|

काठमाडौं : आइतबार स्वर सम्राट नारायणगोपालको २६ औ स्मृति दिवस हो। उनले करिब १ सय ५० गीतहरु गाएका छन्। उनले जति गीत गाएका छन् अधिकांश गीतहरु अहिले पनि चर्चित छन्। उनका गीतहरु विगतदेखि वर्तमानसम्म नेपाली गीत संगीतप्रेमीको रुचीमा पर्दै आएको छ।

नारायणगोपालले तत्कालीन रानी ऐश्वर्याले लेखेका गीतदेखि राष्ट्रकवि माधवप्रसाद घिमिरे, दिनेश अधिकारी सम्मले लेखेका गीतहरु गाएका छन्। गीत छनोटमा अत्यन्तै सचेत नारायणगोपाल संगीतकार पनि हुन्। उनले गीतमा आफै संगीत भर्नुका साथै रञ्जित गजमेर, शिवशंकर, दीपक जंगम लगायतका संगीतमा स्वर दिएका छन्।

नारायणगोपालका गीतहरु सदाबहार छन्। उनका चर्चित गीतहरुको सूची लामो छ। उनको स्मृति दिवसको अवसरमा हामीले यहाँ उनका सदाबहार १० गीत प्रस्तुत गरेका छौं :

१. 'एउटा मान्छेको मायाले कति फरक पार्दछ जीन्दगीमा…'

चाँदनी शाह (रानी ऐश्वर्या) ले लेखेको यो गीत गाउन नारायणगोपालको चर्चीत गीतमध्ये पर्छ। यो गीत गाउनका लागि राजदरबार आउन भनेर राजदरबारले सैनिक सचिव पठाएका थिए तर उनले नमानेपछि पछि चाँदनी आफैले नारायणगोपाललाई आग्रह गरेका थिए।

२. 'यति धेरै माया दिइ मन भरी दुख नदेउ…' शब्द संगीत दिपक जंगमका शब्दमा रहेको यो गीतमा नारायणगोपालले स्वर दिएका छन्।

३. 'आँखा छोपी नरोउ भनि भन्नु पर्याछ, मुटुमाथि ढुँगा राखी हास्नु पर्याछ...' कालीप्रसाद रिजालका शब्द हुन् यी जसमा नारायणगोपालको स्वर र संगीत रहेको छ। यो गीत नारायणगोपालको 'प्रेयसीका यादहरु' एल्बमको भाग- १ मा सम्मिलित रहेको छ।

४. 'केही मिठा बात गर रात त्यसै ढल्किदैछ, भरे फेरी एकान्तमा रुनु त छदैछ…' यो गीत पनि कालीप्रसाद रिजालले नै लेखेका हुन्। जसमा स्वर र संगीत नारायणगोपालको रहेको छ।

५. 'यो सम्झिने मन छ म बिर्सु कसोरी…' दिनेश अधिकारीका शब्दमा स्वर र संगीत भरेका थिए नारायणगोपालले। यो गीत दिनेशले जागिरको सिलसिलामा बैतडीमा भएको बेला लेखेर नारायणगोपालका नाममा हुलाकबाट पठाएका थिए। जसको रेकर्ड २०४४ सालमा भएको थियो।

६. 'मान्छेको माया यहाँ खोलाको पानीजस्तो…' राममान तृषितले लेखेको यो गीतमा नारायणगोपालले संगीत भरेका थिए भने पुराना संगीतकार शिवशंकरको संगीत रहेको थियो।

७. 'पर्खी बसे आउला भनि मेरो उठ्ने पालो…' नारायणगोपालले विश्वबल्लभका शब्द र शम्भुजित बाँस्कोटाको संगीतमा स्वर दिएका छन् यो गीतमा।

८. 'आज र राती के देखे सपना मै मरी गएको…' राष्ट्रकवि माधव घिमिरेले मर्स्याङ्दी नदीको सेरोफेरोलाई समेटेर लेखेको यो गीतमा स्वर दिएका थिए नारायणगोपालले। यो गीत गाउनुपूर्व नारायणगोपाल मर्स्याङ्दी नदी किनार पुगेको भनाइ छ।

९. 'मेरो प्यारो ओखलढुंगा…' नारायणगोपालले गीत मात्र गाएनन् कविता पनि गाए। जसमा सिद्धिचरण श्रेष्ठको यो पनि पर्दछ।

र, अन्त्यमा…

नारायणगोपालको अन्तिम गीत

'यो मुटुलाई कसोरी सम्झाइ बुझाउँ…' नारायणगोपालले तुलसी घिमिरेको यो गीत 'दक्षीणा' फिल्मका लागि गाएका  थिए। उनले १२ नेपाली फिल्मका लागि २२ वटा गीत गाएका थिए। यो गीतमा रञ्जीत गजमेरको संगीत रहेको छ। यो गीतलाई नारायणगोपालले गाएको अन्तिम गीत भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.