|

उहिले हामीले कक्षा दशमा लाटोबुंगोको कथा पढेका थियौँ। ढंग नजान्ने हुनाले जहिले पनि त्यो कुटाइ मात्र खान्थ्यो। अहिले आफूलाई नेता भन्नेहरूको ताल ठ्याक्कै त्यही लाटोबुंगोको जस्तो छ। नेपालका ठुला नेताहरू ब्रह्माजी हुन् कि राजनेता हुन् अहिले छुट्याउन गाह्रो हुन थालेको छ। कोही भन्छन्, यो संघीयता फालौँ र हिन्दु राष्ट्रको पुुनस्थापना गरौँ। कोही भन्छन्, हामीसँग संघीयताको सहमति भएको थिएन। संघीयतापछिको  प्रतिनिधिसभाको मिठाई खाइसकेकाहरूले अब यसरी बोल्न मिल्दैन। हुन त नेपाल राजनीतिक संस्कृति र संस्कार भएको देश होइन। तर पनि राजनीतिको न्युनतम मर्यादा त राखिनु पर्छ नि! जहिले जे मन लाग्यो त्यही बोल्ने अनि त्यो काम हुनै पर्छ भनेर कोही आन्दोलन गर्ने, कोही आमरण अनसन यस्तो पनि राजनीति हुन्छ? 

अहिलेको नेपालमा आफूलाई नेता मान्नेहरू पाँच हजार जति होलान्। तर तिनीहरूको नब्बे प्रतिशतमा नेतामा हुनु पर्ने कुनै गुण छैन। तिनले नेतागिरी दाबी छोडिदिने हो भने नेपाल र नेपालीको ठुलो हित हुन्थ्यो। आज संघीयताको विरोध गर्नेहरूलाई हिजो आफैँले हातखुट्टा काटेर स्थानीय सरकारलाई बुझाएको यथार्थको ज्ञान पनि छैन। अब उनीहरू पञ्चायती र बहुदलीय व्यवस्थाका मालिक जस्ता छैनन्। निरङ्कुश पञ्चायती व्यवस्थाका महारथी र पञ्चायती व्यवस्थाको विरोधी महारथीहरू वर्तमानको राजनीतिमा असान्दर्भिक भैसकेको सत्यलाई सबैले स्वीकार गर्नु पर्छ। अहिले सिंहदरबारमा बसेर शासन गर्नेहरू, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि बोझ भएका छन्। अब सिंहदरबारको अधिकार गाउँ सहरमा गइसक्यो भनेर बोल्ने सबैले नाटक मात्र गरेका छन्। आफैँले बोलेको सत्यलाई आत्मसात् गर्न नसक्नेमा तिनै बुढा नेताहरू मात्र छन्। त्यसैले अहिलेका बुढा विपक्षीहरू त्यही पुरानो सडेगलेको व्यवस्थाको गीत गाइरहेका छन् भने त्यो व्यवस्थाको विरोधमा लागेका बुढाहरू पनि ‘हामीले त पञ्चायती व्यवस्था ढालेका हौँ, अहिले त हाम्रो राज हुनुपर्छ भन्ने फोहोरी आहालमा पौडी खेलिरहेका छन्। त्यसैले अहिलेको नेपाली शासन प्रणाली न संघीय हुन सकेको छ, नत पुरानो सडेको प्रणाली हुन सकेको छ। 

युवा अवस्थामा हामीलाई परिवारको चिन्ता थिएन। मरे शही भइन्छ, बाँचे जनताको सेवा गरिन्छ भन्ने सोचबाट माथि उठेका हौँ हामी। त्यो खाली जोस मात्र थिएन। तिनले व्यवहार पनि त्यस्तै भोगेका थिए। तर तिनै जोसिला मान्छेलाई आजभोलि थकाइ लाग्न थालेको छ।

अहिले नेपाल कम्युनिस्ट पार्टीको सरकार छ। त्यो पार्टीका नेतालाई थाहा हुनु पर्ने हो– नयाँ चीनका महान् नेता माओत्सेतुङले पनि बुढेसकालमा एकपछि अर्को गल्ती गरेका थिए। यसो भनेर मैले माओत्सेतुङको अपमान गर्न खोजेको होइन। चिनियाँ सांस्कृतिक क्रान्तिले चीनमा कति भयावह परिस्थिति पैदा गरेको थियो भन्ने ऐतिहासिक सत्य चिनियाँहरूले नै लेखेका छन्। उमेरले डाँडो काटेपछि हिजो असाध्यै राम्रो गरेकाहरूले पनि बुढेसकालमा केटाकेटीले गर्ने खालका गल्तीहरू गर्न थाल्छन्। अहिले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तै गल्ती गरेर अमेरिकालाई विश्वसमुदायबाट एक्ल्याउने गल्ती गरिरहेका छन्। तर सबैतिरबाट तिरस्कार गरिएको उत्तर कोरिया अहिले अमेरिकाको तुलनामा अघि बढिरहेको छ। किनभने त्यहाँको नेतृत्व युवाहरूको हातमा छ। किम जोङ उनको कार्यशैलीको धेरैले प्रशंसा गरेका छन् भने ट्रम्पको बुढ्यौली हठ भियतनाममा फेरि पराजित भएको छ।

राजनीति गर्नेले प्रशंसा भन्दा बढी गाली खानु पर्छ। यो स्वाभाविक कुरा हो। त्यसैले राजनीतिलाई निष्ठा र त्याग-तपस्यासँग जोडिन्छ। युवा अवस्थामा हामीलाई परिवारको चिन्ता थिएन। मरे शही भइन्छ, बाँचे जनताको सेवा गरिन्छ भन्ने सोचबाट माथि उठेका हौँ हामी। त्यो खाली जोस मात्र थिएन। तिनले व्यवहार पनि त्यस्तै भोगेका थिए। तर तिनै जोसिला मान्छेलाई आजभोलि थकाइ लाग्न थालेको छ। उतिबेला १८/२० घण्टा काम गर्ने हामीहरू अहिले ८/१० घण्टा पनि निरन्तर काम गर्न सक्दैनौँ। यसो हुनु कसैका चलाखी या वुद्धिहीनता होइन। यो प्रकृतिको नियम हो। सबैलाई जित्न सकिन्छ तर प्रकृतिको नियमलाई जित्न सकिँदैन। जित्ने भए कोही मानिसको मृत्यु नै हुने थिएन। एउटा गीत छ नि– मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन। यो प्रकृतिको अन्तिम सत्य हो। जन्मिनु, युवा अवस्थामा साहसिला काम गर्नु, प्रौढावस्थामा सहज प्रकृतिका काम गर्नु (राष्ट्रियसभाको सदस्य जस्तो), बुढेसकालमा आराम गर्नु र अन्तमा शान्तिपूर्वक माटोमा मिल्नु।

काम गर्ने भनेको युवाले हो। पचास वर्षभन्दा मुनिका मानिसले हो। त्यो उमेरसम्म मानिस कुनै पनि खतराको सामना गर्न सक्छ। ६० वर्षमा अवकाश दिने कानुन जसले ल्याए पनि असाध्यै राम्रो सोच हो। ६० वर्ष माथिकाको स्याहार सुसारको जिम्मा सरकारले लिने खालको सामाजिक सुरक्षा व्यवस्था कायम हुनु पर्छ। कति सुन्दर हुन्छ त्यो जीवन! तपाईँ अहिले कल्पना पनि गर्न सक्नु हुन्न। छोराछोरी, नातिनातिनाको पौरख देखेर वृद्धाश्रममा बसेको पाको अनुहारमा उज्यालो छाएको परिकल्पना तपाईँ गर्न सक्नुहुन्छ? सक्नु हुन्न। किनभने तपाईँको निर्दयी महत्वाकांक्षाले तपाईँलाई ब्रह्मनालसम्म कुर्चीमा जान पाए हुन्थ्यो भन्ने चेत दिइरहेको छ। तपाईँलाई पागल बनाइरहेको छ।

शुर हराएपछि मान्छे यस्तै उटपटाङ गफ गर्न थाल्छ। काम पनि उल्फटाङ नै गर्छ। अहिलेका तहगत विवादहरू (काम, कर्तव्य र अधिकार) यही बुढ्यौलीबाट निश्रृत भएका हुन्। संघीयता भनेको छ, गाउँ गाउँमा सिंहदरबार पनि भनिएकै छ तर पैसा र शक्ति भने सिंहदरबारमा थुपारिएको छ। संघीयता, यही काठमाडौँमा त  प्रयोग हुन सकिरहेको छैन भने टाढाका स्थानीय सरकारको कुन बेहाल भएको होला!

संघीयता आएपछि सबै स्थानीय सरकारले राम्रो काम गरेका छन् भन्ने मेरो दाबी होइन। तर हिजोको केन्द्रीकृत प्रणाली भन्दा अहिलेको संघीयताले राम्रो गरेको छ। जनप्रतिनिधिहरूले आफ्नो गाँस काटेर किसानलाई खेत जोत्ने ट्य्राक्टर किनिदिएका छन्। आफ्नो सुविधाको गाडी नकिनेर जनताका लागि एम्बुलेन्स किनिदिएका छन्। गाउँको झगडालाई स्थानीय तहबाटै मिलापत्र गराएका छन्। भन्ने बित्तिकै आफ्ना वडाध्यक्ष, नगर वा गाउँपालिकाका प्रमुख-उपप्रमुखलाई भेटेर आफ्नो समस्या राख्न पाएका छन्।

यो सुविधालाई बुढा नेताहरूको लहैलहैमा खोसियो भने त्यसको परिणाम के हुन्छ? अकल्पनीय नोक्सानी।

तर, ने.क.पा. का नेता कार्यकर्ताले जनताको तागत चिनुन् र जनतालाई संघीयताको पक्षमा दृढतापूर्वक उभिन सहयोग गरुन्। किनभने यति बेला संघीयता बचाउने र अगाडि बढाउने अहम् जिम्मेदारी उनीहरूको काँधमा आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.