ग्रिन च्यानलका सामानको मूल्यांकन बढाउँदै रेड च्यानलमा छिराएको व्यापारीको आरोप

|

विराटनगर : विराटनगर भन्सार कार्यालयबाट औद्योगिक कच्चा पदार्थका सामान आयातमा कडाइ गरेसँगै भन्सार कार्यालय र उद्योगी व्यापारीबीच विवाद चर्किएको छ।

ग्रीन च्यानलबाट आयात हुने मालसामान रेड च्यानलमा जबर्जस्ती छिराउने गरेको र भन्सारको राजस्व लक्ष्य अनुसार असुली गर्नुपर्ने बाध्यताका कारण भन्सारले जबरर्जस्ती मूल्यांकन बढाएको व्यापारीको दाबी छ। 

विराटनगर भन्सार कार्यालयले एजेन्टले ढिलो गरेको भन्ने र एजेन्टले भन्सार कार्यालयबाट काममा ढिलासुस्ती हुने गरेको बताएपछि आफूहरू मारमा परेको उद्योगी व्यापारीको भनाइ छ। 

भन्सार कार्यालयले कहिले औद्योगिक कच्चा पदार्थका मालबहाक गाडी तथा कन्टेनरलाई पनि ग्रिन च्यानलमा नराखी मूल्यांकन बढाउँदै रेड च्यानलमा हाल्ने गरेको त कहिले एजेन्ट र भन्सार कर्मचारीले एक अर्कालाई दोषारोपण गर्दै समयमा काम नगरिदिने गरेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाको भनाइ छ। 

भन्सार कार्यालयले कुनै पनि मालवस्तुको मूल्यांकन कसरी बढाउने र भन्सारको राजस्व असुली लक्ष्य अनुसार पुर्‍याउने भन्ने चिन्तामा रहेको कारण ड्युटी बढाएको, भन्सारका कर्मचारी र एजेण्टले ढिलो गरेका कारण उद्योगी व्यवसायी चेपुवामा परेको अध्यक्ष सारडाको भनाइ छ। ‘भन्सार कार्यालयको मनपरीका कारण यहाँबाट आउने ट्रेडिङको मालवस्तु आउनै छोडेको देखिन्छ,’ उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले भने, ‘बिललाई मान्यता नदिइ बढी मूल्यांकन गर्न खोज्दा व्यापारीले वीरगञ्जबाट ट्रेडिङका सामान आयात गर्न थालेका छन्।’

यता भन्सार कार्यालयले भने उद्योगी व्यापारीको आरोपमा सत्यता नभएको जनाएको छ। जाँचपासको नाममा औद्योगिक कच्चा पदार्थ ‘रेड च्यानलमा नहालेको र ढिलासुस्तीले कुनै पनि सामान गोदाममा नथन्किएको बताएको छ। विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांशु अधिकारीले कुनै पनि काम भन्सारको कारण ढिलो नभएको दाबी गर्दै एक हप्तामा २७ वटा मात्रै प्रज्ञापन पत्र जाँचपासमा ढिलो भएको तथ्यांक रहेको र त्यो व्यापारी र एजेन्टकै कारण भएको बताए। भन्सार कार्यालयको रेकर्डमा मालवस्तु दर्ता १ बजेपछि मात्रै गर्ने परिपाटीका कारण १० बजेदेखि कर्मचारीले १ बजेसम्म काम नगरी बस्नुपर्ने बाध्यता रहेको अधिकारीको भनाइ छ।

विराटनगर भन्सार एजेन्ट संघले पनि आफूहरुको कारणले मालसामान जाँचपासमा कुनै कठिनाइ नरहेको जनाएको छ। तर, मालवस्तु आयात कम हुनुमा आफूहरूको कमजोरी नरहेको र ट्रेडिङका सामानहरु हेर्नैपर्ने भएको कारण केही ढिलो भएको हुनसक्ने विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र पराशरको भनाइ छ। 

उद्योगी व्यापारीले भने विराटनगर भन्सार कार्यालयले अनावश्यक दुःख दिन थाल्दा ट्रेडिङका सामान आयात विरगञ्जबाट हुन थालेको दाबी गरेका छन्। जसका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुली प्रभावित बनेको उनीहरूको तर्क छ। भन्सार कार्यालयका अनुसार यस वर्ष ४२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य छ। हालसम्म भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व असुली गर्न सकेको छैन।

विराटनगर भन्सार कार्यालयबाट दैनिक २५० देखि ३०० वटासम्म मालवाहक ट्रक तथा कन्टेनर जाँच पास हुने गरेको छ, जसमध्ये २७ प्रतिशत मालवस्तु रेड च्यानल, ३६ प्रतिशत ग्रिन च्यानल र ३७ प्रतिशत मालवस्तु एल्लो च्यानलबाट नेपाल आयात हुने गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.