|
फाइल फाेटाे

काठमाडौं : बहुचर्चित तथा विवादास्पद युनिभर्सल पिस फाउण्डेसन (युपिएफ) ले गत मंसिर १४ देखि १६ गतेसम्म काठमाडौं आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा नेपाल सरकारले ठूलो रकम खर्च गरेको देखिएको छ। सम्मेलनको क्रममा गरिएको रात्रिभोजमासमेत नेपाल सरकारको तर्फबाट ३० लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरिएको छ।

विशिष्ट अतिथिको सम्मानमा गरिएको रात्रिभोजमा नेपाल सरकारको तर्फबाट ३० लाख १० हजार रुपैयाँ निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ। यो रकम रकमान्तर गरी अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत बुझाएको हो।

एसिया प्यासिफिक सम्मेलनमा सरकार पनि आयोजक रहेको विषय उठेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलले विरोध गरेका थिए। त्यसपश्‍चात् सरकारले आयोजक नभएको बताएको थियो। सुरक्षा व्यवस्थाका लागि भन्दै ठूलो रकम खर्च गरेको सरकारले रात्रिभोजमासमेत यति ठूलो रकम रकमान्तर गरी उपलब्ध गराएको पाइएको हो।

पुस महिनामा मात्रै सरकारले एसिया प्यासिफिक सम्मेलनको अतिथि सत्कारको नाममा नेपाली सेनाको मुख्यालय जंगी अड्डालाई ३८ लाख ९१ हजार रुपैयाँ रकमान्तर गरी उपलब्ध गराएको थियो भने भैपरी आउने खर्चको नाममा १० लाख ९३ हजार रुपैयाँ उपलब्ध गराएको थियो।

यो हिसाबले सरकार आयोजक नरहेको भनिए पनि एसिया प्यासिफिक सम्मेलनमा सरकारको तर्फबाट एक करोड रुपैयाँ बराबरको खर्च भएको देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.