|

पर्सा : आइतबार अबेरसम्म गएको हावाहुरीबाट वीरगन्जका विभिन्न अस्पतालमा ल्याएका बिरामीमध्ये १३ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बारा पर्सा दुवै जिल्लाका छन्। पर्साको भने वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका १८ बर्षीय सरोज राम रहेका छन् भने बाँकी सबै बारा जिल्लाका रहेका छन्। पर्सामा भने अहिलेसम्म तिनै सरोज राम एकजनाको मात्र ज्यान गएको पुष्टि भएको छ। बाँकीको भने अहिलेसम्म कुनै खबर नआएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

 पर्साको वीरगन्ज महानगरपालिका नजिकैको बाराको फेटा गाउँपालिकाका भलुही भर्वलिया, प्रसौनी लगायतका ठाउँबाट धेरै घाइतेहरू वीरगन्जका अस्पतालमा उपचारका लागि ल्याइएका छन्। जसमध्ये नारायणी अस्पतालमा ल्याइएका फेटा गाउँपालिकाका नन्दलाल पटेल, वर्ष ४५ की मनोरमा देवी, वर्ष ५५ का हरिनारायण दास, वर्ष २४ की रुवी देवी, बाराको प्रसौनीका ५५ वर्षीय अच्छेलाल माझी रहेका छन्। त्यस्तै वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारको लागि ल्याइएका मध्ये बारा भलुही भर्वलिया की वर्ष ५५ की गढिया देवी, फेटा गापा पुरैनियाकी रुवी खातुन, बाराको इटाभट्टीमा काम गर्ने बर्ष ४० का रामजीत माझी उनका नाती ४ बर्षीय सुरज माझी रहेका छन्। त्यसै गरी वीरगन्जको वीरगन्ज हेल्थ केयर हस्पिटलमा पनि बाराकै २ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्यकर्मीले बताए । उनीहरूको भने पहिचान हुन नसकेको बताइएको छ ।  

बारा र पर्साबाट हावाहुरीको कारण घाइते भएर अस्पतालहरुमा आउनेको ठूलो संख्याका कारण वीरगन्जका नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, वीरगन्ज हेल्थ केयर हस्पिटल, गण्डक हस्पिटल, एएमसी हस्पिटल लगायतका अधिकांश हस्पिटल खचाखच भरिएका छन्। वीरगन्जको नारायणी अस्पतालमा मात्र एक सय २५ जना जति सेवा लिन आइपुगको  चिकित्सकहरुले बताएका छन्। सेवा लिन आएका मध्ये अझै ३५ जनाले सेवा लिइरहेको चिकित्सकहरुले बताएका छन्।

 जस मध्ये ४ जना नारायणी अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि बाहिर पठाइएको चिकित्सकहरुले बताए। त्यस्तै वीरगन्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा २०० भन्दा बढिले उपचार लिन आएको त्यहाँका व्यवस्थाक फिरोज अहमदले बताए। उपचार लिन आएका मध्ये ५ जनाको मृत्यु भइसकेको उनको भनाइ छ। यता हावाहुरीका कारण विद्युतको दर्जनौं पोलहरु ढलेको कारण आइतबार साँझबाट नै अवरुद्ध विद्युत सेवा अझै बन्द नै छ।

यो पटकको हावाहुरीले बाराको भलुही भर्वलिया भन्ने ठाउँ सबैभन्दा बढि प्रभावित भएको र त्यहाँका १५⁄२० वटा पक्का घर समेत ढलेको स्थानीय प्रेमचन्द्र मण्डलले बताए। बारामा एउटा ईटाभट्टि समेत भत्कँदा ४ जना श्रमिकहरुको मृत्यु भइसकेको उनको भनाइ छ। बाँकी कति जना च्यापिएका छन् र क्षति के कति भएको छ ? भन्ने एकिन् हुन नसकेको उनको भनाइ छ।

उता बारा, पर्साका प्रहरी प्रशासन भने हहिले उद्दार कार्यमा जुटेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए। बाटोको अवरोध हटाउने, भत्को घरहरुले कसैलाई किचेको छ की ? उत्खनन् गर्ने ? जस्ता उद्धारका काम भइरहेका छन्। प्रहरी प्रशासनले तत्काल घरवार विहिन भएका मानिसहरुलाई खानाको व्यवस्था गर्ने, दाताहरु पहिचान गरी मानव सेवामा लाग्ने मानिसहरुसँग सहकार्य गरी तत्काल नगरी नहुने खालका गाँस बासँ र कपासका बारेमा जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी अवरुद्ध विद्युत सप्लाई कम्तीमा अस्पतालहरुमा पुयाउन पहल भइरहेको उनको भनाइ छ।

केन्द्र सरकार, प्रदेश सरकार र सबै स्थानीय सरकारहरुसँग समन्वय गरी आवश्यक सबै प्रकृया अपनाउने काम भइरहेको छ। हावाहुरीका कारण घर भत्केर लागेका, किचेका वा विद्युतका पोल, गाडी आदि ढल्दा लागेर शक्त घाइते भएकाहरुलाई सघन उपचारका लागि पठाउन पनि माथि समन्वय गरी हवाई सेवाका लागि पनि पहल गरिएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ। प्रभावित क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरू पनि आउने कुरा भइरहेको छ । त्यसको लागि पनि आवश्यक समन्वय हुँदै छ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने। प्रधानमन्त्री सिमरामा प्लेनबाट आएपछि थप के गर्ने भन्ने कार्यक्रम तय हुन्छ। आउने कुरा चाही हुँदैछ। प्रहरी प्रसाशन त आइतबार साँझबाट नै परिचालित भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.