|

पर्सा : नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. सचितानन्द यादवको कुटाइबाट सख्त घाइते श्रीमती सुनिता यादवको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ। सुनिता नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवकी जेठी श्रीमती हुन्।

डा. यादवको कुटाइबाट गम्भीर घाइते भई काठमाडाैंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनिताको शुक्रबार साँझ ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। वीरगन्ज महानगरपालिका २० हरपतगंजकी सुनितालाई चैत ६ गते राती डा. यादवले मार्ने नियतले कुटपिट गरी गम्भीर घाइते बनाएको माइती पक्षको दावी छ। माइतीले नै गम्भीर घाइते सुनितालाई भोलिपल्ट ७ गते अचेत अवस्थामा फेलापारी स्थानीय गण्डक अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए। 

सुनिताको वीरगन्जको गण्डक अस्पतालको आइसियूमा उपचार गराउँदा पनि अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि काठमाडा‌ैं पठाइएको स्थानीय मध्येकै शम्भु यादवले बताए। डा. यादवले तिनै जेठी श्रीमती सुनिताका माइतीले दिएको दाइजोको रकमबाट डाक्टरी पढे पनि दोस्रो श्रीमती ल्याउँदा पनि शान्त रहेकी जेठी श्रीमतीलाई मर्ने गरी कुटपिट गर्नु गलत भएको स्थानीयको तर्क छ।     

मृत्यु भएको खबर अहिले आयो जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक ढकालले बताए। उनले भने, वीरगन्जमा डा. एसएन यादवका नामले चिनिने डा.यादव भने माइती पक्षको जाहेरी पश्चात प्रहरी नियन्त्रणमा छन्।' आइरन तताएर डाम्नेदेखि हदै सम्मको हर्कत गरी निर्घात कुटपिट गरी हत्या प्रयास भएको माइती पक्षको आरोप थियो। सुनिताको मृत्युले माइती पक्षको कुरालाई थप पुष्टि गरी दिएको छ। 

श्रीमतीको हत्या प्रयासको जाहेरी पर्सा प्रहरीमा परेपछि प्रहरीले अनुसन्धानका लागि डा एसएनलाई नियन्णमा लिए पनि बिरामी भएको भनी समकक्षी साथीहरूकै समक्ष उनलाई वीरगन्जको  नारायणी अस्पताल भर्ना गरिएको छ। डा यादव, उनका बाबु नागेन्द्र यादव, आमा आशादेवी र भाइ अचितानन्द यादवविरुद्ध चैत १२ गते नै माइती पक्षले भने हत्या प्रयास गरेको भनी पर्सा प्रहरीमा मुद्दा दायर गराइसकेको छ।

गम्भीर घाइते सुनिताको मृत्युपश्चात भने यो मुद्दा अझ कडा भएर जाने पर्सा प्रहरीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.