मलाई एमालेमाथि शंका छ, मैले प्रश्न गर्न किन नपाउने?

|

काठमाडौं : सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलन सुरु गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आक्रामक देखिएका छन्। शनिबार नेपाल टेलिभिजनको कार्यक्रम 'सिधा कुरा प्रधानमन्त्रीसँग’ मा प्रधानमन्त्री प्रचण्डले एमालेले लुम्बिनीका जनताको सेन्टिमेन्ट लिन विगतमा आफूले नै गरेको प्रस्तावको विरोधमा आन्दोलन गरेको आरोप लगाए।

प्रधानमन्त्रीले एमालेले गरेको अहिलेको आन्दोलनलाई वितण्डाको संज्ञा दिँदै यो धेरै दिन नटिक्ने दावी गरे। ‘यो वितण्डाको खेल कहिलेसम्म खेल्ने हो नेपाली जनताले हेरि नै रहेका छन्’, उनले भने। अहिले पश्चिममा मधेस प्रदेश बनाएको विरोधमा आन्दोलन गरेको एमालेलाई प्रधानमन्त्री प्रचण्डले विगतमा पूर्वमा मधेस प्रदेश बनाएकोमा क्षमा माग्न चुनौती दिए।

संविधान निर्माणका क्रममा आफूले हालको मधेस प्रदेशमा सिन्धुली र मकवानपुर जिल्ला राख्न प्रस्ताव गर्दा एमालेले विरोध गरेको दावी गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले पश्चिम मधेसमा अर्को प्रदेश बनाउन खोज्दा विरोध गर्नुको अर्थ नहुने उनले बताए। ‘जो आन्दोलनमा हुनुहुन्छ। उहाँहरुले २ नम्बर प्रदेश बनाउँदा राष्ट्रघाती काम गरेकोमा क्षमा माग्नुपर्‍यो। अहिलेको प्रतिपक्षले २ नम्बर प्रदेशमा पहाडी जिल्ला राख्न आन्दोलन गर्न सक्नुहुन्छ?’ उनले प्रश्न गरे, 'आन्दोलन गर्नुअघि विगतमा ५ नम्बर प्रदेशको पहाडको जिल्ला पहाडमा नै हुनुपर्छ भनेर प्रस्ताव गरेकोमा उहाँहरुले क्षमा माग्नुपर्छ।'

संविधान निर्माणकै क्रममा नेकपा एमाले र नेपाली कांग्रेसले पश्चिम तराईको छुट्टै प्रदेश हुने गरी सीमांकनको प्रस्ताव ल्याएका थिए।  पढ्नुस् : २०७१ मा ओलीले हस्ताक्षर गरेको प्रस्ताव २०७३ मा एमालेकै लागि कसरी भयो राष्ट्रघाती?

'त्यतिबेला म नै पछि हटेको हुँ'

अहिले गरिएको सीमांकन परिमार्जनको प्रस्ताव आफूले नयाँ आविष्कार नगरेको प्रचण्डले बताए। ‘मैले नयाँ आविष्कार गरेर ल्याएको होइन। अहिलेको प्रतिपक्षी र कांग्रेसले गरेको प्रस्ताव हो। मधेसी मोर्चाले यति भए हुन्छ भनेको अवस्थामा देशलाई एकतावद्ध राख्न र निर्वाचन गर्न मैले यो प्रस्ताव ल्याएको हो’, उनले भने।  

प्रधानमन्त्रीले आफूलाई राष्ट्रघाती भन्नुअघि विगतलाई सम्झिन एमालेलाई आग्रह गरे। ‘हिजो आफैले प्रस्ताव गरेको राष्ट्रघात हुँदैन, अहिले अरुले ल्याउँदा राष्ट्रघात हुने यो बुझिनसक्नु छ।’

विगतमा एमाले र कांग्रेसले पश्चिममा तराईको छुट्टै प्रदेश हुने गरी ल्याएको सीमाकंनको प्रस्ताव आफूले स्वीकार गरेपनि एमाले अध्यक्ष ओलीले फेरि नयाँ नक्सा ल्याएर विथोलेको प्रधानमन्त्री प्रचण्डले आरोप लगाए। ‘संविधान मस्यौदा हुने क्रममा थियो, त्यतिबेला अहिलेका प्रतिपक्षी दलका नेता, कांग्रेसको नेता र मैले मिलेर यही गर्ने भनेर उठेर हात मिलाइएको थियो’, उनले भने ‘२ दिनपछि अहिलेका प्रतिपक्षी दलका नेताले मैले नसक्ने भएँ भनेर अर्को नक्सा लिएर आउनुभयो। हामी अनकनायौं। मलाई चिन्ता थियो। संविधान नै नबन्ने भयो भनेर म नै पछि हटेको हो।’

डोनाल्ड ट्रम्पको बाटो

प्रतिपक्षी नेकपा एमाले संघीयताप्रति गम्भीर नभएर अहिले आन्दोलन चर्काएको प्रधानमन्त्री प्रचण्डले दावी गरे। ‘प्रमुख शक्तिहरुले संघीयता आत्मसात गरेको देखिएन’, उनले भने, ‘उहाँहरुमा गम्भीरतापूर्वक यसको अन्तरवस्तु र मर्मलाई चिन्तन मनन गर्ने संस्कार छैन। पुरानै सामन्तवादी संस्कार छ।’

एमाले अमेरिकामा डोनाल्ड ट्रम्पले जितेकोमा उत्साहित भएको भन्दै त्यही बाटो पछ्याउन लागेको आरोप लगाए। ‘अमेरिकामा ट्रम्पले जितेकाले हाम्रा प्रतिपक्षी पनि ट्रम्पकै बाटो हिँड्न खोजेका छन्। उहाँहरु राजा महाराजाको बाटोमा हिड्न खोजेको त होइन? भन्ने देखिएको छ’, उनले भने ‘तपाईँ एक्स्ट्रिममा गएर यो समस्या समाधान हुन्छ भन्ने ठान्नुहुन्छ भने मनोगत मात्र हुन्छ।’

भोट बढ्छ भन्ने सोचेको भए भ्रम

एमालेले सदन अवरुद्ध गरेपछि भोट बढ्छ भन्ने सोचेको भन्दै प्रधानमन्त्री प्रचण्डले यसले एमालेलाई धेरै दिन फाइदा नगर्ने दावी गरे। ‘भोट बढ्छ भन्ने सोच्नुभएको छ भने त्यो भ्रम हो। त्यसले उहाँहरुलाई धेरै पर लाँदैन’, उनले भने, ‘राष्ट्रवादको नारा दिएर लुम्बिनी अञ्चलका जनतालाई कन्फ्युज त गर्न सक्नुहुन्छ तर राष्ट्रको समस्या समाधान गर्न सकिँदैन।’

अहिलेको प्रदेश सीमांकनबाट नागरिकलाई केही असुविधा भएपनि नेताहरुले त्यसैमाथि खेल्न नहुने प्रधानमन्त्री प्रचण्डले बताए। ‘जनतालाई असहज भएको छ, जनताको कदमलाई म सम्मान गर्छु जनताप्रति मेरो गुनासो छैन। तर जो नेताले राष्ट्रिय चुनौतीको समाना गर्न लाग्नुपर्ने हो उहाँहरु नै जनताको सेन्टिमेन्ट (भावना) मा पोलिटिक्स (राजनीति) घुसाउनुभएको छ। त्यो चाहिँ फेयर (सही) छैन।’

‘मलाई एमालेमाथि शंका छ। मैले उहाँहरुलाई प्रश्न गर्न किन नपाउने?’, प्रधानमन्त्रीले भने, ‘उहाँहरुले जे गरिरहनुभएको छ, त्यो उहाँहरुमाथि नै बज्रिन्छ। एमालेले अस्वीकार गर्न मिल्दैन’, उनले भने, ‘दुई नम्बर प्रदेशमा राष्ट्रघात गरेको हौँ भनेर आउनुस् अनि म तयार हुन्छु।‘

मधेसी मोर्चा सहमतिमा आउँछ

मधेसी मोर्चाले विगतमा कांग्रेस र एमालेले गरेको जस्तै पश्चिममा मधेसमा छुट्टै प्रदेशको प्रस्तावमा सहमतिमा आउने देखेर त्यसै अनुसार संविधान संशोधन प्रस्ताव तयार पारेको प्रधानमन्त्री प्रचण्डले दावी गरे।

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव मधेसी मोर्चाले स्वीकार गर्ने प्रधानमन्त्रीले बताए। ‘म अहिले पनि मधेसी मोर्चासँग निरन्तर कुराकानीमा छु। मधेसी मोर्चा केही परिमारेजन होस् भन्नेमा छ। त्यसलाई संशोधन गर्न सकिने देखेको छु’, उनले भने, ‘प्रतिपक्षी दलका नेतासँग पनि कुरा भएको छ। मलाई के विश्वास छ भने मधेसी मोर्चा र प्रतिपक्षी पनि सहमतिमा आउनुपर्छ।‘

मधेसी मोर्चाले यति भए केही न केही उपलब्धी हुन्छ भनेकै कारण संशोधन प्रस्ताव दर्ता गरेको प्रधानमन्त्रीले बताए। ‘हिजो सबैले स्वीकार गरेको प्रस्ताव हो। मधेसी मोर्चाले केही न केही उपलब्धी हो भनेपछि दर्ता गरेको हो।’

प्रस्ताव पारित नभएपनि चुनाव हुन्छ

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव पारित नभएपनि चुनाव हुने दावी गरे। लोकतन्त्रमा विरोध गर्ने अधिकार हुने भन्दै उनले समर्थन र विरोध गर्नु दलहरुको अधिकार भएको बताए। ‘मेरो कोशिस पारित गराउनेमा हुनेछ, भएन भने पनि टेन्सन (तनाव) छैन देश चुनावतिर जान्छ’, उनले भने, ‘संशोधन प्रस्ताव दर्ता नगरी चुनावमा जान सक्ने अवस्था थिएन।’

तर एमालेले अवरुद्ध गरेकाले निर्वाचन सम्बन्धी कानुन संसदमा पेश गर्न नसकेको प्रधानमन्त्रीले बताए। अहिले एमालेले संसद अवरोध गर्दा निर्वाचन सम्बन्धी विधेयक रोकिएको भन्दै उनले एमालेको ध्यान संविधान कार्यान्वयनतिर नभएको आरोप लगाए। ‘सडकमा जति विरोध गर्नुस् अहिले सदन अवरुद्ध नगर्दिनुस् भन्ने हो। अहिले निर्वाचन विधेयक रोकिएको छ। प्रधानमन्त्री पाउन मात्र सहमति गरेको रहेछ प्रतिपक्षले। कार्यान्वयनतिर त होइन रहेछ। हिजोका राजा, महाराजातिर कै बाटोमा जान खोज्नुभएको रहेछ।’

महाभियोगमा डबल स्टान्डर्ड

अहिले संसदको कार्यसूचिमा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावमात्र रहेको भन्दै प्रधानमन्त्रीले एमालेले यही बेलामा संसद अवरुद्ध गर्नु दोहोरो चरित्र भएको बताए। ‘महाभियोग बाहेक केही थिएन। विजनेस त्यही मात्र छ। एमालेले त्यही मात्र भएका बेला अवरुद्ध गर्‍यो। डबल स्ट्यान्डर्ड (दोहोरो चरित्र)।’

कार्यक्रमको अन्तिममा प्रधानमन्त्रीले एमालेलाई तीनवटा प्रश्न गरे।  

  • महाभियोग लाउन लाग्दा किन अवरुद्ध गरेको?
  • हिजो आफैले ल्याएको प्रस्ताव ल्याउँदा किन संसद अवरुद्ध गरेको?
  • निर्वाचन कानुन पारित गर्ने बेलामा किन संसद अवरुद्ध गरेको?

अन्त्यमा प्रधानमन्त्रीले निश्कर्ष सुनाए- ‘उहाँहरुले कति दिन आन्दोलन गर्नुहोला र? सहमतिको विकल्प उहाँहरुसँग पनि छैन। संशोधन प्रस्ताव दुई तिहाई बहुमतबाटै टुंगिन्छ।’

कार्यक्रमको भिडियो

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • प्रचण्ड तिमीले लेण्डुप दोर्जेको बाटो रोज्यौ ओलीले डोनाल्ड ट्रम्पको!! म तिमीलाई छनौट गर्नै सक्दिन चाहे मेरो प्राण आहुती किन दिनु नपरोस् तिम्रो बाटो भन्दा ओलीको बाटो लाखौ करोडौ नेपालीलाई स्विकार्य छ! बुझी राख- तिमीलाई एक दिन तिम्रै राष्ट्रबादी कार्यकर्ताले सिद्दाईदिनेछ!!