|

यो सम्झिने मन छ म बिर्सु कसोरी

तिमी नै भनिदेउ ए जाने निठूरी…

स्वर सम्राट नारायणगोपालको आवाजमा रहेको यो कालजयी गीत सुदूरपश्चिमको बैतडी जिल्ला सदरमुकाममा लेखिएको थियो। यसका गीतकार थिए काठमाडौं बानेश्वरमा जन्मिएका गीतकार दिनेश अधिकारी। 

बैतडीमा लेखिएर नारायणगोपालको नाममा खामबन्दी भएर काठमाडौं आएको थियो यो गीत। दिनेश बैतडी जाने बेला नारायणगोपालले भनेका थिए 'दिनेश राम्रो गीत लेखेपछि मलाई पठाइदेउ है' उनले नारायणगोपालका यी शब्द बत्तीसपुतलीस्थित घरमा थाहाखबरसँगको कुराकानीमा सम्झिए। नारायणगोपालको आग्रहमा गीत पठाएका दिनेश बैतडीबाट बाराको कलैया सरुवा भए। त्यहीबेला दिनेशसँगको कुराकानीमा नारायणगोपालले सोधेका रहेछन् 'मलाई गीत चाहियो दिनेश।' दिनेशले गीत बैतडीबाटै पठाएको जवाफ दिएछन्। अनि नारायण गोपालले भनेछन्, 'ए, त्यसो भए मसँग होला।'

नारायणगोपाल आफैले संगीत गरेर गाएको गीतको क्यासेट साउण्ड इन्जिनियर प्रदीप उपाध्यायमार्फत दिनेशका नाममा पठाएका थिए बाराको कलैया। त्यसपछि मात्र दिनेशले थाहा पाएछन्, गीत रेकर्ड भएछ। यसअघि नै नारायणगोपालले दिनेशका शब्दमा स्वर दिइसकेका थिए। संगीत थियो दिव्य खालिङको।

दिनेशको त्यो गीत थियो,

तिमी जुन रहरले म मा भूल्न आयौ

सबै सुख हराए सधैं सधै चोट पायौ…

नारायणगोपालसँगको पहिलो भेट

दिनेश अधिकारीको नारायणगोपालसँगको भेटको धागो गीत संगीतले नै जोडेको हो। गायक नारायणगोपाललाई गीतकार दिनेशको भेट गराउने व्यक्ति थिए संगीतकार दिव्य खालिङ। नारायणगोपालको कुरा निकाल्दा दिनेशले सुरुमा दिव्य खालिङ र आफ्नो साथी सम्बन्धको कुरा झिके। संगीतकार दिव्य खालिङकोमा दिनेशका थुप्रै गीत संगीत भरिएर रहेका थिए।

त्यस्तै नारायणगोपाल र दिव्य खालिङको आउजाउ राम्रै थियो। नारायणगोपाल र संगीतकार दिव्यको सांगीतिक सम्बन्ध गाढा थियो। नारायणगोपाल दिव्य खालिङकोमा गएको बेला नयाँ रचनाका कुरा भएछन्। दिनेश भन्छन्, 'एकचोटी नारायण दाइले दिव्य खालिङको संगीत गरेको एउटा गीत सुन्नुभएछ जसका शब्द मेरा थिए। सुनिसकेपछि उहाँले गाउने भन्नुभएछ।' नारायणगोपालले गीतकारलाई भेट्ने इच्छा जाहेर गरेको कुरा राखेपछि दिव्यले दिनेशलाई भनेछन् 'भन्नुभयो खाना खानेगरी नारायणगोपालले बोलाउनुभएको छ।'

नारायणगोपालको निम्तोमा उनको महाराजगञ्जस्थित घरमा पुगेका थिए दिनेश। त्यो २०४० साल थियो जहाँ पहिलोचोटी भेट भएको थियो दिनेश र नारायणगोपालको। 'नारायण दाइको महाराजगञ्जको घरको भूँइतला थियो। पहिलोचोटी त्यही भेट भयो।' तर, जुन गीतको संगीतले उनीहरुको भेट गराएको थियो त्यही गीत नारायणगोपालले गाएनन्। जुन गीत पछि किरण प्रधानले गाए।

भेटी नभेट्न सक्ने आकाशको तलाउ

तिमी साँझ बत्ती बाल यात्रा मलाई देउ 

यो गीतलाई नारायणगोपालले मन पराएका थिए भन्छन् दिनेश। जसको बारेमा नारायणगोपालकी पत्नी पेमलाले 'बागिना' मा चर्चा गरेको बताउँछन् दिनेश। नारायणगोपालले उक्त गीत मन पराउँदा पराउँदै पनि नगाएको कुरा यसरी सुनाए उनले, 'नारायण दाइको जब निधन भयो त्यसपछि नारायणगोपाल संगीत कोषले निकालेको स्मृति विशेषांक 'बागिना' मा पेमला भाउजूले यो गीतको बारेमा चर्चा गर्नुभएको छ। उहाँलाई मन पर्दापर्दै पनि यो गीत किन गाउनुभएन मैले थाहा पाइन।'

नारायणगोपालको गीत छनोट

गीतकार दिनेश अधिकारी

नारायणगोपालका लागि गीत लेख्नेमा कान्छो पुस्ताका गीतकार दिनेशले नारायणगोपालको गीत छनोटको तारिफ गरे। उनी नारायणगोपाल संख्यात्मक रुपमा थोरै गीत गाएर पनि चर्चामा आउनुमा उनको गीत छनोटको शैली मुख्य रहेको बताउँछन्। नारायणगोपालले पहिलोपटक जगदम्बाश्री पुरस्कार थाप्ने क्रममा भनेको कुराको आशय सुनाए, 'स्वरको माध्यमबाट पनि साहित्यको सेवा हुँदो रहेछ भन्नेकुरा यो पुरस्कार पाएर मैले अनुभूत गरे।'

दिनेशले उक्त भनाइको यस्तो अर्थ लगाए, 'भनाइको मतलब, साहित्यसँग संगीतको अन्योन्याश्रित सम्बन्ध छ र साहित्यबाट बिमुख भएर गायक वा संगीतकार अगाडि बढ्दैन भन्ने एउटा क्लियर कट दृष्टिकोण थियो।' नारायणगोपालको साहित्य र संगीत गहन सम्बन्ध रहेको कुरा बुझेको दिनेशको बुझाइ थियो।

'स्वर मात्रै भएर मात्र पुग्दैन गायक टिकाउ हुनलाई गीतको छनोट गर्ने क्षमता हुनुपर्छ भन्ने उहाँमा ज्ञान थियो।' नारायणगोपालमा गीत छनोटको क्षमता रहेको दिनेशले बताए। उनी भन्छन् ' नारायण दाइलाई गीत छनोट गर्न पेमला भाउजूले पनि सहयोग गर्नुहुन्थ्यो।' नारायणगोपालको गीत छनोट गर्ने बानी यसरी खुलाए, 'एउटा गीतमा धुन भरिसकेपछि वर्ष दिनसम्म सुनिरहने र तबसम्म त्यो गीतले आनन्द दियो भने उहाँले त्यो गीत गाउनुहुन्थ्यो। केही संगीत जुन केही समय सुनिसकेपछि अघाइन्छ त्यस्ता गीत गाउनुभएन र, अर्को कुरो जहिले पनि गीतमा नयाँपन खोज्नुहुन्थ्यो।'

नारायणगोपालको अर्को बानी थियो 'गीतहरुको छनोट गर्दा हरेकसँग फरक शैली गीत खोज्ने' दिनेश भन्छन्, 'किनभने नारायणदाइले हरेकसँग फरक किसिमको अनुभव हुन्छ भन्ने बुझ्नुभएको थियो।'  

नारायणगोपालको गीतमा साहित्य स्तरियता र फरक शैलीको गीत छनोटले नै उनलाई स्वर सम्राट बनायो। यसै कारण नारायण गोपाल थोरै गीत गाएर पनि ठूलो उचाइ लिने गायकमा दरिए।

मितहरुको लभ हेट रिलेसन!

नारायणगोपाल र गोपाल योन्जनबीचको साइनो मितज्यूको थियो। त्यस समयका यी दुई मितहरुका मनमा एक अर्काप्रति फाटो आयो भन्छन् दिनेश, 'पछिल्लो समय कुन्नि के कारणले हो उहाँहरुबीच सम्बन्ध राम्रो भएन। तर मेरा लागि त दुबैजना उत्तिकै थिए।'

उनीहरु एकअर्कासँग टाढा भएपनि एकअर्काको कला र गलाको भने तारिफ गर्थे। दिनेश ती मितहरुले बारम्बार एकअर्काको तारिफ गरेको सम्झन्छन्, 'गोपाल योन्जन भन्नुहुन्थ्यो,'यो गीत मेरा मितज्यूले गाउने हो भने कस्तो हुन्छ।' अनि नारायण दाइले पनि कतिपय सन्दर्भमा भन्नुभएको छ 'यो गीतमा मितज्यूको संगीत हुने हो भने कस्तो हुन्थ्यो।'

उनीहरुबीच लभ र हेटको रिलेसन रह्यो। तैपनि उनीहरुले एकअर्काको अभाव महसुस गरिरहेका थिए भन्छन् दिनेश, 'उहाँहरुले एकअर्काको अभाव महसुस पनि गरिरहनुभएको थियो र एकअर्काको क्षमताको पनि प्रशंसा गर्नुहुन्थो।'

नारायणगोपाल र अहिलेको नेपाली सुगम संगीत

नारायणगोपालका पालामा सर्जकहरु गीतसंगीतमा, साधना र समर्पण हुन्थ्यो। त्यतिबेलाका गायक संगीतकार समर्पणका र साधनाका हिसाबले लागेका देखेको अनुभव छ दिनेशसँग। तर, अहिले गीत संगीतमा व्यवसायिकता आएको छ। 

तर अहिले हामीले नारायणगोपालकै मात्र नाम जपिरहनु हुन्न भन्छन् दिनेश, 'हामीले पछाडि फर्केर नारायण गोपाल, गोपाल योञ्जन, तारादेवीका कुरा गरिरह्यौ भने हामीले आफ्नो भविष्य अँध्यारो पार्दै हुन्छौं।' त्यतिबेला र अहिलेको फरक प्रतिस्पर्धामा रहेको भनाइ छ दिनेशको, 'नारायण गोपाल दाइहरुका पालमा २५ जनाका बीचमा प्रतिस्पर्धा गर्थे भने अहिले ५०० जनाका बीचमा प्रतिस्पर्धा भइरहेको छ।'

अहिलेको पुस्ता नारायणगोपालभन्दा अगाडि पुगोस् भन्ने चाहना छ दिनेशको। 'नारायणगोपाललाई सम्झिनुपर्छ श्रद्धाका, उहाँले गरेको योगदानका आधारमा। सिर्जना डेलिभरी गर्ने आधारमा उहाँलाई खोजेर पाइदैन' उनी त्यसका लागि उनीहरुलाई खोजिराख्न हुन्न भन्छन्। 'अहिले नारायणगोपाल, तारादेवीलाई नै खोजिराख्ने हो भने गीत संगीतको खोला तलाउमा परिणत हुनेछ र त्यहाँ लेउमात्र पाइने छ। सिर्जना नै स्थिर हुनेछ।'

''साहित्यसँग पर बसेर जसले गायन यात्रा अगाडि बढाएको छ उनीहरुको गायन यात्रा दीर्घजीवि हुन्न। 'यो कुरा मैले भनेको हैन नारायणगोपालले भनेको हो। यो कुरा मलाई शत प्रतिशत सत्य लाग्छ।' कवितामा मदन पुरस्कारबाट सम्मानित गीतकार दिनेशले नारायणगोपालको यो कुरा गीतसंगीतमा लाग्नेले मनमा राख्नुपर्ने बताए।

सम्बन्धित सामग्री : नारायणगोपालका यी १० गीत, जो कहिल्यै पुराना भएनन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.