काठमाडौं : गत बिहीबार मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्दा भेटिएको पहेँलो धातु के हो अझै पत्तो लागेको छैन। २६ किलोमिटरमध्ये सुरुङको साढे २१ किलोमिटरमा पहेँलो धातु भेटिएपछि सुरुङ खन्न रोकिएको छ।
सुरुङमा पहेँलो धातु भेटिएकोबारे मेलम्ची खानेपानी आयोजनाले शुक्रबार नै भूगर्भ विभालाई जानकारी दिएको थियो। 'भूगर्भ विभागमा स्याम्पल (नमूना) पठाएका छौँ।अहिलेसम्म उहाँहरुले रिपोर्ट दिनु भएको छैन', आयोजना प्रमुख घनश्याम भट्टराइले भने।
विभागले सुरुङमा भेटिएको धातुका बारेमा सोमबारसम्म प्रतिवेदन बुझाउने जानकारी गराएपछि सोमबार आयोजनाको बैठक बोलाएको थियो। तर बैठक बस्न सकेन। बैठकमा खानी तथा भूगर्भ विभागको प्रतिवेदन र आगामी योजनाबारे छलफल गर्ने तयारी थियो।
खानी विभागले प्रतिवेदन मंगलबारमात्र आउने बताएपछि बैठक स्थगित भएको आयोजना प्रमुख भटराइले जनाकारी दिए। 'मंगलबारसम्म खानी तथा भूगर्भ विभागको रिपोर्ट पर्खन्छौँ, प्रतिवेदनले जे भन्छ त्यहीअनुसार अघि बढ्छौँ। रिपोर्ट आएन भने विभागसँग छलफल गर्छौँ र अगाडि बढ्छौँ', उनले भने, 'सकभर काम नरोकियोस् भन्ने हाम्रो धारणा हो।'
पहेँलो धातु भेटिएको ठाउँबाट सुरुङ खन्ने काम रोकिए पनि अन्य काम भने रोकिएका छैनन्। पहेँलो धातुबारे खानी विभागले दिने प्रतिवेदन अध्ययन नगरी निर्माण कार्य अघि बढाउन आयोजनाले नसक्ने भट्टराईले बताए।
'विभागको आफ्नै प्रकिया छ, त्यो पहेँलो धातु के हो, त्यसको मूल्यांकन कसरी गरिन्छ र थप अनुसन्धान गर्नु पर्छ पर्दैन भन्नेबारे खानी विभगको सल्लाहअनुसार अघि बढ्नु पर्ने हुन्छ', उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।