चैत १७ गतेदेखि चिया प्रतिष्ठानहरूमा अनिश्चितकालीन तालाबन्दी

|

भद्रपुर, (झापा) : श्रम शोषण गरिएको भन्दै पूर्वका चिया मजदुर फेरि आन्दोलित बनेका छन्। सरकारले यही चालु आर्थिक वर्ष २०७५ साउनदेखि चिया बगान तथा कारखानामा कार्यरत श्रमिकका लागि न्यूनतम ज्याला तोकेको छ। तर, चिया बगान र कारखानाका मालिकले सरकारले तोकेको पारिश्रमिक लागू नगरेपछि पूर्वका चिया मजदुर फेरि आन्दोलित बनेका हुन्।

नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त रूपमा मंगलबार झापामा पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। संयुक्त आन्दोलन संर्घष समितिले चैत १७ गतेदेखि झापासहित देशव्यापी आन्दोलन गर्ने भएको छ। 

समितिले चैत १७ गते देशभरका चिया प्रतिष्ठानहरू अनिश्चित काल तालाबन्दी र झापाको सदरमुकाम भद्रपुरमा विरोध सभा गर्ने, चैत १८ र २० गते प्रत्येक इकाहरूमा औजारसहित बृहत् जुलुस प्रदर्शन गर्ने, चैत १९ गते विर्तामोडमा र २१ गते काँकडभिट्टामा विरोध सभा गर्ने तयारीसहितको कार्यक्रम रहेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले जानकारी दिए।

मजदुरको यो आन्दोलनले अन्तिम निष्कर्ष दिने दाबी गर्दै अध्यक्ष तामाङले भने, ‘देशभरका चिया प्रतिष्ठानहरू अनिश्चितकालका लागि बन्द गरी निष्कर्षपछि मात्र अब मजदुरको आन्दोलन रोकिन्छ।’

मजदुरले पहिलो चरणको आन्दोलनमा गर्दै गत असोज १० गते सम्पूर्ण चिया प्रतिष्ठान बन्द गर्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए। मजदुर आन्दोलित बनेपछि त्यस बेला चिया क्षेत्रको अध्ययन उच्चस्तरीय कार्यदल गठन गरेर प्रतिवेदन तयार पार्ने भनेपछि हामीले आन्दोलन फिर्ता लिएको अध्यक्ष तामाङको भनाई छ। 'सोही कार्यदलले फागुन ३० गते नै सरकारलाई प्रतिवेदन बुझाए पनि आजका मितिसम्म पारिश्रमिक कार्यन्वयनमा कतैबाट चासो नदिएकोले फेरि आन्दोलित हुनु परेको हो', उनले थपे।

सरकारले तोकेको न्यूनतम ज्याला बमोजिम चिया बगानमा कार्यरत श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिक दैनिक २ सय ३१ र महँगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्ने हो। इलाम र धनकुटाका पाँच वटा चिया बगानमा कार्यरत मजदुरबाहेक नेपालका पाँच जिल्लाका चिया मजदुरले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नौ महिना बितिसक्दा अहिलेसम्म पाउन नसकेको नेपाल चिया श्रमिक संघले जनाएको छ। इलामका तीन र धनकुटाका दुई उद्योगले भने मजदुरलाई सरकारले तोकेको पारिश्रमिक दिन थालेका छन्।

झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममा बढी चिया खेती हुने भएकाले ती जिल्लामा बढी चिया मजदुर कार्यरत रहेका छन्। बगानमा चिया टिप्ने सिजनमा ५५ देखि ६० हजार मजदुरले काम गर्ने गरेका छन् भने नियमित रूपमा २५ हजार मजदुर चिया बगान र चिया उद्योगमा काम गरिरहेका छन्। झापामा मात्र २८ वटा सिटिसी चिया उद्योगमा मजदुर कार्यरत रहेका छन्। उनीहरूले दैनिक ८ घण्टा काम गरे पनि दैनिक २७८ रुपैयाँ मात्र ज्याला पाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.