले दोस्रो हाफ्मा राम्रो मौका पाएपनि गोल गर्न सकेनन्। दोस्रो हाफमा पुलिसका गोलरक्षक शत्रुधन चौधरी निकै व्यस्त भएका थिए। उनले फ्रेण्डसका उत्कृष्ट प्रहारहरू बचावट गरेको थिए। खेलपश्चात् प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफू खेलाडीको प्रदर्शनबाट खुशी रहेको बताए। प्रशिक्षक थापाले समयमा स्कोर निस्किएसँगै आफूहरू टोलीको गल्ती सुधार्न लागेको र जसले गर्दा खेलमा केही समस्या जस्तो देखिएको दावी गरे। उनले यस खेललाई ‘प्राक्टिस म्याच’ को संज्ञा समेत दिए।

फ्रेण्डसका प्रशिक्षक चेतनाथ श्रेष्ठले ए डिभिजन लिगपश्चात् मोफासल बाहिर जारी प्रतियोगितामा पहिलो पटक सहभागी भएका कारण टिम सेट नहुँदा समस्या भएको बताए। उनले डिफेन्समा समस्या भएको र खेलाडी घाइते हुँदा थप समस्या थपिँदा अप्रत्याशित हार भोग्नु परेको बताए। उनले दोस्रो हाफमा खेलाडीले राम्रो प्रदर्शन गरेपनि पहिलो हाफ्मै गोल खाँदा मार परेको बताए।

प्रतियोगिताअन्तर्गत मंगलबार थ्री स्टार क्लब र सरस्वती क्लबबीच खेल हुनेछ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद आठलाख रुपैयाँ र उपविजेताले नगद चारलाख रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ। यसअघि क्यामरुनी टोली दाफिन्सले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।

प्रतियोगिताको फाइनल चैत १६ गते हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.