साँघुरा सडक र तीव्र गतिले दुर्घटना

|

इलाम : गत कात्तिक ६ मा देउमाई नगरपालिका–१ मा झापाबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज २६५७ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा पाँचथरको फाल्गुनन्द गाँउपालिकाका चन्द्र बागदाशको घटनास्थलमै मृत्यु भयो। कात्तिक २९ मा माङसेबुङ गाउँपालिकाको लारुम्बामा दमकतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिएर दुई जनाको ज्यान गयो। यस दुर्घटनामा साँघुरो बाटो र तीव्र गतिका कारण स्थानीय नवीन कुरुम्बाङ र धनकुटाको चौबिसे गाउँपालिकाका २२ वर्षीय गोकुल लिम्बूले ज्यान गुमाए।

त्यसैगरी फागुन २३ मा झापाको बिर्तामोडबाट ताप्लेजुङतर्फ जाँदै गरेको सडक डिभिजन कार्यालय ताप्लेजुङको बा १ झ ९८९८ नम्बरको गाडी इलाम नगरपालिकाको सिम्ले भीरबाट खस्दा  एक जनाको ज्यान गयो। गन्तव्यमा हिँडेका यात्रुको ज्यानै जाने र चार जना अस्पतालको बेडमा पुर्‍याउने दुर्घटनाका मुख्य कारण तीव्र गति भएको ट्राफिक प्रहरीको भनाइ छ। 

उद्धारमा खटिएका ट्राफिक प्रहरी ऋद्धि खनालका अनुसार घुमाउरो सडकमा तीव्र गतिको सवारी चालकको नियन्त्रणबाहिर गएर दुर्घटना भएको देखिन्छ।

माथि उल्लेख गरिएका घटनाहरू केही  प्रतिनिधिमुलक घटना मात्रै हुन्। झापादेखि पहाडी जिल्ला जोड्ने मेची राजमार्गमा दुर्घटनाको संख्यामा वृद्धि आएको छ। साँघुरो र  घुमाउरो सडकमा दुर्घटनाको संख्या बढ्नुको मुख्य कारण तीव्र गति रहेको हो। दुर्घटना कम गर्न ट्राफिक प्रहरीले विभिन्न चरणमा सचेतनामुलक कार्यक्रम आयोजना गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन।

पाँच वर्षमा १०० भन्दा बढीको मृत्यु

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, मोबाइलको प्रयोग गर्दै सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा गुडाउनाले दुर्घटना भई ज्यान जाने र अंगभंग हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख पदमकुमार राईको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामको तथ्यांकअनुसार गत कात्तिक यता पछिल्ला सात वटा दुर्घटनामा १० जनाको ज्यान गएको छ। प्रहरीको तथ्यांकमा इलाममा पाँच वर्षमा इलाममा ५७५ भन्दा बढी दुर्घटना भएका छन्। जसमा १३८ जनाको ज्यान जानुका साथै ३१८ गम्भीर र ७७४ सामान्य घाइते भएका छन्।

तथ्यांकमा रहेकामध्ये ८० प्रतिशत दुर्घटनाहरू मेची राजमार्गमा भएका हुन्। जिल्ला ट्राफिक कार्यालय इलामको तथ्यांक शाखामा काम गर्दै आएका खनालका अनुसार कार्यालयले मानिसको अंगभंग हुने गरी भएका दुर्घटना मात्रै तथ्यांकमा राखेको छ। चालकको लापरवाही र गाडीको ठक्करबाट सामान्य घाइते भएका  घटना दैनिक जसो हुने गरेको उनको भनाइ छ।

दुर्घटना कम गर्न कन्भेक्स लेन्स र होडिङ बोर्ड

घुमाउरो सडकमा अगाडिको गाडी नदेखिने र तीव्र गतिमा हुँदा मोड्न नसक्दा सवारी साधन सडकमुनि खस्ने गरेका छन्। ट्राफिक प्रहरीले चालकलाई गाडी मोड्न सजिलो होस् भनेर राजमार्गका र सहायकमार्गका घुम्ती तथा मोडहरूमा दुर्घटनाका संकेत चिह्न र कन्भेक्स लेन्स राखेको छ।     

सडक डिभिजन कार्यालय, स्थानीय तह, जिल्ला प्रहरी र जिल्ला प्रशासनको समन्वयमा कन्भेक्स लेन्स राखिएको हो। जसले टाढैबाट सडकको अवस्था चालकले थाहा पाउनेछन्। तर, संरक्षणको अभावमा कतिपय स्थानमा राखिएको होर्डिङ बोर्ड र कन्भेक्स लेन्सको संरचना नै छैन। ट्राफिक प्रहरीले दुर्घटना कम गर्न मादक पदार्थ परीक्षण, चालक, पैदलयात्री, विद्यार्थीलाई चेतनामुलक कार्यक्रम र बढी दुर्घटना हुने १० किलोमिटर क्षेत्रमा नमुना ट्राफिक योजना कार्यक्रम संचालन गर्दै आएको छ।

स्थानीय स्तरमा चालकले गाडी चलाउँदा अनिवार्य जुत्ता प्रयोग गर्नुपर्ने नियम बनाइए पनि पूर्णरूपमा कार्यान्वयमा समस्या रहेको ट्राफिक प्रहरी प्रमुख पदम राई बताउँछन्। साँघुरो सडकमा दुर्घटना कम गर्न अहिले ट्राफिक प्रहरीले १५ दिने अभियान पनि संचालन गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.