|

रोल्पा : पूर्वी रोल्पाको घोडागाउँ-४ बरनेटामा रहेको जनएकता आधारभूत विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थी दलित समुदायका रहेका छन्। 

विसं २०६५ मा स्थापना भएको सो विद्यालयमा हाल ७१ छात्रासहित १ सय ३२ विद्यार्थी सबै दलित समुदायको रहेको विद्यालयका शिक्षक तुलसी सुनारले जानकारी दिए। 

सरकारबाट तलब सुविधा पाउने एक गैरदलित शिक्षक रहेका छन् भने निजी स्रोतबाट तलब सुविधा पाउने बाँकी चार जना शिक्षक सबै दलित समुदायकै रहेका छन्।

विद्यालयमा गठित विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारी दलित समुदायका रहेको शिक्षक सुनारले बताए। एक जना शिक्षक र बाल विकास सहजकर्तालाई सरकारले तलब सुविधा दिने भए पनि बाँकी शिक्षकलाई भने तिहारमा भैलो खेलेर सङ्कलन गरिएको रकम तथा गाविसले दिने सामान्य अनुदानबाट व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले बताए। 

विद्यार्थीको अत्यधिक चाप भए पनि सरकारले सङ्ख्या अनुसारको दरबन्दी व्यवस्था नगरिदिँदा समस्या भएको नेपालीले गुनासो गरे। 

विद्यालय स्थापनापश्चात् दलित समुदायले सानै उमेरमा छोराछोरी विद्यालय भर्ना गर्न लागेको स्थानीय भरत नेपालीले बताए। उमेर छिप्पेपछि मात्र छोराछोरी विद्यालय पठाउने स्थानीय दलितले विद्यालय स्थापना भए पछि भने तीन वर्षकै उमेरदेखि विद्यालय पठाउन थालेका छन्। 

विभिन्न सङ्घ संस्थाको सहयोगमा विद्यालयले खानेपानी, शौचालय र भवनको व्यवस्था गरेको भए पनि फर्निचरको भने समस्या रहेको प्रधानाध्यापक सुनारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.