|

पर्वत : निर्माणाधीन कालीगण्डकी कोरिडोरको प्रभावित क्षेत्रमा पर्ने बासिन्दाहरू हाइटेन्सन लाइन बिस्तारसँगै त्रसित बनेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा विद्युत् सबस्टेसन निर्माण भइरहँदा स्थानीयले भने सबस्टेशनले फाल्ने विद्युतीय रेडिएसनले मानव, चौपाया र खेतीबालीमा असर पार्ने भन्दै विरोध गर्न थालेका छन्।

दाना–खुर्कोटसम्म ११४ वटा टावर राखेर लाइन बिस्तार गर्दा घरमाथि नै विद्युतका तार पारेकाले त्यसले मानव स्वाथ्यमा असर पुग्ने भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय र आयोजना कार्यालयमा निवेदन दिएका छन्। 

निर्माणको अन्तिम चरणमा प्रभावित क्षेत्रका बासिन्दालाई विद्युतीय असर र वातावरणीय प्रभावबारे आयोजनाले सचेतनामुलक तालिम दिएको थियो। तालिममा विद्युतीय असरहरूबारे जानकारी गराएपछि अहिलेसम्म चुपचाप बसेका प्रभावित क्षेत्रका बासिन्दा आयोजनाको विरोधमा उत्रिएका छन्। 

तालिममा हाइटेन्सन तारको टावर रहेको स्थानको सात मिटर वरपरको भागमा खेती गर्न नहुने, तारमुनिबाट गर्भवती, ज्येष्ठ नागरिक, मुटु तथा दीर्घ रोग भएका बिरामीहरू हिँड्न नहुने बताइएकाले आफुहरुको घर तारमुनि परेको भन्दै स्थानीय आयोजनाविरुद्ध उत्रिएका हुन्।

कार्यान्वय भएन सहमति

प्रशारण करिडोरअन्तर्गत खुर्कोटमा सबस्टेसन निर्माण गरिएको छ। म्याग्दीबाट ल्याइएको हाइटेन्सन तारलाई खुर्कोट हुँदै मोदीखोलामा पुर्‍याएर जोडिन्छ। आयोजनाबाट प्रभावित खुर्कोट र पाङ वासीहरूले आयोजनाले पूर्वसहमति कार्यान्वय नगरेको भन्दै विरोध जनाएका छन्। उनीहरूले बुधवार प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई भेटेर पहिलेका सम्झौता कार्यान्वयन गराउन पहल गरिदिन निवेदन दिएका छन्।

२२० केभी क्षमताको कालीगण्डकी कोरिडोर प्रशारण आयोजनाको परियोजना लागु हुँदा कुश्मा–बागलुङ सडकखण्डअन्तर्गत अर्मादीदेखि पाङको हिमालय माविसम्म मोटरबाटो कालोपत्रे गर्ने, अर्मादी क्षेत्रमा आउने पानीको ढलको उचित व्यवस्थापन गर्ने, प्रभावित बासिन्दालाई रोजगारको व्यवस्था गर्ने, प्राकृतिक वातावरण नबिग्रने गरी भौतिक संरचना निर्माण गर्ने, हाइटेटेन्सन लाइन बस्तीभन्दा टाढाबाट लैजाने, विद्युत् हाइटेन्सन टावर निर्माण गर्दा प्रभावित उपभोक्तासँग अन्तरक्रिया गर्नेलगायतका सहमति गरिएका थिए। तर, प्रभावित क्षेत्रका बासिन्दाले भने आयोजनाले कुनै पनि सम्झौता कार्यान्वयन नगरी एक पक्षीय तरिकाले आयोजनाको काम गरिरहेको दाबी गरेका छन्। 

जनप्रतिनिधिहरूसहित जिल्ला प्रशासन कार्यालयमा पुगेका प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाका कारण आउँदो बर्खामा सयौँ रोपनी उब्जाउ भूमि बग्ने खतरामा रहेकाले सबस्टेसन रहेकै ठाउँबाट कल्भर्ट निर्माण गर्न माग गरेका छन्। स्थानीय नागरिकसँग सल्लाह नै नगरी बनाइएका आठ वटा हाइटेन्सन लाइनको टावरका कारण ६०० भन्दा बढी घरमा असर गरेको र ५० घरधुरी हाइटेन्सन लाइनमुनि परेकाले बसाइँ सर्नुपर्ने अवस्था आएको वडाध्यक्ष यदुनाथ बास्तोलाले बताए। उनले भने, ‘सक्नेहरू त घर छाडेर अन्यत्रै बस्ती बसाउलान् तर विपन्न परिवार कसरी अन्यत्र जाने? विकासका नाममा गाउँलाई नै उठिबास लगाउन त ठिक हो र?’

परियोजनाका प्रमुख चन्दनकुमार घोषले परियोजनाले निर्माण गर्नुपर्ने कल्भर्ट, सडकसहितका अन्य संरचना निर्माण गर्न एक साता स्टिमेट तयार हुन लागेको बताए छन्। तर, २२० केभी हाइटेन्सन लाइनको स्थान परिवर्तनका लागि मन्त्रिपरिषदले नै निर्णय गर्नुपर्ने भएकाले त्यसबारे छुट्टै प्रक्रिया अपनाउनुपर्ने उनको भनाइ छ।

एसियाली विकास बैंकको दुई अर्ब ९० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजनाको काम टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले गरिरहेका छन्। आयोजनाले खुर्कोटमा ९३ रोपनी जग्गा अधिग्रहण गरेर सब स्टेसन निर्माण गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.