प्रकृतिसँग नजिक हुने बहाना पाउँदा म कहिल्यै नाइँ भन्दिनँ। घुमघाममा निकै सोख पनि छ। त्यस्तै सोच राख्छ भनेर सायद भगवानले पनि कुनैबेला सृष्टिको अनुपम उदाहरण मानिएको काठमाडौं उपत्यकामा जन्माएर पठाएका होलान्। तर, उनलाई के थाहा उनको सृष्टिको विशिष्ट कल्पना वाक्क–दिक्कलाग्दो सहर बन्नेछ भन्ने।
मेरो ससुरालीको पहिलाको स्थायी र अहिलेको अस्थायी घर लमजुङ हो। धेरै नेपाली झैँ त्यो परिवारको बसाइको विवरण परिवर्तन हुँदै गइरहेको छ। अमृत झैँ विषादीमुक्त अक्सिजनको भण्डार छाडेर मृत झैँ बनेको काठमाडौंको प्रदूषणमा खुम्चिन उनीहरू पनि बाध्य छन्। लाखौँ नेपाली झैँ। शायद गाँस–बासको उचित प्रबन्ध मिलाउन राजधानी छिरेकाहरू त्यही जोहोमा यहीँ अल्झिन पुगेका छन्। विशाल माकुरोको जालो बनेको छ, यो शहर। नजिक आउनेलाई उम्किनै नदिने। अनि यो सहर अजिङ्गर झैँ मुख खोलेर बसेको छ, हरेक साँझको चुस्कासँगै हजारौँको सपनालाई सितन बनाएर निल्ने।
म कहिलेकाहीँ जान्छु। लमजुङको बेसीशहर पुग्नुभन्दा झन्डै सात किलोमिटर अगाडि मध्यमर्स्याङ्दी जलविद्युत् योजनाको बाँध छ। त्यही बाँधका कारण सयौँ घर परिवारलाई विस्थापित पार्दै विशाल जलाशय बनाइको छ। हो, त्यसैको किनारामा मेरो ससुरालीले रहरमा खोलेको एउटा रिसोर्ट पनि छ। ‘म्यांगो ट्रि इको रिसोर्ट’। काठमाडौंको अक्सिजनमा मिसिएर बहने विषादीको सट्टा त्यो किनारामा निकै स्वच्छ अक्सिजन पाइन्छ। हुन त, काठमाडौंको माटोमा कुन चुम्बकीय शक्ति छ, जसले सबैलाई आकर्षित गर्छ, मैले आजसम्म बुझ्न सकेको छैन। तर, जब त्यहाँ पुग्छु, सूर्यले सिरक ओढेपछि मर्स्याङ्दीको जलाशयमा परिवर्तन हुने कृत्रिम बत्ती र जुनको प्रकाशबाट कोरिने क्यानभासले मन नै उद्देलित बनाउँछ। बेलुका सुनिने चिचिमिराका स्वरहरूसमेत मिठा लाग्न थाल्छन्। लमजुङ र मनास्लु हिमालमा ठोकिएर आउने हावाले ल्याउने शितलताले सारा संसार बिर्सन बाध्य तुल्याउँछ। अनि लाग्छ, त्यस्ता स्वर्ग झैँ ठाउँ छाडेर काठमाडौं जस्तो मृत सहरमा हराउन किन बाध्य हुन्छन् मानिसहरू?
अवसरका कुरा गर्ने हो भने यता काठमाडौंका नाका–नाकामा ‘हाउसफुल’ को ब्यानर टाग्नुपर्ने बेला आइसक्यो। सफा र स्वच्छ काठमाडौं सहरमा बस्छु भन्ने हो भने पनि अबको दशौँ वर्ष त्यस्ता नकचरो कल्पना नगरे पनि हुने भइसक्यो। अन्न उब्जाउने भूमिहरूमा घर रोपिएका छन्। पहाड–मधेसमा आफूसँग भएका आँखाले ठम्याउनसमेत नभ्याउने जग्गा जमिन बेचेर यो उपत्यकाको कुनै फेदमा केही आना घरजग्गामा खुम्चिएका छौँ। काठमाडौंमा एकाध वर्षको बसाइपछि यसको नकचरोपनले दिएका पीडाहरू सहन नसकेर आफ्नो ठाउँ–थलो र अतीत सम्झँदा निधारमा कोरिने असन्तुष्टिका बक्ररेखाहरूलाई नाटकीय मुस्कानले ढाक्न बाध्य पनि छौँ हामी।
मेरो ससुराली लमजुङतिर मात्र होइन, मेरा बाजे–बराजुले पसिना चुहाएको नुवाकोटको अवस्था पनि त्यस्तै रहेछ। केही दिनअघि पुगेको थिएँ। काठमाडौंबाट एक–डेढ घण्टाको दुरीमा पुगिने त्यो ठाउँमा समेत खेती गर्ने जमिन त छ। तर हल चलाउने हातहरू छैनन्। तर, त्यही हातहरू यो मरेको सहरमा कहिल्यै मुठ्ठीमा नभरिने सपनाहरू सजाउने असफल कोसिसमा व्यस्त छन्। घरतिरको बाँझो खेत देख्दा उनीहरूको पनि आँसु छछ्ल्किदोँ हो। तर, हरेकको विवशता आफ्नै छ। ‘खेती त गर्न जाने, खै खेताला नै पाइँदैनन्,’ यस्तै गुनासा धेरैको छ। हुन पनि हो, युवा कि काठमाडौं कि खाडी भासिने बढ्दो क्रमसँगै यस्ता गुनासाका भकारीहरू पनि भरिँदा रहेछन्। आफू भने मलाई खेती आउँदैन भनेर पन्छिनबाहेक केही गर्न सकिँदैन रहेछ। आखिर म पनि यही शहररूपी माकुरोले बुनेका जालोमा उनिएका लाखौँमध्ये एक त हुँ।
काठमाडौंले पुरा गर्न नसक्ने हजारौँ सपना बोकेर कतिले खाडी मुलुकको यात्रा गरिरहेका छन्। त्यहाँको मरुभूमिका तातो बालुवाका शरीर डढाइरहेका छन्। अनि कति त सपनाको संसारमा डुल्दाडुल्दै बाकसमा बन्द भएर देश फर्कन बाध्य छन्। अनि कति त अधुरा सपनामा पश्चात्ताप घोलिएको आँसु बोकेर फर्कन बाध्य भएका छन्। तीमध्ये अधिकांशको धारणा एउटै हुँदो रहेछ विदेश जाँदा लागेको ऋण अब स्वदेशमै केही गरेर तिर्ने। त्यस्ता विचार बोकेर फर्किनेहरूले आफ्नै गाउँघरमा श्रम गर्न थालेको पनि कतैकतै देखिन थालेको छ। यो वास्तवमा सकारात्मक पक्ष हो। कुनै दिन त्यही बस्तीमा पुगेर धानका बाला सुम्सुमाउने रहर पनि जाग्न थालेको छ। सक्ने हो भने, म पनि एउटा बाला रोप्थेँ नि भन्ने चाहना पलाउन थालेको छ। सपना न हो, के थाहा पुरा पनि हुन सक्छ पनि!
काठमाडौं उपत्यकालाई पुरानो युगमा ब्युँताउन कहिल्यै सकिँदैन, यो सत्य हो। बगेको खोला कहाँ फर्कन्छ र? हो पुराना दिनहरू सम्झिँदा मनलाई चस्काउन भने सकिन्छ। मन बिझाउन भने सक्छ। कति नै वर्ष बित्यो र? हामी हाम्रै घरनजिकै लहलाउने धानका बालाहरूमा हात घिसार्दै आली–आली दौडिन्थ्यौँ, खेल्थ्यौँ। दसैँताका आकाशमा चेट भएका चङ्गाहरू लुट्न तँछाड–मछाड गर्थ्यौँ। होली आउँदा महिनौँदेखि घरको कापमा लुकेर लोला हान्थ्यौँ। त्यो बेला लोला हान्नु नराम्रो हो भन्ने पनि लागेन। होली खेल्थ्यौँ, उन्मुक्त भएर। शिवरात्रिताका पशुपतिमा खोलिने स–साना पसलहरू घुम्न गइन्थ्यो। मेरा केही साथीहरू त्यस्ता पसलबाट एकाध समान चोर्न पनि भ्याइहाल्थे। अनि गर्वका साथ देखाउँथे। मलाई भने चोर्ने आँट आउँदैन थियो, आफ्नो कमजोरीलाई धिक्कार्थें। त्यहाँ चोर्न सक्नुलाई बहादुरीका रूपमा हेरिन्थ्यो। हासिन्थ्यो, खेलिन्थ्यो। सारा ठाउँ आफ्नै जस्तो लाग्थ्यो। कोही परचक्री झैँ लाग्दैन थिए। सानो थियो काठमाडौं। अहिले त झन् खुम्चिएको छ। तर पनि, कोही आफ्ना झैँ लाग्दैनन्, सबै परचक्री झैँ लाग्छन्।
प्रकृतिले निकै उदार वरदान दिएकी थिइन्, यो काठमाडौं उपत्यकालाई। लामो समय आकाश खुलेको बिहानीमा आँखा खोल्न पाइन्थ्यो। हरिया डाँडा र त्यसका पछाडि देखिने हिमालले मनमा रोमानञ्चकता छर्थ्यो। अहिले प्रदूषणका कारण त्यति खुल्दैन काठमाडौंको आकाश। घरहरू बाक्लिएसँगै त्यति झुल्दैनन् धानका बालाहरू। हिजो हिँडेका आलीहरूमा आज गाडी गुड्ने सडक बनेका छन्। तर, किन हो किन नौला लाग्दा रहेछन् ती बाटाहरू।
हामी त त्यो पुस्ताका प्रतिनिधि हौँ। जसले बागमतीमै पौडी खेलेको थियो। माछा मारेको थियो। रानीपोखरी र कमलपोखरीलाई स्वच्छ देखेको थियो। हो हामीले जवानीको उकाली चढ्दा मल्टिफ्लेक्समा सिनेमाको आनन्द लिन पाएनौँ। तर, पनि जय नेपाल हलमा नेपाली फिल्मका रूपमा पहिलो पटक ‘सिन्दूर’ हेरेको हल्का याद अझै छ। त्योभन्दा अगाडि प्रज्ञा भवनमा पुगेर एकाध नाटक पनि हेरिएकै थियो। जय नेपालमा पहिलो पटक ‘सिन्दूर’ हेर्दा अचम्ममा परेको थिएँ। अबुझ उमेर न थियो। त्यति सानो ठाउँ (चलचित्रको पर्दा)मा पनि कसरी गाडी कुदाएका होलान्, हिमाल अटाएका होलान् झैँ लाग्थ्यो। जसरी बाबा विदेश जाँदा हवाइजहाजमा उडेपछि त्यसले आकार बदल्दै जाँदा ममीलाई सोध्थेँ, ‘प्लेन त सानो भयो, अब बाबा कसरी अटाउनु हुन्छ त?’ ममी सम्झाउने प्रयास गर्थिन्, तर मैले मरिगए बुझेँ पो।
मैले थाहा पाउँदा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन अहिलेको आन्तरिक टर्मिनल रहेको स्थानमा थियो। सिनामंगल चोकबाट भित्र पस्ने बाटो थियो। साह्रै सानो थियो, त्यो टर्मिनल भवन। विदेशका विमानस्थल हेर्दा अहिलेको भवन पनि कहाँ नै ठुलो छ र! विमानस्थल बाहिरबाटै हवाइजहाज उडेका र अवतरण भएका देखिन्थे। हुनत हाम्रो चाबहिलको घरको छतमा बसेर हेर्दा पनि विमान उडेको र अवतरण भएको देखिन्थ्यो, कोटेश्वरसम्मै। अहिले त गुहेश्वरीतिरको छेउमा विमानका पुच्छरसम्म देख्न पाइन्छ। पहिला हरिया बाला झुल्ने ठाउँमा महलहरू उम्रिएकाले पनि होलान्। बाल्यावस्थाको प्रभावले नै होला। मलाई जीवनमा हवाइजहाजको पाइलट बन्छु र आकाशमा उड्छु भन्ने लाग्थ्यो। बाबा–ममीलाई कान्छो छोरा अकालमा मर्छ कि भन्ने भयले नतर्साएको भए सायद मेरो त्यो सपना पनि पूरा नै हुन्थ्यो कि? तर, सपना हुन्, सबै पूरा हुँदैनन्।
हुनत त आँगन नजिकैको पशुपतिनाथलाई रिझाउन पनि सकिएन होला। पशुपतिनाथको दर्शन गर्न पनि त्यति कठिन थिएन। तर, ‘नजिकको देवताको हेला हुन्छ’ भनिए झैँ कमै मात्र गइन्थ्यो, त्यता। रिसाएका पनि हुन सक्लान्। मन लागेको बेला कान्ला–कान्ला हामफाल्दै मन्दिरसम्म पुगिन्थ्यो, नत्र घरको छतबाट गजुरलाई नमस्कार गर्यो, धर्म कमायो। गजुरलाई नमस्कार गर्दा पनि पुरा भगवानलाई नमस्कार गरेर बराबर हुन्छ रे। तर, अब मेरो घरबाट पशुपतिनाथको गजुर देखिँदैन। आर्यघाटमा जल्ने लासहरूको गन्ध पनि त्यति आउँदैन, जति त्यो बेला आउथ्यो। हिजोका दिनमा भन्दा आज बढी लास जल्छन् होलान् आर्यघाटमा। तर, बस्ती बाक्लिँदै जाँदा ती रागहरू आफैँ बिलाएर जाँदा रहेछन्। त्यो बेला हामी कति गन्हाएको भन्थ्यौँ, ममी गाली गर्थिन्, ‘गन्हायो भन्नु हुँदैन पाप लाग्छ।’ अनि हामी हाँस्दै ‘सेकुवाको बास्ना आयो,’ भनिदिन्थ्यौँ।
बरु, आजकाल पशुपतिनाथ शान्त रहे पनि त्यहाँका बाँदरहरू भने रिसाहा र चिढचिढे भएका छन् कि जस्तो पो लाग्छ। उनीहरूले राज गरेका जमिनलाई मानिसले अतिक्रमण गरे भन्ने रिसले पनि हुनसक्छ। बिचराहरू गरुन् पनि के गरुन्। खानलाई खानाको कमी छ पिउनलाई पानीको। बागमतीको फोहोर पानी र त्यहाँ फालिएका खाना खाएर हुर्किएकाले होलान्। अधिकांश बाँदर शारीरिक रूपमा कुरूप बनेका छन्। कोही औला नभएका कोही, खुँडे त कोही हातै नभएका। हिजोका दिनमा चाबहिलतिर त्यति नआउने बाँदरहरू खानाको खोजीमा भौँतारिँदै आउन थालेका छन्। शायद मानिसलाई झैँ बाँदरलाई पनि आफ्नो क्षेत्र सानो लाग्न थालिसक्यो होला। हिजोभन्दा आज बाँदरहरू आक्रामक बनेका छन् कि जस्तो लाग्छ।
मलाई थाहा छैन। भनेको सुनेको। म एक वर्षभन्दा केही बढीको थिएँ रे। मेरो मावलीतिर छोरा पुस्ताका सबैभन्दा जेठा दाजुको बिहेको कार्यक्रम रहेछ, गुहेश्वरीमा। मेरा जेठा मामाका जेठा छोरा, हामी सबैका नातिदाइको बिहे। एकातिर बिहेको कार्यक्रम चलिरहेको रहेछ, अचानक मेरो खोजी हुन थालेछ। भएन फसाद सबैलाई। मत एउटा ढेडु बाँदरलाई गर्धनमा समातेर उचालेर खेलिरहेको रहेछु। बाँदरले कुनै प्रतिक्रिया जनाएनछ। नत्र पेटमा कति वटा इन्जेक्सन ठोक्नुपर्थ्यो के थाहा? मामाहरूले जुक्ति लगाएर मलाई बाँदरभन्दा टाढा लगेछन्, त्यो बाँदर नयाँ जीवन नै पाए झैँ उफ्रदै पर्खालमा चढेछ। हुनत मलाई आफू सोझैँ जस्तो लाग्छ तर मभन्दा पनि सोझा रहेछन् बाँदर त्यतिबेला। अहिले त पशुपतिका बाँदरहरू देख्यो कि टोकुँला झैँ गर्छन्। खै आफ्ना बाउ–बाजेको गर्धन समात्ने यही हो भन्ने चिनेर आँखा पो तर्दा हुन् कि मलाई?
काठमाडौंको कुरुपतासँगै यहाँ बस्नेहरूको मनसमेत कठोर बन्दै गएको छ जस्तो लाग्छ कहिलेकाहीँ। मेलम्चीको पानी पिउने सपना देखाइएको दशकौँपछि बल्लतल्ल भएभरका बाटो खनेर पाइप ओछ्याइएका छन्। त्यो पाइपमा पानी कहिलेदेखि बग्छ? अब त पशुपतिनाथले भन्न नसक्लान् जस्तो भइसक्यो। त्यही पाइप बिच्छाउने क्रममा खनिएका बाटाहरू कालोपत्रे नगरिँदा सडक छेउका मानिसहरू आजित छन्। हामी पनि छौँ।
एकपटक चाबहिल–गौशाला सडकखण्ड अति कष्टदायक बनेको थियो, अहिले पनि छ। सडकतिर हेर्दा केही न केही दुर्घटना भएकै हुन्थ्यो। कहिले बीच बाटोमा गाडी फस्ने त कहिले मोटरसाइलमा आएकाहहरू सडकमा जमेका हिलोमा पछारिने। यस्ता घटना सामान्य जस्तो बन्न थालिसकेको थियो। एकपटक एक दम्पती कुनै भोजमा जान लागेका रहेछन्, त्यही बाटो भएर। म सडकलाई नियालेर बसिरहेको थिएँ। अचानक मेरै अगाडि आइपुग्दा उनीहरू चढेको मोटरसाइकल लड्यो। दुवै जना हिलाम्मे। भोजको योजनालाई तिलाञ्जलि दिँदै सडक र सडक बनाउने जिम्मा लिएकाहरूलाई सराप्दै उनीहरू घर फर्किए। त्यस्तो थियो अवस्था।
ल अब भएन भनेर चाबहिल–गौशाला सडकखण्डका बासिन्दालाई बोलाइयो। अनि वडा कार्यालयमा उजुरी गर्न पुगियो। स्थानीय निकायको चुनाव नभएको अवस्थामा कोही प्रतिनिधि थिएनन्। सरकारी जागिरेले चलाउने स्थानीय निकायबाट राहत पाउन नसक्ने बुझेपछि हामीले बाटो बन्द गराउने निर्णय गरेर खानेपानीको लाइन बिच्छाउन राखिएका पाइपहरू बाटोमा तेर्साएर अवरुद्ध बनायौँ। हामी सबैको एउटै माग थियो, कमसेकम स्वच्छ हावामा बाँच्न पाउने अधिकार त कुण्ठित नहोस्। तर, सरकार र सम्बन्धित निकायले सकेसम्म सम्झाइबुझाइ गरेर बाटो खुलाउने नत्र बल प्रयोग गर्ने योजनामा प्रहरी परिचालन गरेछ। सम्झाइबुझाइ गरेर अवरुद्ध बाटो खोल्न नसक्ने देखेपछि प्रहरी मुठभेडको अवस्थामा आयो। उनीहरूको पहिलो निशानामा म रहेछु। ८–१० जना प्रहरी दौडिँदै आए, मैले केही सोच्नु अगावै च्याप्प समाते र लट्ठी उठाइहाले। मलाई लाग्यो अब यिनीहरूले मार्ने भए। त्यही पनि शास रहँदासम्म आस भने झैँ त्यो ८–१० जनामै सामेल डिएसपीतिर औँला सोझ्याउँदै चेतावनीको भाषामा चिच्याएँ, ‘आज ठोक्लास्, भोलिदेखि तलाई यो चाबहिलमा छिर्न दिन्न ल ठोक!’ त्यसपछि प्रहरी अलि शान्त भएका जस्तो लाग्यो। लाठी र बुट बजार्न ठिक्क परिसक्दा पनि त्यो बेला ज्यानमारा जस्ता देखिएका प्रहरीबाट अनौठैसँग जोगिएँ। समयमा आएको आँटले पिटाइ खानबाट जोगायो। अनि सम्बन्धित निकाय र ठेकेदारका प्रतिनिधिहरूले वार्ता गर्ने प्रस्ताव राखे। जसको प्रगति स्वरूप केही दिनपछि सो सडक खण्डमा कालोपत्रे गरियो। तर, धेरै दिन टिकेनन् ती कालोपत्रे पनि। देखाउनका लागि गरेको कालोपत्रे कति दिन नै टिक्न सक्थ्यो र?
हाम्रो काठमाडौं हृदयविहीनहरूको सहर बनिसक्यो। त्यस्तै लाग्यो, त्यस बेला। अहिले पनि लाग्छ नै। एसी गाडी चढेर सरकारी निवासमा बास बस्नेहरूलाई साधारण जनताको पीडाले चुभ्दैन होला र त? नत्र सर्वत्र विनाशको ताण्डव मच्चाएर मुसुमुसु हाँस्नसक्ने क्षमता विरलै राज्य सञ्चालकसँग हुन्छ। त्यसैले लाग्छ, काठमाडौंमाथि पशुपतिनाथ र प्रकृतिले दिएको वरदान ‘डेट एक्सपायर’ भइसकेको छ। त्यसैले यो सहरको आकाशमा आजकाल त्यति चराहरू उड्दैनन्, यो सहरका नदीहरू छुनलायक छैनन्। त्यसैले आजकाल यहाँका नदीमा माछा होइन रोगका जीवाणु तैरिन्छन्। अनि हावा शरीरले पचाउन सक्नेभन्दा प्रदूषित छ। बस केही छ त, यो विनाशको कुनै सीमा छैन। सक्नेले लुछिरहेका छन्, मरेको सहरलाई अझै मारिरहेका छन्।
अनि भारतीय गीतकार जावेद अख्तरका पङ्क्तिले मलाई निकै मन छुन्छ। भर्चुअलरूपमा भए पनि प्रकृतिसँग नजिक भएको आभाष दिलाउँछ।
‘पन्छी नदियाँ पवन के झोकेँ, कोइ सरहद ना इन्हे रोकेँ...’
तपाईंको ईमेल गोप्य राखिनेछ ।