|
Photo : youtube.com

इङग्लिस प्रिमियर लिगको शनिबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटिलाई पराजित गर्दै अंकतालिकामा आफ्नो पहिलो स्थानलाई कायमै राखेको छ। म्यानचेस्टर सिटिको घरेलु मैदान इथिहाड स्टेडियममा भएको खेलमा चेल्सीले सिटिलाई ३-१ गोलअन्तरले पराजित गरेको हो। 

खेलमा भने सिटिले अग्रता लिएको थियो। खेलको ४५ औँ मिनेटमा चेल्सीका ग्यारी हिलले आत्मघाती गोल गरेपछि सिटिले १-० गोलअन्तरले अग्रता लिएको थियो। तर, दोस्रो हाफमा भने चेल्सीले उक्त अग्रतालाई उल्टाउँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो। खेलको ६० औँ मिनेटमा डियगो कोस्टाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यसपछि खेलको ७० औँ मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाउन सफल भए। खेलको अन्तिम समयमा खेल तनावपूर्ण बनेको थियो। खेलको अतिरिक्त समयमा सर्जियो रामोसले फल गर्दा उनलाई रातो कार्ड देखाइयो भने त्यसको १ मिनेटपछि नै फर्डिनान्डोले पनि रातो कार्ड पाएर बाहिरिए। ९ खेलाडीमा सिमित सिटिमाथि चेल्सीले पुन: १ गोल थप्यो। उसका लागि इडन हेजार्डले गोल गर्दै टोलीलाई ३-१ गोलअन्तरको जित दिलाउन सफल रहे। चेल्सीको उक्त जितपछि चेल्सीले पछिल्ला ८ खेलमा लगातार जित हासिल गर्न सफल भएको छ। 

खेलमा भएको तनावपूर्ण अवस्थाप्रति सिटिका कोच पेप ग्वार्डिओलाले आफ्नो टोलीबाट हुन गएको तनावपूर्ण अवस्थाप्रति माफी मागेका थिए।

यस्तै, शनिबार राति नै सम्पन्न अर्को खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई ५-१ गोलअन्तरले पराजित गर्‍यो। आर्सनलका लागि अलेक्सिस सान्चेजले ह्याट्रिक पूरा गरे। खेलको २४ औँ मिनेटमा मेसुट ओजिलको गोलबाट अग्रता लिएको आर्सनलले सान्चेजको ७२ औँ र ८० औँ मिनेटमा गोलपछि ३-० गोलअन्तरको अग्रता लिन सफल भएको थियो। तर, खेलको ८३ औँ मिनेटमा वेस्ट ह्यामका एन्डि कारोलले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए। तर, उक्त गोलको १ मिनेटपछि नै एलेक्स अक्सलेड चाम्बरलेनले गोल गर्दै खेललाई ४-१ को स्थितिमा पुर्‍याए। यसपछि खेलको ८६ औँ मिनेटमा सान्चेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि आर्सनलले खेल ५-१ गोलअन्तरले जित्न सफल भयो। 

यस्तै, शनिबार राति नै सम्पन्न खेलहरूमा क्रिस्टल प्यालेसले साउथम्पनलाई ३-० गोलअन्तरले, स्टोक सिटिले बर्न्लीलाई २-० गोलअन्तरले, सन्डरल्यान्डले लेस्टर सिटिलाई २-१ गोलअन्तरले, टोटेनह्याम हट्स्पुरले स्वान्सी सिटिलाई ५-० गोलअन्तरले वेस्ट ब्रोमह्विच एल्वियोनले वाटफोर्डलाई ३-१ गोलअन्तरले पराजित गरेका छन्। 

खेलपछि चेल्सीको १४ खेलबाट ३४ अंक भएको छ भने शीर्ष स्थानमा कायमै रहेको छ। दोस्रो स्थानमा रहेको आर्सनलभन्दा चेल्सी ४ अंकले अगाडि छ। आर्सनलको १४ खेलबाट ३१ अंक रहेको छ। यस्तै, एक खेल कम खेलेको लिभरपुलको ३० अंक रहेको छ भने म्यानचेस्टर सिटिको १४ खेलबाट ३० अंक र टोटेनह्यामको १४ खेलबाट २७ अंक रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.