|

काठमाडौं : प्रहरीले एक महिनाको अवधिमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक सय ४६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विप्लवका तेस्रो ठूला नेता, मध्यकमाण्डको नेतृत्व सम्हालिरहेका हेमन्तप्रकाश वली 'सुदुर्शन'सहित १० जना पोलिटब्यूरो सदस्य र जिल्ला इन्चार्जदेखि कार्यकर्तासम्म रहेका छन। 

एक जनाको ज्यान जानेगरी फागुन १० मा ललितपुरको नक्खुस्थित टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको कार्यालयलक्षित बम विस्फोटपछि विप्लव समूहमाथि सरकारले कडा कदम चाल्न थालेको थियो। उक्त विस्फोटको जिम्मेवारी हालै पक्राउ परेका वलीले लिएका थिए। 

उक्त घटनापछि सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधि राजनीतिक नभइ हिंसात्मक भएको ठहर गर्दै फागुन २८ मा बसेको मन्त्रिपरिषद बैठकमार्फत सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

प्रतिबन्धपछि विप्लवसमूहका ७४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। प्रतिबन्ध लगाएपछि नै वलीसहित उच्च तहका नेताहरू पक्राउ परेका हुन। त्यस्तै नख्खु बम काण्ड यता हालसम्म एक सय ४६ जना पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले जानकारी दिए।

चारवटै सुरक्षा निकायको अपरेसन

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै चारवटै सुरक्षा निकायले विप्लवका नेता कार्यकर्ता पक्राउको क्रम तीव्र पारेको छ। चारवटै निकायका नेतृत्वले  मातहतका सुरक्षा सयन्त्रलाई विप्लवका नेता–कार्यकर्ता जहाँ देख्यो त्यहिँ पक्राउ गर्न निर्देशन दिएका छन्।

हाल प्रहरीले विप्लव पार्टीका नेता कार्याकर्तालाई दिनै पिच्छे पक्राउ गरिरहेको छ। गृह मन्त्रालय स्रोतकाअनुसार मुलुकका प्रमुख दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी भौतिक रूपमै ‘हाइ अलर्ट’मा छन् भने राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले आन्तरिक रूपमा सूचना संकलन गरिरहेका छन।

प्रवक्ता सुवेदीकाअनुसार पक्राउ परेका विप्लवका कार्यकर्तामाथि कशु हेरेर मुद्दा चलाउने र अनुसन्धान हुने बताए। वलीसहितलाई ज्यान मुद्दा लगाइएको छ।प्रहरीकाअनुसार विप्लवका अधिकांश कार्यकर्ताबाट हतियार, विष्फोटक पदार्थ बरामद हुँदै आएको छ।

चारवटै सुरक्षा निकायले अपरेसन तीव्र पारेसँगै विप्लव नेकपाका कार्यकर्तादेखि नेताहरू मोबाइल र सामाजिक सञ्जालबाट टाढा भएका छन। उनीहरू भूमिगत भएका छन। 

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.