|

रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका ७ साँखमा माघ १६ गते लागेको स्थानीय पापीनी मेलामा सवारी साधन दुरुपयोग गर्ने सरकारी कार्यालयहरूले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई स्पष्टीकरण पत्र पठाएका छन्।

मेलामा आधा दर्जन बढी सरकारी कार्यालयहरूले सरकारी गाडी तथा मोटरसाइकल दुरुपयोग गरेको सामाजिक सञ्जालमार्फत बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले त्यसबारे कार्यालयलाई जवाफ माग गरेको थियो। 

कुन कुन कार्यालयको सवारी साधान दुरुपयोग

प्रशासनको अनुसन्धानपछि मेलामा विभिन्न कार्यालयका ७ वटा सवारी साधन दुरुपयोग भएको पाइएको छ। जसमा मुसिकोट नगरपालिकाको एउटा गाडी र २ वटा मोटरसाइकल, सरकारी वकिल कार्यालयको १ वटा गाडी र शिक्षा विकास शाखाको १ वटा गाडी मेलामा गएको थियो। त्यस्तै हुलाक कार्यालयको एउटा मोटरसाइकल र घरेलु कार्यालयको एउटा मोटरसाइकल प्रयोग भएको थियो।

प्रशासनको स्पष्टीकरणपछि सबै कार्यालयहरूले उक्त विषयमा जवाफ पठाएका थिए। जसमा मुसिकोट नगरपालिकादेखि सबै कार्यालयहरूले मेलामा गाडी तथा मोटरसाइकल विभिन्न बहानामा प्रयोग भएको स्वीकार गरेका छन्। तर शिक्षा विकास शाखाको भने उक्त गाडी जिल्ला प्रहरी कार्यालय रुकुममार्फत प्रयोग भएको हो। 

राष्ट्रिय सर्तकता केन्द्रको समेत पत्र

मेलामा सरकारी कार्यालयको सवारी साधान दुरुपयोग भएको खबर बाहिरिएपछि राष्ट्रिय सतर्कता केन्द्रबाट पनि यस विषयमा चासो दिएर त्यस विषयमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्र समेत काटेको थियो। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गाडी दुरुपयोगको विषयमा सबै कार्यालयहरूले स्वीकारसहितको पत्र लेखी आगामी दिनहरूमा गल्ती नदोहर्‍याउने जवाफ दिएपछि प्रशासनले पनि एक पटकलाई माफी दिएको बताए। ‘गाडी दुरुपयोगको विषयमा एक पटकलाई माफी दिइएको छ। आगामी दिनमा पनि यस्तो गतिविधि भएमा कारबाही हुन्छ’ प्रजिअ रेग्मीले भने, ‘सतर्कता केन्द्रलाई पनि यही व्याेहोराको जवाफ पत्र पठाएका छौं।’

आगामी दिनहरूमा पनि कहिकतै सरकारी गाडी दुरुपायेग भएको जानकारी भएमा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि प्रजिअ रेग्मीले सबैलाई अनुरोध गरेका छन्। सरकारी सवारी साधन व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन भने सार्बजनिक बिदाको दिन प्रयोग गर्नुपर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.