थाहा संवाद

'तीनै तहको सरकारले कर लगाउनुहुन्‍न'
SHARES

चैत १८, २०७५

    दैलेख :  कर्णाली प्रदेशअन्तर्गत पर्ने एक पहाडी जिल्ला हो दैलेख। भैगोलिक रूपमा विकट रहे यो जिल्लामा उद्योग कलकारखानाको सम्भावना उच्च रहेको छ। यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू नारायण नगरपालिका, दुल्लु, नगरपालिका, गुराँस गाउँपालिकाको रानी मत्ता,नौमुलेबजार, भगवतीमाई गाउँपालिकाको वेस्तडा बजार, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वर बजार, ठाँटिकाट र रामघाट बजार रहेका छन्।

    जिल्लामा तीव्र रूपमा होटेल, लज र व्यापारिक केन्द्रहरू निर्माण भइरहेका छन्। जिल्लाको ठाँटीकाँध गाउँपालिकाको जौचौरको पहिरोमा तामा र फलामको खानीहरू पुरिएको भन्ने भनाइ रहेको छ। दैलेखमा चुनढुङ्गा र अभ्रखका खानी छन् भन्ने वैज्ञानिकहरूको भनाइ रहेको छ।

    उद्योग स्थापनाको सम्भावना भए पनि अहिलेसम्म यहाँ ठूला उद्योग स्थापना भएका छैनन्। मुलुक संघीय संरचनामा गएपश्चात् दैलेख जिल्लामा व्यापारको अवस्था विस्तारै खस्कँदै गएको देखिन्छ। यस परिवेशमा दैलेख उद्योग वाणिज्य संघले के–के काम गरिरहेको छ? उद्योग र उद्योगीका समस्या के कस्ता छन्? यिनै विषयमा केन्द्रित रहेर दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विकसँग थाहा खबरकर्मी उदयराज अधिकारीले गरेको कुराकानी :

    उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेपछि के कस्तो काम गर्नुभयो?

    २०७४ फागुन २७  गते म उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएँ। निर्वाचनमा हामीले १४ बुँदे घोषणापत्र पनि बनाएका थियौँ। त्यही घोषणापत्रअनुसार मैले काम गरिरहेको छु।

    मेरो स्वास्थ्यको कारणले अपेक्षित रूपमा काम गर्न सकिनँ। म आफैँ जिल्लामा नभएका कारण केही कमीकमजोरी भए होलान्। त्यसलाई सुधार्दै लैजाने छौँ। जिल्लामा उद्योग व्यापारका पक्षमा साथीहरू क्रियाशील नै रहनुभएको छ।

    दैलेखका व्यवसायी र व्यवसायकोको प्रवर्द्धनको लागि के काम गर्नुभयो?

    सदियौँदेखि धार्मिक तथा पर्यटकीयस्थलको रूपमा रहेको क्षेत्रलाई उत्खनन गर्नेबित्तिकै पेट्रोल दुई वर्षसम्म पनि ननिस्कने भए यहाँको ऐतिहासिकता अस्तित्व हराउँछ। लगानीअनुसारको प्रतिफल नआउन सक्छ। यसतर्फ पनि राज्यले सोच्न जरुरी छ।

    दैलेख बजारमा मात्र नभई दैलेख जिल्लाभर व्यापारमैत्री वातावरण बनाउने काम गरिरहेका छौँ। हामी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यले उद्योग वाणिज्य संघले संघीय महासंघको नीति निर्देशनअनुसार तिनै तहका सरकारसँग सहकार्य गरेर व्यापारी,उद्योगीको हकहितमा लागि रहेका छौँ। पहिले जिल्लामा मात्रै उद्योग वाणिज्य संघथियो। अहिले ११ वटै स्थानीय तहमा उद्योग वाणिज्य संघको शाखा विस्तार गरेका छौँ। यसबाट उद्योग व्यवसाय क्षेत्रका समस्या पहिचान गरी समाधान गर्न सहयोग मिल्नेछ। यहाँ उद्योग व्यवसायको विकास तथा विस्तारका लागि प्रतिबद्ध भएर अगाडि बढेका छौँ।

    नयाँ स्थापना गरिएका शाखामा सम्पूर्ण सेवा सुविधा पुर्‍याउन सकिएको अवस्था भने छैन। उद्योगी व्यवसायीहरूलाई समस्या परेको ठाउँमा उनीहरूको हकहितको लागि मात्र नभई सबै ठाउँमा सहयोग गर्न संघतयार रहेको छ। संघको उद्देश्य पनि व्यापारीहरूलाई कुनै किसिमको समस्या नहोस् भन्ने पनि हो।

    दैलेख  जिल्लामा किन उद्योग स्थापना हुन सकेका छैनन्?

    एकदम सान्दर्भिक प्रश्न। यहाँ उद्योग स्थापना भएका छैनन्। यसमा उद्योग वाणिज्य संघको मात्र कमजोरी छैन। संघीय, प्रदेश, स्थानीय सरकार सबैको कमजोरी छ। उद्योगको लागि भौतिक पूर्वाधार महत्वपूर्ण हो। सरकारले सडक, विद्युत, खानेपानीलगायत समुचित ध्यान दिएको छैन। यस्तो अवस्थामा एकाएक उद्योग खुल्ने होइन। भौतिक पूर्वाधारका लागि हामीले पहल गरिरहेका छौँ। बाहिरबाट लगानीका लागि आउनेले पहिले पूर्वाधार विकास हेर्ने हो।तर, यहाँ आइपुग्ने जोकोही पनि बाटो देखेरै आत्तिनुपर्छ। यहाँ उद्योगका लागि लगानीमैत्री वातावरण पनि छैन।

    दैलेखमा उद्योगको अवस्था कस्तो ?

    उद्योगको अवस्था एकदमै नाजुक छ। व्यवसाय गर्न लगानी चाहिन्छ। बैंकले जुन किसिमले लगानी गर्नुपर्ने हो त्योअनुसार लगानी गरिरहेको देखिएको छैन। बैंकहरूले उद्योग व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याएको जस्तो लाग्दैन। यो व्यवसायमा लगानी गरे भने उन्नति होला भन्ने आत्मविश्वास पनि व्यक्तिमा देखिँदैन।

    तपाईंले भन्न खोजेको बैंकहरूले गाउँमा लगानी गरेनन् भन्ने हो?

    हो। गाउँमा लगानी गरेपछि असुलउपर हुँदैन कि भन्ने आशंका गरेका छन् बैंकहरूले। यो समस्या राष्ट्रव्यापी छ। जसले गर्दा दुर्गमका नागरिक बैंकिङ सेवाबाट वञ्चित हुनुपरेको छ।

    मुलुक संघीयतापछि लगानीमा के कस्तो फरक पर्छ?

    संघीयतापछिको लगानीलाई विश्लेषण गर्ने हो भने सरकारले लगानीका धेरै प्रयासहरू गरेको छ। लगानी सम्मेलनसमेत भएको छ। यो राम्रो र सकारात्मक कुरा हो। तर, संघीयतापछि प्रदेश राजधानी रहेकाबाहेक अन्य जिल्ला सदरमुकामहरूको व्यापार व्यवसाय धेरै खस्किएको अनुभूति भएको छ। संघीयता आउनुभन्दा पहिला जिल्लामा उद्योगी व्यवसायीको उत्साहजनक लगानी र सहभागिता थियो। अहिले त्यो घटेको छ। संघीयतापछि उद्योगीमा व्यवसायप्रति विश्वास घटेको अवस्था छ। 

    तीन तहको सरकार भएपछि सहज होइन। काममा जटिलता थपिएको छ। करमा पनि जटिलता छ। कर प्रणाली पहिलेभन्दा धेरै फरक र जटिल भएको छ। गाउँका निमुखा साधारण जनता करको मारमा छन्। विभिन्न वहानामा कर उठाइएको छ। साना व्यवसायीसमेत यसको मारमा छन्। यो ठीक होइन।

    जिल्ला सदरमुकामको व्यापार ओरालो लाग्दो अवस्थामा छ। जिल्लामा व्यवसाय घटेपछि लगानीकर्ता नआउने भएका छन्। किनकि जहाँ व्यापार हुन्छ त्यहाँ लगानी गरिन्छ। व्यववसाय नहुने ठाउँमा लगानी गर्ने कुरै भएन। संघीय सरकारले यो पक्षमा ध्यान पुर्‍याएर आफ्नो नीति तथा योजना बनाउन आवश्यक छ। 

    स्थानीय र प्रदेशमै सरकार भएपछि वातावरण झन् सहज हुनुपर्ने होइन?

    तीन तहको सरकार भएपछि सहज होइन। काममा जटिलता थपिएको छ। करमा पनि जटिलता छ। कर प्रणाली पहिलेभन्दा धेरै फरक र जटिल भएको छ। गाउँका निमुखा साधारण जनता करको मारमा छन्। विभिन्न वहानामा कर उठाइएको छ। साना व्यवसायीसमेत यसको मारमा छन्। यो ठीक होइन। जनतालाई बोझ थेग्न गाह्यो भएको छ। तीनै तहका सरकारलाई कर तिर्नु परेपछि उद्योग व्यवसायमा लगानी हुनै सक्दैन। यो जटिलताको अन्त्य नगरे मुलुकलाई दीर्घकालमा झनै आर्थिक कठिनाइ आउन सक्छ।

    दैलेखमा विद्युत उत्पादन भएर पनि यहाँ पर्याप्त बिजुली पुगेको छैन नि?

    हो। यसमा पनि मुख्य कमजोरी संघीय सरकारकै देखिन्छ। जुन ठाउँबाट विद्युत् उत्पादन भइरहेको छ। त्यही ठाउँका जनता अँध्यारोमा बस्न बाध्य छन्। अहिले स्थानीय सरकार गठन भइसकेका छन्। यसको समाधान स्थानीय सरकारले गर्छ। दैलेखमै उत्पादन भएको विद्युतको पहिलो हक यहाँकै हुनुपर्छ। दैलेख अँध्यारोमा रहेर यहाँ उत्पादिक विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिनु ठीक होइन।

    सरकारले दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ। यसबाट केही फाइदा लिन सकिन्छ कि?

    केही वर्षपहिले तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे दैलेखमा आउनुभएको थियो। उहाँले भन्नुभएको थियो- सरकारले दैलेखमा रहेको पेट्रोलियम खानीको अन्वेषण तथा उत्खनन गर्छ। सुस्त गतिमा यो पनि यो काम अघि बढेको छ।

    यदि यो काम भएमा दैलेख मात्र होइन मुलुककै अर्थतन्त्रीमा धेरै योगदान पुग्नेछ। त्यसो हुन सके भौतिक पूर्वाधार बन्नेछ। व्यापारीलाई सुपथ मूल्यमा सामान आयत/निर्यात गर्न सजिलो हुन्छ। पञ्चकोशी क्षेत्रमा विकासले पूर्णता पाउँछ। सरकारले पोलेसी बनाएछ भने यहाँका व्यापारी पनि उद्योग/कलकारखानाप्रति आकर्षित हुन्छन्। दक्ष जनशक्तिले आफ्नै जिल्लामा रोजगारी पाउँछन्।

    दैलेखलाई मात्र नभई यसले सिङ्गो राष्ट्रिय अर्थ तन्त्रमा टेवा पुग्ने देखिन्छ। त्यसको हावाले पनि दैलेखको विकास हुन्छ। आशा र अपेक्षा जिल्लावासीले लिएका छन्। अर्को कुरा उत्खनन गर्नुभन्दा पहिले त्यहाँ क्वालिटि कस्तो छ कवान्टिटी कति छ? भनेर प्रमाणित गर्नुपर्‍यो। त्यो हुन सकेको छैन।

    सदियौँदेखि धार्मिक तथा पर्यटकीयस्थलको रूपमा रहेको क्षेत्रलाई उत्खनन गर्नेबित्तिकै पेट्रोल दुई वर्षसम्म पनि ननिस्कने भए यहाँको ऐतिहासिकता अस्तित्व हराउँछ। लगानीअनुसारको प्रतिफल नआउन सक्छ। यसतर्फ पनि राज्यले सोच्न जरुरी छ।

    दैलेख महोत्सव पनि गर्नुभयो। यसबाट के फाइदा भयो?

    महोत्सवको मुख्य उद्देश्य दैलेखमा रहेका पर्यटकीय क्षेत्र, मठमन्दिर तथा लुकेर रहेका सम्पदाको प्रसार–प्रचार गर्नु थियो। यसमा सफलता मिलेको छ। लुकेर रहेका कलाहरू बाहिर आएको छ। हराउँदै गएको संस्कृतिको जगेर्नामा पनि सहयोग पुगेको छ। अर्को संघीयतापछि सदरमुकामको व्यापार खस्किँदो अवस्थामा थियो। महोत्सवले व्यापारमा केही फाइदा पुगेको छ। संघको भवन विस्तार गरी सिटिहल बनाउन सहयोग पुगेको छ।

    दैलेख महोत्सवले पर्यटन प्रवर्द्धनमा कस्तो सहयोग गरेको जस्तो लाग्छ?

    महोत्सवले दैलेखको पर्यटन प्रवर्द्धन निकै ठूलो सहयोग पुगेको छ। काठमाडौंलगायत देशका विभिन्न ठाउँबाट पर्यटकहरू दैलेख आएका छन्। नेपाली भाषाको अभिलेख हेर्न पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको छ।

    आगामी दिनमा दैलेखमा उद्योग व्यवसायको विकास र विस्तारको संभावना कस्तो छ?

    सम्‍भावना छ। नभएको होइन। तर, पूर्वाधार भने राज्यले बनाइदिनुपर्छ। व्यवसाय प्रवर्द्धन गर्नका लागि जिल्लाका बैंकहरूसँग पनि सहकार्य गरेर अगाडि बढिरहेका छौँ। उहाँहरूले कस्ता खालका व्यक्तिहरूलाई कस्तो व्यवसायमा लगानी गर्दा बैंक घाटामा जाँदैन र आर्थिक उन्नति पनि हुन्छ भन्नेमा ध्यान दिन जरुरी छ। ग्रामीण भेगका गरिब जनाताको जीवनस्तर सुधार्न गर्न सकिने कामबारे बैंकहरूसँग छलफल गरिसकेका छौँ। बैंकहरू सहकार्य गर्न तयार भएका छन्। लगानीमैत्री वातावरण बनाउन क्रियाशील छौँ।

उदयराज अधिकारी

अधिकारी थाहाखबरका दैलेख संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]