|

दमक : कृषि विकास मन्त्री गौरीशंकर चौधरीले आँउदो १० वर्षमा नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने बताएका छन्। आइतबार झापाको दमकमा पूर्वाञ्चल क्षेत्रीय स्तरको पशुबजारको शिलान्यास गर्दै उनले कृषिलाई अधुनिकीकरण गरेर देशलाई आत्मनिर्भरको बाटो तर्फ लाने सरकारको योजना रहेको बताएका हुन्।

‘कृषिलाई आधुनिकीकरण गर्न हामी लागि परेका छौं, कृषकलाई अनुदानमा कृषि औजार दिन्छौं' उनले भने,‘ नेपालमा कृषि पेशा आधुनिकीकरण भएको छैन, कृषकले धेरै दुख गरेपनि खानसम्म नपुग्ने अवस्था छ त्यसैले हामी कृषकलाई सुरक्षा भत्ता दिने योजनामा छौं।'

लामो समयसम्म कृषि पेशा गर्ने कृषक पहिचान गरी परिचय पत्र वितरण गर्ने र परिचय पत्रको आधारमा सुरक्षा भत्ता दिने मन्त्री चौधरीले बताए। सरकारले किसानलाई प्रोत्साहनका लागि पेन्सन दिने कार्यक्रम ल्याउने उनले जानकारी दिए। अघिल्लो सरकारले पेन्सन कार्यक्रम ल्याएपनि बजेट नछुट्याएकाले आफुहरुले नमुना कार्यक्रमका रुपमा किसानहरुलाई पेन्सन दिन लागेको मन्त्री चौधरीले बताए।

आइतबार शिलान्यस गरिएको पशुहाटलाई समयमा काम सम्पन्न गर्न मन्त्री चौधरीले ठेकेदार कम्पनीलाई निर्देशन दिए। ‘तपाईहरु राम्रो काम गर्नुहोस्, मन्त्रालयबाट आवश्यक सहयोग गर्छु, एकै समयमा धेरै ठेक्का नलिनुहोस्।’

उक्त पशु बजार नेपालकै पहिलो सुविधा सम्पन्न पशु हाट हुने ब्यवसायी कृषि तथा ब्यापार आयोजना केन्द्रका आयोजना संयोजक डा. गोविन्दप्रसाद शर्माले जानकारी दिए। केन्द्र मार्फत विश्व बैंकले आधुनिक पशुहाटको निर्माणका लागि ११ करोड ७६ लाख २६ हजार ७ सय ४२ रुपैयाँ लगानी गरेको उनले जानकारी दिए। यो पशुहाट विराटनगरस्थित लामारमण जेभी भूमि कन्ट्रक्सनले आउँदो वर्षको पुससम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.