|

इन्डियन प्रिमियर लिगको सोमबारको एकमात्र खेलमा किंग्स एलेवन पञ्जाले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

जयपुरको सवाई मान सिंह स्टेडियममा भएको खेलमा पञ्जावले राजस्थानलाई १४ रनले पराजित गरेको हो।

पञ्जावले आइपिएलमा पहिलोपटक राजस्थानलाई उसको घरमा पराजित गरेको हो। यसअघि यो स्टेडियममा राजस्थानबाट पञ्जावले पाँच म्याचमा हार बेहोरेको थियो।

पञ्जावले पहिले ब्याटिङ गर्दै पूरै २० ओभरमा चार विकेटको क्षतिमा १८४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १७० रनमात्रै जोड्न सक्यो।

पञ्जावका लागि क्रिश गेलले धमाकेदार ब्याटिङ गरेका थिए। उनले ४७ बलमा ७९ रन प्रहार गरेका थिए। गेलले आइपिएलमा सबैभन्दा कम खेलमा ४००० रन बनाउने खेलाडीको रेकर्ड पनि आजै आफ्नो नाममा लेखाएका छन। यो रेकर्ड यसअघि डेभिड वार्नरको नाममा थियो। गेलले ११२ खेलमा नै ४००० रन पूरा गरेका हुन।

त्यस्तै, पञ्जावका लागि शर्फराज खानले नटआउट ४६ र मयंक अग्रवालले २२ रन बनाएका थिए।

बलिङतर्फ राजस्थानका बेन स्टोकले दुई तथा धवल कुलकर्णी र कृष्णप्पा गोथमले एकएक विकेट लिएका थिए।

पञ्जावले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि जोश बट्लरले ६९ रन बनाएका थिए। उनलाई ननक्रिजमा रहेका बेला अगाडि बढ्दा पञ्जावका कप्तान तथा बलर रवीचन्द्रन आश्वीनले स्टम्प गरिदिएका थिए। आश्वीनको यो आउट गराइलाई आलोचना गरिएको छ। उनले पहिले बट्लरलाई चेतावनी नदिइकनै आउट गरेको र थर्ड अम्पायरले पनि अम्पायरसँग सल्लाह नगरी आउट देखाएको भन्दै आलोचना भएको हो। उक्त आउटबारे राजस्थानका कप्तान अजन्क्या रहानेले भने बोल्न अस्वीकार गरेका छन। विवादीत विषय भन्दै उक्त आउटबारे उनी बोल्न नमानेका हुन।

राजस्थानका लागि सन्जु सामसोनले ३० र कप्तान रहानेले २७ रन प्रहार गरेका थिए।

बलिङतर्फ पञ्जावका साम कुर्रन, अंकित राजपूत र मुजीव उर रहमानले समान दुईदुई विकेट लिएक थिए।

मंगलबारको खेलमा दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किंग्सबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.