|

उदयपुरः उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने अभियुक्तहरूलाई जन्मकैदको फैसाला सुनाइएको छ। जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले मंगलबार कसुर ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।

अदालतले १६ वर्षीय बालकको हकमा १२ वर्ष ६ महिना र १७ वर्षीय बालकको हकमा १६ वर्ष २ महिना ६ दिन साथै क्षतिपूर्ति वापत जनही एक/एक लाख गरी दुई लाख भराउन आदेशसमेत दिएको छ। १७ वर्षीय बालकले घटनाका बेला भरुवा बन्दुकसमेत साथमा लिएकाले उनलाई त्यसबापत थप ३ वर्ष जेल र ३० हजार जरिवानाको फैसला सुनाइएको अदालतका श्रेष्तेदार राजकुमार आचार्यले बताए।

‘बलात्कार, हत्या र हातहतियार र खरखजना गरी तीन प्रकृतिको मुद्दा दायर गरी चलाएको थियो,’ उनले भने, ‘पीडित पक्षको मागदाबीअनुसार अदालतले बालक देखिएको भन्दै ऐन कानुनअनुसार फैसाला गरेको हो।’उमेर पुगेका मानिसलाई हुने सजायको दुई तिहाई सजाय हुने व्यवस्थाअनुसार फैसला गरेको आचार्यको भनाइ छ।

त्यसैगरी, १६ वर्षीय बालकले भने हतियार नबोकेका कारण बलात्कार र हत्यासम्बन्धी दुई प्रकारको मुद्दा चलाइको थियो। कसुरदार नाबालक रहेको देखिएपछि उनको हकमा अदालतले उमेर पुगेका मानिसलाई हुने सजायको आधा हुने गरी फैसला सुनाएको अदालतले जानकारी दिएको छ।

एन्जिलाको यसरी भएको थियो, बलात्कारपछि हत्या

गएको ०७५ कात्तिक २४ गते सोही वडाको अमला जंगलमा अभियुक्तद्वयले बालिका एक्लै बाख्रा चराउन गएको मौकाछोपी बलात्कारपछि हत्या गरेको पुष्टि भएको थियो। उनीहरू एउटै विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने सहपाठीसमेत थिए। बलात्कार गर्न लाग्दा चिच्याएपछि घाँटीमा थिची हत्या गरेर बलात्कार गरेको अभियुक्त दुवैले स्वीकार गरेको प्रहरीको भनाइ छ।

घटनाको ४ महिना १७ दिनका दिन अदालतले कसुरदार ठहर गरी फैसला सुनाएको हो। कसुरदारहरूविरुद्ध पीडितका बाबु दुर्गाराज खड्काले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।

त्यसअघि प्रहरीले घटनास्थलमा गरेको प्रारम्भिक अनुसन्धानका क्रममा चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएकोमा ३ जना संलग्न नरहेको देखिएपछि छाडेको थियो। उनीहरूसँगै पक्राउ परेका १६ वर्षीय बालकले १७ वर्षीय बालक संलग्न रहेको बयान दिएपछि कात्तिक २६ दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए। ‘घटनालगत्तै प्रदेश प्रहरी कार्यालयबाट आएको अनुसन्धान टोली, तालिम प्राप्त कुकुर, चिकित्सकसहित तत्कालीन डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा गएको टोली घटनास्थल पुगेको थियो,’ उनले भने, ‘त्यही टोलीले दोषी पत्ता लगाएको हो।’

प्रहरीले घटना घटेको ६ दिनमा प्रारम्भिक अनुसन्धान पूरा गरी आरोपितहरू सार्वजानिक गरेको थियो।

प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले घटना मनसायपूर्वक हत्या गरेको देखिन आएको दाबी गर्दै दफा १७७ बमोजिम करणी, ज्यान र खरखजनासम्बन्धी कसुरअन्तर्गत कारबाहीको माग गर्दै २०७५ मंसिर २३ गते अदालतमा मुद्दा दायर गरेको थियो। पीडितको तर्फबाट जिल्ला न्यायाधिवक्त बद्रिप्रसाद नेपाल र प्रतिबादीको तर्फबाट अधिवक्ता नीरबहादुर राईले बहस गरेका थिए।

बालबालिकाको हकमा यस्तो छ, कानुनी व्यवस्था

मुलुकी अपराध संहिताको दफा ११ ले एकै व्यक्तिलाई एकैपटक धेरै प्रकृतिको मुद्दा भएमा प्रत्येक कसुर अलग-अलग भएको मानी सजाय निर्धारण गर्ने तर कारबाहीको हकमा भने सबैभन्दा ठूलो सजायलाई कार्यान्वयन गर्ने व्यवस्था छ। यो व्यवस्थाअनुसार उनीहरूलाई हत्यासम्बन्धी जन्मकैदको व्यवस्थामा २५ वर्ष रहेकाले जन्मकैदको कारबाही कार्यान्वयन गरिएको श्रेस्तेदार आचार्यले जानकारी दिए।

अदालते बालिका हत्यामा २५ वर्ष र बलात्कारमा १५ वर्ष जेल सजायको फैसला सुनाएको छ, यसबाहेक १७ वर्षीयको हकमा हातहतियारसमेत देखिएकाले थप ३ वर्ष सजाय थप गरेको छ। दुवै सजाय जोड्दा १७ वर्षीय बालकको ४३ वर्ष जेल जीवन बिताउनु पर्नेछ। तर, बालक त्यसमा पनि भिन्न-भिन्न प्रकृतिको घटना रहेकाले जन्मकैदलाई आधारमानी १६ वर्ष २ महिना ६ दिन जेल जीवन बिताउनु पर्ने अदालतको फैसालामा छ।

मुलुकी अपराध संहिताअन्तर्गत दफा २१९ (३) (ख) बमोजिम बलात्कारसम्बन्धी घटनामा १५ वर्ष र सोही ऐनको दफा १७७ (२) बमोजिम हत्याको जन्मकैदको सजाय हुने अदालतले ठहर छ। यसैगरी, १७ वर्षीयले हातहतियार र खरखजना बोकी हिँडेकाले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १३२ (२) बमोजिम ३ वर्ष जेल र ३० हजार जरिवाना ठहर गरिएको आचार्यको भनाइ छ।

बालिकालाई बलपूर्वक करणी गरी हत्या गरेको देखिन आएकाले अपराध संहिता ऐन २०७४ को दफा २२८ तथा सोही ऐनको दफा १८६ लाईसमेत विचार गरी दुवैलाई १/१ लाख क्षतिपूर्ति ठहर गरिएको छ। १७ वर्षीय बालकको हकमा बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ३६ (४) तथा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ४५ (४) वमोजिम उमेर पुगेको मानिसलाई हुने सजायको दुई तिहाई सजाय गर्ने व्यवस्था बमोजिम कारबाही अदालतको भनाइ छ।

त्यसैगरी, १६ वर्षीय नाबालकको हकमा बालबालिकासम्बन्धी ऐनको दफा ३६ (३) र सोही ऐनको दफा ४५ (३) बमोजिम उमेर पुगेको मानिसलाई हुने सजायको आधा सजाय हुने व्यवस्था अनुरूप कारवाही गरिएको श्रेस्तेदार आचार्यले बताए। घटनामा संलग्न रहेका दुवै जना बालक रहेकाले उमेर नपुगेसम्म बाल सुधारगृहमा बस्ने र त्यसपछि कारागार चलान हुने गरी फैसला भएको हो।

बालकको हकमा नाम गोप्य राख्नु पर्ने कानुनी प्रावधानकाकारण प्रहरीले १६ बर्षीय बालकलाई इइवान कुमार र १७ वर्षीयलाई एचएचवान कुमार उपनाम दिई मुद्दा चलाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.