|

जाजरकोट : कारागारमा जेल जीवन विताइरहेका दर्जनौं कैदी किताव पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन्। विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदी अहिले कारागारभित्रै सीप सिकेर आर्यआर्जनमा व्यस्त हुन थालेका छन्।

कारागारभित्रै उनीहरू साथीहरूसँग रमाई रमाई बिभिन्न घरेलु वस्तुहरू निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने गरेका छन्। क्षमता अनुसारको सीप सिकेर अहिले कारगारभित्र कमाइरहेका कैदी दीर्घबहादुर नेपालीले बताए। उनले भने, 'हामी तीन दर्जन साथीहरू, एक आपसमा मिलेर घरेलु वस्तु उत्पादन गरिरहेका छौँ। कैद भुक्तानी भन्दा पनि कारखानामा काम गर्न आए जस्तो भएको छ।'

दीर्घ जस्तै  कारागारमै दलबहादुर लुहार दराजको डिजाइन गराउँदै अन्य साथीलाई काममा लगाउँछन्। दीर्घ भन्छन्, 'दराज र टेवुल बनाउँने काममा व्यस्त मात्र होइन नयाँ, नयाँ डिजाइन दिएर बजारमा हामीले उत्पादन गरेका वस्तुको माग बढाउने कुरा सोच्ने गरेको छु।' दैनिक कारागारमा इच्छा अनुसारका पटुका, पछ्यौरा, झोला, टोपी उत्पादन हुने गरेका छन्।

कारगारका कैदीबन्दीले मुढा, फेरे, मफलर, स्विटर, झोला, डाइनिङ टेबुल, दराज, सल, टोपी, लिउ, लेस र डालीलगायत दर्जन बढी घरेलु सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन्। धागो, ऊन, बाँस, चोयो, काठ, प्लाइउड, प्लास्टिक डोरी, भेँडा बाख्राको ऊनलगायत कच्चा पदार्थको प्रयोगबाट विभिन्न घरेलु सामग्री निर्माण हुने गरेको कैदीबन्दी बताउँछन्।

कारागारमा कैदीबन्दीले निर्माण गरेका सामग्रीमध्ये मुढा तीन सयदेखि एक हजार तीन सय, डाइनिङ टेबुल १५ हजार, टोपी पाँचसय, डाली पाँच सयदेखि ९ सय रुपैयाँमा बिक्री हुने गरेको छ । त्यस्तै सल एक हजारदेखि एक हजार पाँच सय, लिउ पाँच हजारदेखि १० हजार र झोला पाँच सयदेखि एक हजारसम्ममा बिक्री हुने गरेको जेलर तेजवित्रम शाहले बताए। कारागारमा उत्पादन हुन थालेपछि खलंगा बजारका स्थानीयले नेपालगन्ज, सुर्खेत लगायत बजारबाट आपूर्ति हुने मुढा किन्न छाडेको जेलर शाहको भनाइ छ । 

जेल जीवन भन्न वितिकै दिक्क लाग्दो होला भनेर सोच्ने कुनै समय थियो होला, अहिले सीप सिकेर उद्यमी बन्ने र जीवन निवाह गर्ने आधार तय गर्ने स्थान भएको बन्दी पौरख मल्लले बताए। कारागारमा विभिन्न थरिका किताव राखिएको छ, पढ्न, लेख्न जान्ने साथीहरू पढ्दै ज्ञान आर्जन समेत गरिरहेका छन्। मल्लले थपे,'अहिले नयाँ, नयाँ किताव बजारमा आउने वितिकै कारागारमा पुग्ने र बाहिरबाट साथीहरूसँग भएका किताव मागेर समेत पढ्ने गरिएको छ।' 

अर्का कैदी नीमबहादुर सिंहले भने, 'जेलभित्र उत्पादन गरेका वस्तुहरू बिक्रीबाट मासिक रुपमा सात हजार भन्दा बढी कमाइ हुने गरेको छ। घरमा हुँदा नसिकेकका सीप कारागार आएपछि सिकेको  छु।' बजारमा आफूहरूले उत्पादन गरेका वस्तुहरूले उचित स्थान नपाएको कैदीको गुनासो रहेको छ। जेलभित्र तालिमको व्यवस्थासँगै उत्पादन गरिएको वस्तुको बजारीकरणमा सहयोग भएमा अझै राम्रो गर्न सकिने कैदीले बताएका छन्।

‘स्रोत-साधनको अभावका कारण कैदीबन्दीले सोचेजस्तो सामग्री उत्पादन गर्न समस्य परेको बताएका छन्। २० जनाको क्षमता भएको कारागारमा अहिले ५७ कैदीबन्दी छन्। नयाँ भवन निर्माण भइरहेकाले छिटै त्यहाँ सारेर आर्यआर्जनका कामलाई व्यवस्थित गरिने कारागार प्रशासनले जानकारी दिएको छ। कारागारका कैदीका लागि नयाँ सीप सिक्नका लागि व्यवस्थापन गरिनुपर्ने माग समेत उठेको छ।                                

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.