|

काठमाडौं : हातमा राता झण्डा, पिठ्यूँमा किताब बोकेका विद्यार्थी र युवाहरु लैनचौरमा चर्का नारा र गीत गाइरहेका थिए। लैनचौर चोकबाट भारतीय राजदूतावास जाने बाटोको मुखमा प्रहरीले काँडे तार लगाएको थियो। 

त्यो काँडेतारको अगाडि रहेर ती विद्यार्थी नारावाजी गरिरहेका थिए। विद्यार्थीलाई लैनचौर पुर्‍याएको थियो नेकपा एमालेका भातृ संगठन अनेरास्ववियु र युवा संघले। साथमा थिए जनमोर्चा नेपाल र नेकपा मालेका युवा भातृ संगठनहरु।

केही युवाले नारा भट्याइरहेका युवालाई काँधमा चढाइरहेका थिए भने अन्यले उनलाई पछ्याइरहेका थिए। ती युवाले यस्तो नारा लगाइरहेका थिए,

बाउले गाली गरे नी, सडकैमा मरेनी

तातो गोली खाइन्छ, सिंगो नेपाल चाहिन्छ

उनीहरुको नाराको अर्को विषयले भने नेपाली भाषा र भेषका कुरालाई बोलिरहेको थियो। 'हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ' नारा लगाएका उनीहरुले नेपालका लागि भारतीय राजदूत रञ्जित रे विरुद्ध भारतीय राजदूतावास नजिकै चर्को नाराबाजी गरे। उनीहरुले रञ्जित रे ले कुटनीतिक मर्यादा विपरीत काम गरेको भन्दै नेपाल छाड्न आग्रह गर्दै थिए। त्यहीँ अर्को नारा पनि लाग्यो - रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो, ज्यूँदो रगतसरी यो बल्दो यो शान हाम्रो।

युवा र विद्यार्थीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध पनि चर्को नाराबाजी गरे। प्रधानमन्त्री प्रचण्डले भारतीय इशारामा संविधान संशोधन गर्न लागेको आरोप लगाउँदै उनीविरुद्ध आक्रोश पोखिएको थियो। प्रचण्डको साथ दिएको भन्दै विद्यार्थीको आक्रोशको तारोमा परेका थिए नेपाली कांग्रेस सभापति शेरबहादु देउवा।

कुटनीतिक मर्यादामा बस या फिल्म बनाइदिन्छौं चंखेको रोल खेल

नेपालका लागि भारतीय राजदूतावासले नेपाल सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको ४ दिनपछि विज्ञप्ति निकालेर उक्त कदम सही भएको बताएको थियो। दूतावासमा शनिबार मधेसी मोर्चाका नेताहरुसँग लञ्च मिटिङमा राजदूत रे ले संविधान संशोधनको पक्षमा उभिन आग्रह गरेको समाचार पनि सार्वजनिक भएको थियो। 

यिनै घटनाक्रम जोडेर भारतीय राजदूत रञ्जित रेविरुछ आक्रोशित थिए युवा संघका अध्यक्ष राजीव पहारी। उनले रे ले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएकोमा खबरदारी मात्रै गरेनन् बरु भारतको काश्मिर समस्या समाधान गर्न र भारतीय संविधानमा अल्पसंख्यक जनताको अधिकारका लागि संशोधन हाल्न सुझाव दिए।

पहारी चेतावनी र सुझाव दिएर मात्रै रोकिएनन्, उनले भने 'रञ्जित रे लाई बढी नै खेलोमेलो गर्न मन छ भने हामी फिल्म बनाइदिन्छौं त्यसमा चंखेको रोल दिन सक्छौं।' पहारीले मधेसी मोर्चाका नेताहरु विरुद्ध पनि कडा टिप्पणी गरे। 

अनेरास्ववियू अध्यक्ष नविना लामाले भारतीय राजदूतले नेपालको संविधान संशोधनको बारेमा अनावश्यक चिन्ता गर्नुभन्दा आफ्ना जनतालाई अधिकार सम्पन्न गर्न सुझाव दिइन्। भारतीय राजदूत रञ्जित रे लाई कुटनीतिक मर्यादा उलंघन नगर्न बरु आफ्नो काममा लाग्न उनको सुझाव थियो। उनले भनिन्, 'भारतीय राजदूतलाई सोध्न चाहन्छु, तपाईका जनतालाई अधिकार सम्पन्न गर्ने गरी भारतको संविधान कहिले संशोधन हुन्छ?' 

झन्डै आधा घण्टाको नारावाजीपछिको कोण सभालाई अनेरास्ववियू पाचौंका उपाध्यक्ष मिनकुमार सिवाकोटी, अखिल नेपाल युवक संघका प्रतिनिधि तिलक थापा, नेपाल क्रान्तिकारी युवक संघका निरज लवजुले सम्बोधन गरेका थिए। उनीहरुले रञ्जीत रे ले गत वर्ष नाकाबन्दीमार्फत र यो वर्ष संविधान संशोधनमार्फत दबाब दिएर नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि धावा बोलेको धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.