|

काठमाडौं : सरकारले मंसिर १४ गते संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि प्रतिपक्षी नेकपा एमालेले सदन र सडकबाट आन्दोलन सुरु गर्‍यो। तर यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली मौन थिए। उनको मौनता आइतबार टुटेको छ। एमाले प्रचार विभागद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ओली प्रधानमन्त्री दाहाल प्रचण्ड विरुद्ध खनिए र आफू बुढेसकालमा ब्रह्मचारी बिग्रिएजस्तो नहुने जनाए। उनले विदेशीलाईसमेत मर्यादाको पाठ पढाए।

ब्रह्मचारीको कथा

एमाले अध्यक्ष ओलीले यसरी सुनाए कथा: एउटा गाँउमा एक एउटा ब्रह्मचारी थिए। सानैदेखि उनीले ब्रह्मचारी हुने बाटो लिएपछि गाउँलेले उनलाई कुटी बनाइदिए। वर्षैपछि कुटीमा एकजना गुरुआमा पनि आइपुगिन्। पूजाआजा गर्दै तिनी त्यहीँ बसिन्। गाउँलेहरु सँधै कुटीमा पुग्ने फूल, प्रसाद लाने गर्दथे। यसैक्रममा ती ब्रह्मचारीकोको उमेर ८० नाघिसकेको थियो। एक दिन विहानै कुटीमा फूल, प्रसाद लिएर पुगेका गाउँलेलाई ब्रह्मचारीले अबदेखि फूल, प्रसाद लिएर कुटीमा नआउन भने। गाउँलेले किन भनेर सोध्दा ब्रह्मचारीले भने- म अब ब्रह्मचारी रहिन। कुरो बिग्रिसक्यो।

ओलीले प्रश्न गरे 'त्यही बाटो लाग्नु थियो भने किन २० वर्षमै नहिडेको? जवानीमै गरेको भए हुन्थ्यो नि।' ओलीले राष्ट्रिय राजनीतिमा आफूलाई जोड्दै भने: म १४ वर्ष जेल परे। के को लागि? म आन्दोलन होमिए। किन? धेरै दु:ख कष्ट झेल्नुपर्‍यो। कसका लागि? देशका लागि। यो सबै पार गरेर यहाँ आइसकेको मान्छेले अब देशलाई धोका दिन मिल्छ? देशलाई हेर्नुपर्छ। राष्ट्रहितबाहेकको कुरामा सम्झौता गरिन्न। ब्रह्मचारी जस्तो होइन जवानीमै त्यस्तो गरेर आफ्नो जीवनमा पहिल्यै सुख ल्याउन सकिन्थ्यो। अब मुलुकलाई घात गर्ने काम हुँदैन। गरिँदैन। देशलाई अप्ठेरो पर्दा कछुवाजस्तो टाउको लुकाउने काम गरिन्न।

प्रचण्ड वितण्डकारी

करिव सवा घण्टाको कार्यक्रममा एमाले अध्यक्ष ओलीको निशाना थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।

उनले प्रधानमन्त्री प्रचण्डलाई सबैभन्दा उदण्ड भएको आरोप लगाए। उनले भने- प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई प्रधानमन्त्रीले वितण्डा भनेका छन्। बुटवलमा भएको भेलालाई उनले वितण्डा भने। आफ्नो प्रदेश नटुक्रयाउन शान्तिपूर्ण प्रदर्शन गरेका जनतालाई वितण्डा भन्ने। बुटवलमा बम हानिएको त होइन नि? मान्छे मारेको त होइन नि? यो मुलुकको सबैभन्दा ठूला वितण्डकारी प्रचण्ड नै हुन्। उनकै कारण मुलुकमा जातीय सद्‍भाव बिग्रिएको हो।

उनले सरकारले चुनाव गराउने मनसाय नराखेको आरोप लगाए। ओलीले भने- अहिलेसम्म चुनावका लागि सिन्को बराबर काम भएको छैन। अहिलेको संविधान संशोधन चुनावका लागि नभएर यसलाई टार्नका लागि हो। यसपछि अरु प्रदेश पनि फेरबदलको कुरा उठछ। यो कुरा सरकारकै मानिसहरु भनिरहेका छन्।

उनले सीमाकंन हेरफेरको कुरा असंवैधानिक हुने बताए। उनले भने- यो संविधानले रुपान्तरित संसदलाई सीमांकन हेरफेर गर्ने अधिकार दिएको छैन।

छिमेकीसँगको कुरा

एमाले अध्यक्ष ओलीले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप नगर्न छिमेकीहरुलाई आग्रह गरे। उनले भने- सके हामीलाई सहयोग पुर्‍याउनुस्। नत्र गिजोल्ने काम नगर्नुस्। कसरी मिलाउने र मुलुक चलाउने त्यो हामी गर्छौं। तर जथाभावी नगर्नुस्।

उनले कुनै मुलुकको नाम भने नलिइकनै विदेशीलाई प्रश्न गरे- नेपालको कुनै निर्णय वा कदम तपाईंहरुको अहितमा छ। न्यायपूर्ण छैन भने देखाइदिनुस्। होइन भने हामीलाई आफ्नो काम गर्न दिनुस्।

के गर्छ एमालेले?

ओलीले अब एमालेले चाल्ने कदमबारे स्पष्ट गरेनन्। तर संविधान संशोधन विधेयक मान्य नहुने र यसलाई सरकारले फिर्ता लिनुपर्ने मान्यता नघुमाइकन राखे। ओलीले भने- मुलुकलाई सहमति चाहिएको छ। एकताका लागि एमाले लचिलो हुन तयार छ।

अरु के के भने?

  • प्रधानमन्त्रीमा कांग्रेस सभापति सुशील कोइरालाको उम्मेदवारी परेपछि मुलुकमा सहमतिको वातावरण विग्रियो।
  • सुशील कोइरालाका पालामा ४७ जना तराई आन्दोलनमा मारिए तर मधेसी दलले उनैलाई भोट किन दिए?
  • मधेस आन्दोलन भनिन्छ। कहाँ छ आन्दोलन? मेरो पालामा तराईमा मत्थर भएर काठमाडौं आएर दुईचार दिन दोहोरी गाएपछि आन्दोलन सकिएको हो तराईको। तर मधेस आन्दोलन र मधेसका मुद्दा भनेर अझै किन भनिँदैछ।
  • अहिले पनि जनसंख्याकै आधारमा निर्वाचन क्षेत्र छ। कर्णालीका पाँच जिल्लामा पाँच जनामात्र प्रतिनिधि, तराईका ८ जिल्लामा त्यसको पाँच गुणाभन्दा बढी किन त? झापामा ७ मात्र निर्वाचन क्षेत्र तर सुदूरपश्चिमका ९ जिल्लामा २०-२१ निर्वाचन क्षेत्र के का आधारमा गरियो त? के झापामा धान बढी फल्ने भएर हो?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.