संघीयता आएपछि झनै कष्ट, २२ जनाका ठाउँमा ६ जना मात्र कर्मचारी

|

पर्वत: पैयूँ गाउँपालिका हुवास घर भएका अमरबहादुर थापा ३ दिनसम्म होटेलमा बस्न बाध्य भए। जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा रहेको पैयूं घर भएका उनी मालपोत कार्यालयमा जग्गा पास गर्ने काम लिएर सदरमुकाम आएका थिए। उनको काम बढीमा २ घण्टामा सकिने थियो तर उनी जग्गा पासको काम नसकिँदा ३ दिनसम्म होटेलमा बसेर जसोतसो काम गरे। झन्डै ५ घण्टासम्म जिपको यात्रा गरेर सदरमुकाम आएका उनको साथमा अरू आफन्त पनि थिए। जग्गाको काम सक्नका लागि होटेलमा खाए बसेको झन्डै १४ हजार रुपैयाँ उनले खर्च गरे।

जलजला गाउँपालिका ८ धाईरिङ घरभएका गङ्गाबहादुर नेपालीले पनि २ लगाएर जग्गा फुकुवा र नामसारीको काम सके। बुधवार बिहानबाट मालपोत कार्यालयमा धाउन थालेका उनको काम बिहीबार अन्तिम समयमा मात्र सकियो। २ छोराको साथमा काम लिएर आएका उनीले पनि होटेलमा बस्दा धेरै खर्च भएको बताए।

गङ्गाबहादुर जस्तै पैयूँ गाउँपालिकाको त्रिवेणी घर भएका भीम बस्यालले पनि ३ धाएर आफ्नो जग्गाको कारोबार पूरा गरे। जग्गाको पारिवारिक भागबण्डा मिलाउन आएका उनको साथमा रहेका परिवारका सदस्यलाई होटेलमा राख्दा बस्यालको झन्डै १६ हजार रुपैयाँ खर्च भयो। 

थापा, नेपाली र बस्याल जस्तै मालपोत कार्यालयमा काम लिएर आउने गरेकाअरु सेवाग्राहीहरु पनि यस्तै बाध्यतामा छन्। केही घण्टामै काम सकिएला भनेर आउने सेवाग्राहीहरु कार्यालयबाट समयमै कार्यसम्पादन नहुँदा होटेलमा बस्न बाध्य छन्। बजारमा आफन्त भएकाहरू आफन्तकहाँ आश्रय लिन्छन् तर टाढाबाट आउने र बजारमा आफन्तहरू पनि नरहेकाहरूलाई पनि लिएर आएको काम भन्दा होटेलमा बस्दाको खर्चले पिरोल्ने गरेको छ। 

२२ जनाका ठाउँमा ६ जना मात्र कर्मचारी

सेवाग्राहीको यो बाध्यता भने मालपोत कार्यालयमा कर्मचारी अभाव भएका कारण भएको हो। स्थानीय तहको निर्वाचनपछि कार्यालयका धेरै कर्मचारीहरूलाई स्थानीय तहमा पठाइएको छ। तर मालपोतका कामहरू स्थानीय तहमा नभएर जिल्ला कार्यालयमा नै हुने गरेका छन्। सेवाग्राहीहरुको भीड स्थानीय तहको निर्वाचन अगाडि र पछाडि उत्तिकै छ तर निर्वाचन अगाडि २२ जना कर्मचारी कार्यरत रहेको मालपोतमा अहिले ६ जना मात्र कर्मचारी छन्। कर्मचारीको अभावकै कारण कार्यालयले समयमै काम सम्पादन गर्न सकेको छैन। हरेक दिन झन्डै ५० जना सम्म सेवाग्राही आउने गरेकोमा कमैको मात्र काम सकिन्छ। एकै दिनमा काम पूरा नभएकाहरू २-३ दिन सम्म पनि एउटै फाइल बोकेर कार्यालयमा भौँतारिइरहेका देखिन्छन्।

कार्यालय प्रमुख शोभाकान्त पौडेलले पनि कार्यालयमा कर्मचारी अभाव भएकै कारण स्थानीय तहको निर्वाचन अगाडि जस्तो समयमै काम सकाउन नसकिएको बताउँछन्। उनका अनुसार कार्यालयमा अहिले १ जना लेखापाल, १ जना नायव सुब्बा, २ जना खरीदार, १ जना कम्प्युटर अपरेटर र १ जना कार्यालय प्रमुख गरेर ६ जना छन्। यी ६ जनामध्ये कम्प्युटर अपरेटरको काम भने कार्यालय सहयोगीले गर्दै आएका छन्। ‘कार्यालय सहयोगी दीपक श्रेष्ठले कम्प्युटर राम्रो जान्ने भएका कारण अपरेटरको काम उहाँले नै गर्दै आउनुभएको छ,’ कार्यालय प्रमुख पौडेलले भने, ‘पछिल्लो समयमा १७ जना सम्म कर्मचारीले सम्पादन गरेको काम यति जनशक्तिले पार लगाउन सक्नु नै ठुलो कुरा हो।’ यस्तै, दर्ताको कर्मचारीको रूपमा पनि कार्यालय सहयोगी डिल्लीप्रसाद पौडेललाई प्रयोग गरिएको छ। 

संघीयता आएपछि झनै कष्ट

कार्यालयमा रहेका हरेक फाँटमा कर्मचारी नहुँदा एउटै कर्मचारीले २-३ ओटा कोठामा पालो अनुसार डुलेर काम सक्नुपर्ने बाध्यता छ। ‘एउटै कर्मचारीले कर्मचारी नभएका फाँटका काम पनि सम्हाल्नुपरेको छ। यसो गर्दा एउटा फाँटको काम सकेर अर्को फाँटमा पुग्ने सेवाग्राही अड्किएर बस्नुपर्ने बाध्यता छ,’ कार्यालय प्रमुख पौडेलले थपे, ‘तर हामीले निकै मिहिनेत गरेर धेरैजसो सेवाग्राहीका काम त एकै दिनमा सकाएर पठाउने गरेका छौँ।’

कार्यालयमा पुगेर कामको लागि पर्खीरहेका सेवाग्राहीहरु संघियता आएपछि हरेक काममा सजिलो हुने भन्ने सुनेको बताउँदै संघीयता आएपछि झनै कष्ट पाएको बताउँछन्। पैयूँका अमरबहादुर थापा भन्छन्, ‘अहिलेको भन्दा त उही बेलाकै ठिक थियो। नेताहरूले आफूलाई मिल्ने कुरा मात्र मिलाएका हुन्। सङ्घीयता आएर यही दुःख पाउने हो भने, हाम्लाई यो किन चाहियो?’

गङ्गाबहादुर नेपालीले पनि गाउँ गाउँमा अधिकार पाइन्छ रे भन्ने सुनेका थिए। तर मालपोत कार्यालयमा धाउँदा हैरान भएपछि उनलाई देशमा जस्तो र जसको शासन आएपनि पनि जनताले भने सधैँ दुःख नै पाउने रहेछन् भन्ने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.