विचार

रातभरि दोहाको सडक नापियो
SHARES

चैत २१, २०७५

    मानिसको जिन्दगी गोलाकार रेखामा चल्दैन, जहाँबाट सुरु भयो त्यहीँ अन्त्य हुने। चक्रपथ झैँ। मानिसको जीवन त बक्ररेखामा दौडिन्छ। उतार चढावपूर्ण, कहाँ गएर टुंगिन्छ पत्तै नहुने। त्यसैले जीवनमा जे पाइएको छ, त्यसलाई हाँसेर स्वीकार गर्नुपर्छ, रमाउनु पर्छ। नपाएका कुरा मेरो होइन रहेछ भनेर चित्त पनि बुझाउन सक्नुपर्छ। धतुरोले गुलाफ बन्छु भनेर कहिल्यै त्यो रूप पाउन सक्दैन। हुन त दुवै काँडा मै फुल्छन्। त्यसैले जीवनमा आएका मौकालाई हातबाट छाड्नु हुन्न भन्ने सोच मभित्र सधैँ रहेको छ।

    पत्रकारितामा लागेको झन्डै २५ वर्षमा २० वर्ष त खेलकुद पत्रकारिता नै गरियो। कुनै बेला श्रीसगरमाथा दैनिकका सम्पादक रहेका तीर्थ कोइरालाको आदेशमा खेलकुद पत्रकार बनेको हुँ, म। कहिले काहीँ उनीसँग पनि रिस पनि उठ्थ्यो, कस्तो वाहियात ‘बिट’ बा पत्रकारिताको सुरुवात गराएछन् भनेर। एक चोटि टाँसिएको लिस्नोलाई फाल्न जति कठिन पर्छ, खेलकुद पत्रकारको बिल्ला हटाउन पनि निकै कठिनाइ पर्‍यो। यद्यपि, त्यहीरुपमा आज पनि चिनिन्छु। यसको सिधा अर्थ हो खेलकुद पत्रकारिता गरेर म कहिल्यै सन्तुष्ट बन्न सकिन। पत्रकारितामा होमिएकोप्रति भने दुख छैन। आखिर दुई–चार जनाले चिन्ने पनि यही पेसाले बनायो। तर, अरू नै विषयमा पत्रकारिता गरेको भए यो पेसा अझै रोमान्चक हुन्थ्यो कि? भन्ने चुकचुक त लागिरहन्छ, मानवीय स्वभाव नै हो। कहिल्यै केही उपलब्धिमा चित्त बुझाउन नसक्ने। शायद मैले खेलकुद पत्रकारिताको सुरुवात गर्दा यो विषय कसैका लागि त्यति रुचिकर थिएन। तर, आज सर्वाधिक पढिने खेलकुद हो भन्न पाउँदा भने अति खुसी लाग्छ। अनि आफू पहिलो–पहिलो पुस्ताको खेलकुद पत्रकार हुन पाएकोमा गर्व लाग्छ। अनि श्रीसगरमाथाका मेरो सम्पादकसँग उठेका सारा रिस पनि सेलाएर जान्छ।

    हामी एकाध जना बाहेक खेलकुदलाई नै आधार बनाएर पत्रकारिता शायद कसैले गरेका थिएनन्, हामीभन्दा केही जनाभन्दा अगाडि। कति जना त यो पेसाबाटै पलायनसमेत भइसकेका छन्। रमाइलोका लागि होस् वा कामका लागि जे भनेपनि रङ्गशालाका पहिलो स्थाइ दर्शक हामी नै थियौँ। चाहेर पनि हाम्रा अग्रज पत्रकारहरूले खेलकुद जस्तो एउटै बिटमा काम गर्ने अवसर कहिल्यै पाएनन्। शायद पत्रकारितामा व्यवसायिकताको कमीले पनि होला। अथवा त्यो बेला खेलकुद त्यति नपढिने विषय भएर पनि होला।

    खेलकुद पत्रकारिता गर्दा केही देश घुम्ने मौका पनि पाइयो। तर, एसियाली खेलकुद मै भने २००६ मा मात्र सहभागिता जनाउन पाएँ, दोहा एसियाडमा। पछि फेरि दोहराएर त्यस्ता खेल महोत्सवको साक्षी पनि भइएन। त्यसैले यो अवसर सधैँ मेरो मनमा गुथेर रहेका छन्।

    नेपाली पात्रो अनुसार मङ्सिर महिनाको आधा–आधीबाट त्यो एसियाड सुरु भएको थियो। काठमाडौंलाई चिसोले छोप्न सुरु गरिसकेको थियो। डिसेम्बर १ देखि सुरु भएको त्यो एसियाडको उद्घाटनभन्दा दुई दिन अगावै हामी त्यहाँ पुगेका थियौँ।

    पत्रकार मित्र नवीन अर्याल हामीभन्दा एक दिन अघि नै नेपाली टोलीका साथ त्यता गएका थिए। हामी एक दिन पछि गएका थियौँ। साथमा थिए, खेलकुद पत्रकार राजेन्द्र ज्ञवाली, नारायण उपाध्याय र विष्णुहरि घिमिरे। राजेन्द्रदाइको बसाइ दोहाको खेलग्राममा थियो। उनी नेपाल ओलम्पिक कमिटीको ‘मिडिया एटेची’ का रूपमा त्यता गएका कारण। हामी बाँकी सारा पत्रकारले भने आफ्नो बसाइको व्यवस्था आफैँ गर्नुपथ्र्यो। अन्तर्राष्ट्रिय खेल महोत्सव मै नियम यस्तै छ। पत्रकारलाई खेलग्रामबाट टाढा राख्ने। खेलाडीलाई धेरै कचकच नगरोस् भनेर।

    दोहा अहिले जस्तो भव्य थिएन, त्यस बेला। निर्माणका कामहरू हुँदै थिए। जता हेरे पनि घर र पूर्वाधार खडा गरिँदै थिए। त्यो बेला विकासको नमुना बन्ने तयारी गर्दै थियो, कतारको दोहा। गर्मीका कारण रातभरि काम हुँदो रहेछ।

    दोहा पुग्न हामीले त्रिभुवन विमानस्थलमा ९–१० बजेतिर गल्फ एअरवेजको विमान चढ्यौँ। पत्रकारका रूपमा हामीलाई अलि सम्मान देखाए झैँ गरेर राम्रो सिटको व्यवस्थासमेत गर्‍यो, त्यो एअरवेजले। तर, ओमानको मस्कटमा हाम्रो ट्राजिट थियो। त्यो विमानमा हामी चार जना बाहेक बाँकी सबै खाडीमा भविष्य बनाउने सपना सँगालेर जाँदै थिए। सबैको शीरमा सम्बन्धित म्यानपावरले दिएको क्याप थियो। शायद उताका एजेन्टलाई चिन्न सजिलो हुन्छ भनेर पनि होला।

    विमानमा राजेन्द्र दाइ र म सँगै बस्यौँ। विमान उड्यो। मलाई लाग्यो, अब १५–१७ दिन व्हीस्कीको चुस्की लिन पाइँदैन भन्ने। पाए विमान मै मजासँग खाएर जाने योजना बनाइयो। अनि सोधियो, एक स्टेवार्टलाई, ‘ह्विस्की छ?’ उसले खानापछि उपलब्ध गराउने आश्वासन दिए। खाना आयो, हामीले खायौँ। तर, मोराले ह्विस्की ल्याइदिने त नामै गरेन। लाजै पचाएर फेरि मागियो, बिर्सिए झैँ नाटक गरेर उसले ल्याइदियो, त्यो पनि अति सानो पेग। राजेन्द्र दाइ ह्विस्की नखाने, मैले नै खाइदिएँ। त्यो पनि निकै चाँडो। राजेन्द्रदाइलाई भने, ‘दाइ यसको चाला हेर्दा धेरै दिन्छ, जस्तो छैन। स्वाट्ट पारेर अर्को एकचोटी ल्याइदियो भने मन बुझिहाल्ला!’

    अनि फेरि अर्को पेगका लागि त्यही स्टेवार्टलाई आग्रह गरेँ। मोरा! अर्को पेग माग्दा यति अर्ती सुनायो कि सितिमिति मानिस भएको भए जिन्दगीभरि रक्सी खाँदैन थिए होला वा आत्महत्या कि उसकै हत्या। त्यसमाथि विमान चढ्दा त के को आँट आउनु। हाइ अल्टिच्युडमा रक्सी खाँदा यस्तो–उस्तो असर पर्छ भनेर डाक्टरले झैँ तर्क दियो। उनीहरूको धर्मले पनि त्यो अनुशासन सिकाएकै छ। अनि मैले उसको कुरा नसकिँदैन हात जोडेँ माफी मागेँ, आफूबाट गल्ती भएको बताए। अनि मनमनै भने, ‘तँ मुला मलाई रक्सीको ज्ञान दिने? त्यो पनि दुई जनाको पेग मिलाएर जम्मा ३० एमएल पिउँदा?’

    हुन त त्यसले अर्को पेग ल्याइदियो तर, मनै रुवाउने गरेर। गिलासमा रातो व्हीस्कीको कुनै रङ्ग र गन्ध थिएन। थियो त बस्, पानी र आइसको मिश्रण। फेरि एक पटक त्यसलाई मुड्काइदिउँ झैँ लाग्यो। तर, के गर्नु चुपचाप सहियो।

    मानिसको एउटै हातको औँलाहरू त बराबर हुँदैन भने त्यत्रो विमान रहेका परिचालक–परिचालिकाको सोच पनि एउटै हुन्छ भन्ने हुँदैन। एउटी फिलिपिनो एअरहोस्टेज म नजिकै आएको बेला, मुसुक्क हाँसिन्। यात्रुसँग आँखा जुधेपछि हाँस्नु उनीहरूको बाध्यता नै हो, थाहा छ। मैले त्यही मौका छोपेर उसलाई राम्री देखिएकी छौँ भनिदिएँ। फेरि हाँसिन्। केही बेरपछि मेरो नजिक आएर केही ल्याइदिऊँ कि? भनेर सोधिन्। मनै हर्षित बन्यो। शायद उसले हामी जस्ता लिच्चड यात्रुको ‘फितरत’ यस्तै हुन्छ भन्ने पनि बुझेकी नै थिइन् होलिन्। मैले पनि लाज नमानीकन हामी भएभरका सारा पत्रकारका लागि ह्विस्की मागिदिएँ। अरूले आफैँ खाए पनि राजेन्द्रदाइको भाग म नै खान्छु भन्ने पक्का थियो। फेरि अर्को पटक माग्दा त्यसको पनि ‘लेक्चर’ सुन्नुपर्ने हो कि भन्ने डरले पनि सबैका लागि एकै पटक मागियो। तर, उनले त्यस्तो गरिनन्, मन खोलेर खुवाइन्। उनको बाउको के नै जान्थ्यो र? त्यो अर्तीवाला स्टेवार्टले भने त्यस्तो सोचेनछन्। 

    मस्कटको ट्राजिन्टपछि दोहा उड्दा पनि त्यही विमान अनि त्यही परिचालक–परिचालिका थिए। फेरि मक्ख परियो। एक पटक फेरि ती एअरहोस्टेज मुस्कुराइन्। तर, नियमअनुसार खाडी मुलुकबाट खाडी मुलुकमै जाँदा मदिरा नदिइने नियम छ भन्ने जानकारी पनि दिइन्। खाइसकिएकै थियो, फरक परेन। 

    साँझपख हामी दोहामा उत्रियौँ। पहिला खेलग्राम गइयो। आयोजकले त्यहाँको विमानस्थलबाट उपलब्ध गराउने गाडी त्यहीसम्म मात्र जाँदो रहेछ। नवीनले मिडिया सेन्टरमा कुरेर बस्छु भनेको थियो। खेलग्रामबाट हामीलाई मिडिया सेन्टर पठाइदिने बताइयो। तर, खेलग्राममा हामीले मिडिया सेन्टरसम्म जान निकै बेर गाडीको प्रतीक्षा गर्नुपर्‍यो। हामी त्यहाँ पुग्दा नवीन र अरू साथीहरू त हिँडिसकेका रहेछन्, नेपाली राजदूतावास आउनु भन्ने सन्देश छाडेर। अनि त्यही राजदूतावास रेखदेख गर्ने कर्मचारीको नम्बर पनि उपलब्ध भयो हामीलाई। मिडिया सेन्टर छाड्नु अगाडि ‘एक्रिडियसन कार्ड’ लियौँ। एसियाडको इतिहासमा आयोजकले पहिलो पटक पत्रकारका लागि पनि व्यवस्था गरेको मेसमा गएर टन्न खाना खायौँ। त्यसअघिका आयोजकले खेलाडी र पदाधिकारीलाई मात्र त्यो सुविधा दिने गरेको रहेछ।

    खाना खाएर बाहिर निस्कँदा एक जना नेपाली पत्रकार मित्रसँग भेट भयो। उनले ट्याक्सी चढेर गए राजदूतावास पुगिने बताए। मेरो अनुमानमा त्यति बेलासम्म रातिको ९–१० बजिसकेको हुनुपर्छ। मिडिया सेन्टरबाट हामीले ती कर्मचारीलाई फोन गर्‍यौँ। हामीसँग मोबाइल हुने कुरै थिएन। उनले ट्याक्सी चढेपछि ड्राइभरलाई फोन गर्न लगाउनु अनि ठेगाना बुझाइदिने बताए। हामी ढुक्क भयौँ। दोहामा पहिलो रात निदाउने जुगाडका लागि हामीले उसले भने झैँ गर्‍यौँ। तर बिचरा ट्याक्सी ड्राइभरले ठेगाना पत्तै लगाउन सकेन। मैले ती कर्मचारीसँग कुरा गरेँ। लाग्यो, हामी उसले भनेको ठेगाना वरिपरि नै छौँ। ट्याक्सीलाई बिदा गरेर बिच बाटोमै ओर्लियौँ।

    दोहा अहिले जस्तो भव्य थिएन, त्यस बेला। निर्माणका कामहरू हुँदै थिए। जता हेरे पनि घर र पूर्वाधार खडा गरिँदै थिए। त्यो बेला विकासको नमुना बन्ने तयारी गर्दै थियो, कतारको दोहा। गर्मीका कारण रातभरि काम हुँदो रहेछ।

    एक–दुई पटक त त्यहीँ काम गरिरहेका कामदारहरूसँग मोबाइल मागेर दूतावासका कर्मचारीसँग ठेगाना नभेटिएको बतायौँ। ती कामदारहरूलाई पनि बताइदिए तर अहँ पत्तै लागेन। सुटकेस घिसार्दै उता र उता गर्नुबाहेक हामीसँग विकल्प रहेन। मिडिया सेन्टरमा खाएको खानाले समेत हाम्रो साथ छाडिसकेको थियो। उता साथीभाइ मस्त निन्द्रामा सपनाको संसारमा रमाउँदा हामी दोहाको पहिलो पटक परिचय भएको अनजान सडक नापिरहेका थियौँ। त्यो पनि मध्यरातमा। त्यो क्रम बिहानीको झन्डै २ बजेसम्म चल्यो। त्यही एउटा भवन निर्माण संलग्न कामदारका मुखियालाई हाम्रो दशा देखेर माया लागेछ। शायद भारतीय वा पाकिस्तानी हुनुपर्छ, उनी। हिन्दी बोल्न जान्थे। अनि उनले नै नेपाली दूतावासका ती कर्मचारीलाई फोन गरेर नराम्रोसँग झापारे। हाम्रो हालत बताइदिए। अनि मात्रै ती कर्मचारी हामीलाई लिन आए। पछि थाहा भयो, हामीले विपरीत दिशामा गन्तव्य खोजिरहेका रहेछौँ। हामी र दूतावासबीच पैदल दुरी मात्र १०–१५ मिनेटको फरकमा रहेछ। दुख पाउन लेखेको।

    त्यो रात दूतावासमा बिताएपछि भोलिपल्ट स्थायी बसोबासको खोजिगर्नु नै थियो। अजिङ्गरको आहारा दैवले जुराउँछ भने झैँ कतारका बसोबास गर्ने सागर नेपालले त्यसका लागि हामीलाई सहयोग गरे। त्यहीँ व्यवसाय गरेर बस्ने नेपालले हामीलाई यतैबाट गएका अनिल श्रेष्ठको घरमा पुर्‍याए। म, नारायणजी, नवीन र विष्णुलाई। नज्मा भन्ने ठाउँमा डेरा लिएर बस्दा रहेछन्, अनिलजी। उनकी पत्नी त्यही बेला काठमाडौं आएको कारण एसियाड अवधिभर हाम्रो रात बिताउने व्यवस्था भयो। त्यो पनि राजसी ठाँटमा।

    त्यो बसाइँका क्रममा अनिलजीबाट निकै सहयोग र सम्मान पाइयो। नेपालबाट आएका त्यसमाथि पत्रकार भनेर उनले हरेक रात मिठो निन्द्राको औषधीको जोहो गरिदिन्थ्ये। उनलाई पनि पिउनमा रौस। दुई–चार दिन त यस्तै हो भनियो तर, हरेक रात घर पुग्दा बोतल तयारी अवस्थामा रहन थालेपछि हामीले नै उनलाई बोतल खरिद गर्न पैसा दिन थाल्यौँ। निकै आनाकानीपछि उनले हाम्रो प्रस्ताव स्विकारेका थिए। पाहुनाबाट के पैसा लिनु भन्ने उनको सोच रहेछ।

    हामी भने सरकारी बजेटबाट गएका उनले खाडीको मरुभूमिमा पसिना बगाएर कमाएको धनलाई रक्सीमा उडाइदिन चाहेनौँ। त्यसैले उनले दिएका ब्रेकफास्ट केही दिन खाएपनि त्योसमेत खाएनौँ। बरु यसो मौका मिले हामीहरूले नै व्यवस्था गर्ने गर्‍यौँ। बिहान उठेर तयार भएपछि नै समाचार सङ्कलन गर्न जाने हतारोका कारण पनि हामीले उनलाई धेरै दुख दिन परेन। समाचार सङ्कलन गरेर फर्कँदा कहिले काहीँ त मध्यरात हुन्थ्यो। त्यही पनि उनी केही नखाई–नपिई हामीलाई कुरेर बसिरहेका हुन्थे। आफू बैठकमा सुत्ने हामीलाई आफ्नै बेडरुम उपलब्ध गराएका थिए। वास्तवमा भन्ने हो भने उदारताका नमुना थिए, उनी। एक पटक त म र उनी मात्र विदेशीले मात्र प्रवेश पाउने बियर बारमा समेत गयौँ।

    हामीले त्यो होटेलमा नबस्ने निर्णय गर्‍यौँ। तर, होटेलवाला हाम्रो पासपोर्ट जफत गरेर बसेको थियो। गुन्डा झैँ देखिने गार्डहरू हामीलाई तर्साउनसमेत आए। तिनीहरूलाई के थाहा, हामी कति ज्याद्रो छौँ भन्ने। हामी निकै रन्किएपछि मात्रै उसले फेरि विमानस्थल फर्कने प्रबन्ध मिलायो। एक/एकजना गरेर पासपोर्ट फिर्ता दियो। जसले पासपोर्ट पायो, उसलाई फेरि होटेलमा नछिर्न उर्दी पनि जारी गर्‍यो।

    राम्रो कुरामा सबैको चाँडै आँखा लाग्छ भन्छन्। मनै लोभ्याउने गरेर फुलेका फूलहरू पनि पुरा जीवन बाँच्नु अगावै भगवानको पाउमा चढ्छन् वा कसैका गलाका माला। बोटमा नराम्रा देखिएका फूलको वास्ता कसले पो गर्छ र? आखिर सृष्टि गर्ने र यो लोक भोग्ने सबै स्वार्थी नै छन्।

    हामी दोहाबाट फर्किएको केही महिनापछि अनिलजी बिरामी भएर जोरपाटीको नेपाल मेडिकल कलेजमा भर्ना भएको थाहा पायौँ। भेट्न जानका लागि उपलब्ध टेलिफोन नम्बरमा सम्पर्क गर्‍यौँ। उनकी पत्नीले फोन उठाइन्। अनिलजी आइसीयुमा भएका कारण भेट्न मुस्किल भएको बताइन्। हामी पनि ठिकै छ, केही दिनपछि भेटौँला नि भन्ने मनस्थितिमा पुग्यौँ। तर, केही दिनपछि उनको निधन खबरले मनलाई चिसो बनायो।

    दोहामा उनी र उनका मित्रहरूले हामीप्रति देखाएको सद्‍भाव ‘फ्ल्यास ब्याक’ का रूपमा मस्तिष्कमा तैरियो। निकै नरमाइलो लाग्यो। हामी दोहाबाट फर्कनु अघिल्लो रात उनी र उनका मित्रहरूसँग म्यारिज खेल्दा जितेको एक सय रियाल सम्झन पुगेँ। भनेका थिए, ‘ड्युटी फ्री’ को खर्च उठ्यो नि, राम्रै भयो। तर, अल्पायु मै उनी ड्युटी तिर्न नपर्ने लोकको यात्रामा गए।

    दोहा एसियाडको भव्य उद्घाटन र समापन समारोहले अन्तर्राष्ट्रिय खेल महोत्सवमा नै नयाँ तरङ्ग ल्यायो। त्यसैले हिजोआज यस्ता खेलकुदको भव्यता त्यसको उद्घाटन र समारोहबाट मापन गर्न थालिएको छ। हामी पनि त्यही भव्यताको साक्षी बन्दै काठमाडौं फर्कियौँ। तर, आउँदा पनि सहज यात्राको अनुभव गर्न पाइएन।

    हाम्रो फर्कने रुट नै झन्झटिलो थियो। दोहाबाट बहराइन अनि मस्कट अनि मात्रै काठमाडौं। धन्य दोहा विमानस्थलमा पुगेपछि म र विष्णु ‘अपलोड’ मा परियो। बाँकी नेपाली टोली बहराइनतिर लाग्यो। गल्फ एअरले साँझ मस्कट जाने विमानमा हाम्रो सिट पक्का गर्‍यो अनि हामीलाई दोहा विमानस्थलको आरामदायक बिजिनेस लाउन्जमा बस्ने र खाने व्यवस्था मिलाइदियो। साँझ फेरि मस्कटमा भेट्ने वाचासहित हामीले नेपाली टोलीको बिदाइ गर्‍यौँ। 

    मस्कट पुग्दा केही बेरअघि मात्र बहराइनबाट नेपाली टोली आइपुगेको रहेछ। विमान ढिला उड्ने भएपछि हामीलाई होटेलमा राख्ने व्यवस्था गरियो। त्यो विमान कम्पनीले होटेलमा बस्ने व्यवस्था त गर्‍यो तर कस्तो होटेल भने के भन्ने खै? एट्याच बाथरुम त छ, काठमाडौंका कुनै सार्वजनिक शौचालय झैँ। कोठामा चुकुलसमेत नभएको। केटाहरू त जसोतसो सुत्लान् तर महिला खेलाडीहरू पनि साथमा भएको कारण त्यस्तो होटेलमा बस्नु सही थिएन। त्यसअघि नै होटेलले आफ्नो औकात देखाइसकेको थियो। नेपाली टोलीलाई निकै निम्नस्तरको खाना मात्र दिएन मासु त गाइको दिएछ। थाहा पाउनेले खाएनन्, चुपचाप बसे। भोकले रन्थिनिएकालाई नखा भन्न पनि मन लागेन। बहराइनको ट्रान्जिटमा घण्टौँ कुराए पनि केही खान नदिएकाले सबै भोकले तखतरान पनि थिए। उज्यालो मुख त विष्णु र मेरै थियो। कतारको बिजनेस लाउन्जमा खाइएका अनेकौँ परिकारले गर्दा त्यति बेलासम्म पनि हाम्रो मुख उज्यालै थियो। गोरो चिटिक्क भएको आधारमा भने नारायणजीले पाँच तारे होटेलमा बस्ने सुविधा पाएछन्।

    हामीले त्यो होटेलमा नबस्ने निर्णय गर्‍यौँ। तर, होटेलवाला हाम्रो पासपोर्ट जफत गरेर बसेको थियो। गुन्डा झैँ देखिने गार्डहरू हामीलाई तर्साउनसमेत आए। तिनीहरूलाई के थाहा, हामी कति ज्याद्रो छौँ भन्ने। हामी निकै रन्किएपछि मात्रै उसले फेरि विमानस्थल फर्कने प्रबन्ध मिलायो। एक एक जना गरेर पासपोर्ट फिर्ता दियो। जसले पासपोर्ट पायो, उसलाई फेरि होटेलमा नछिर्न उर्दी पनि जारी गर्‍यो।

    एउटा मुलुकको नेतृत्व गरेर त्यस्तो बृहत् खेल पर्वमा सहभागी भएको टोलीलाई त्यस्तो व्यवहार गर्ने विमान सेवाले केही नजानेका खाडीमा रोजगार गर्न जाने नेपालीसँग झन् कस्तो व्यवहार गर्ला? सोचमग्न बनियो।

    विमानस्थलमा फर्किएपछि देखावटीका लागि त्यो विमान कम्पनीका कर्मचारीले माफी मागे तथा त्यहाँ रहेको क्याफेमा खान आग्रह गरे। रिसको झोकमा त्यसलाई पनि अस्वीकार गरियो। घण्टौँ विमानस्थलमा रहेको फलामको कुर्सी मै बिताइयो। अनिद्रै। नारायणजी भने पाँच तारे होटेलको ब्रेकफास्ट बजाएर दाह्रीसमेत काटेर नुहाइ धुवाइ गरेर विमास्थलमा आइपुगे। जीवनमा पहिलो पटक भगवानले गोरो नबनाएकोप्रति ग्लानि भयो। त्यही रिसका कारण काठमाडौं फर्कने क्रममा ह्विस्की पनि मागिएन। व्यावसायिक मुस्कान दिएपनि गल्फ एअरवेजका कुनै एअरहोस्टेजलाई ‘राम्री देखिएकी छौँ’ पनि भनिएन। काठमाडौं ओर्लियौँ।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]