|

काठमाडौं : केही दिनअघि मात्र उप- प्राध्यापक तथा साहित्यकार महेश पौड्यालको कविता कृति 'शून्य प्रहरको साक्षी' सार्वजनिक गरे। छोटा कविता लेखनमा सक्रिय पौड्यालको छोटा र अर्थपूर्ण कविता उनको काव्यिक पहिचान हो। सरल देखिने तर गहन र दार्शनिक सत्यलाई अभिव्यक्त गर्न सक्ने कविका रूपमा परिचित छन् उनी। पूर्वीय सभ्यताको गर्तबाट टिपिएका कथ्य र बिम्ब उनको कविताको विशिष्टता हो। गीत लेखनमा समेत सक्रिय उनका गद्य कवितामा समेत गीतिचेत र सांगितिक लयविधान सबैले महसुस गर्न सक्छन्। समालोचन क्षेत्रमा पनि उनी स्थापित हुन्। अंग्रेजी साहित्यलाई नेपाली अनुवाद गर्ने उनी नेपाली कृतिलाई अंग्रेजीमा अनुवाद पनि गर्छन्।

त्रिभुवन विश्वविद्यालयमा अध्यापन

उनी भारतबाट ब्‍याचलर्स सकेर वि.स २०६० सालमा काठमाडौं आए। भारतमा हुँदा त्रिभुवन विश्वविद्यालयको खुबै चर्चा सुन्थे। एक दिन उनी विश्वविद्यालय घुम्न गए। विशाल क्षेत्रफल, हरियाली नै हरियाली। मनमनै लाग्यो। 'यहाँ पढ्न पाए कस्तो गज्जब हुँदो हो?' उनले प्रवेश परीक्षा दिए। पास पनि भए। तर, क्लास गएनन्। इलामबाट सपनाको झोला बोकेर आएका उनको साथमा केवल लक्ष्य थियो, केही बन्ने अठोट थियो। तर, आधारभूत आवश्यकता पूरा गर्ने आर्थिक हैसियत थिएन। उनी कुनै जागिरमा आबद्ध हुनुपर्थ्यो। उनी भक्तपुरमा बोर्डिङ स्कुलमा पढाउन लागे।

रेगुलर कलेज जाने अवस्था थिएन। उनले मास्टर्सको पहिलो वर्षको क्लास नै लिएनन्। तर, मनमा एउटा कुरा खेलिरह्यो। 'विश्वविद्यालयमा  पढ्ने अवसर त पाइयो। अग्रेजी केन्द्रीय विभागबाट प्रथम हुन पाए कस्तो हुँदो हो?' यसअघि पनि पढाइमा प्रथमको श्रृंखला जारी नै थियो। मणिपुर युनिभर्सिटीमा पनि उनी प्रथम भएर आएका थिए।पढाइमा दोस्रो उनको रुचिको विषय होइन। 

उनले कहिल्यै गेस पेपर पढेनन्। उनलाई आज पनि बजारमा कुन-कुन विषयको गेसपेपर उपलब्ध हुन्छन् थाहा छैन। न त अहिले आफ्ना विद्यार्थीलाई गेसपेपर पढ्न सुझाउँछन्। जाने पनि नजाने पनि टेक्सबुक नै पढ्ने सल्लाह दिन्छन्। उनले पहिलो वर्षको परीक्षा दिए। टप भए। सपना देखे तब पूरा हुन्छ। जब मिहिनेत र धैर्यताको कसी बलियो हुन्छ। त्यसपछि दोस्रो वर्ष पढ्नका निम्ति उनी कीर्तिपुर बसाइँ सरे। चिताएको कुरा आफूतिर तान्न मिहिनेत गर्नुपर्छ। उनले दोस्रो वर्षको सबै कक्षा लिए। दोस्रो वर्ष र थेसिस सकिएपछि त्रिभुवन विश्वविद्यालयको टपरको सूचीमा उनको नाम सूचित भयो।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन

सुनिन्छ, त्रिभुवन विश्वविद्यालयको हालत सोचेअनुरूप छैन। एउटा जागिरे शिक्षकले विश्वविद्यालये दिएको पारिश्रमिकले दैनिकी चल्दैन रे। शिक्षकको वृद्धिविकासको लागि विश्वविद्यालयको धेरै भिजन छैन। विश्वविद्यालयलाई आधार मानेर हरेक व्यक्तिले आफ्नो व्यक्तित्व  विकास गर्नेहरू छन्। त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा कार्यरत छन् पौड्याल। उनले त्यहाँ पढाउन लागेको  १२ वर्ष भयो। यो १२ वर्षमा उनले आफूलाई कक्षाकोठामा मात्र सीमित राखेका छैनन्। कक्षाकोठाभित्र उनले विश्वविद्यालयले निर्देश गरेका पाठ्यक्रमहरू पढाउछन्। कक्षाबाहिर तिनै विद्यार्थीहरूलाई नेपाली साहित्य, संस्कृतिबारे ज्ञान दिइरहेका छन्।

विश्वविद्यालयको प्राध्यापक कक्षाकोठाको चार दिवारमा सीमित हुनुहुँदैन भन्ने मान्यता राख्छन् उनी। विश्वविद्यालयले आफूप्रति गरेको विश्वासलाई टेकेर आफ्नो व्यक्तित्व विकास गर्नुपर्ने उनको धारणा छ। भन्छन्, 'नयाँ पुस्ताको नयाँ विचार निर्माणको मार्गदर्शक बन्नुपर्छ।' सरकारको व्यवस्था खराब मान्नुभन्दा पनि सरकारी जागिरेको विश्वनियतालाई समातेर अघि बढ्नुपर्ने उनको तर्क छ। लेख्ने र पढाउने उनको बच्चादेखिकै स्वभाव थियो। जतिबेला उनी १० पढ्थे। उनले अन्य साथीलाई १० कक्षाकै विद्यार्थीलाई ट्युसन पढाउथे। कक्षा १२ मा पढ्दा १२ कै साथीलाई ट्युसन पढाउथे। पढ्नुपर्छ र पढाउनुपर्छ भन्ने चाहनाको एउटै कारण उनका आफ्नै पिता थिए। बुबा, दाइ, दिदी सबै शिक्षक भएपछि उनी आफूलाई पनि शिक्षकमा नै आबद्ध हुन मन लागेको बताउँछन्।

विश्वविद्यालय टप गर्ने आफ्नो सपना पूरा भएपछि उनले अर्को सपना देखे। यहीँ पढाउन पाए कस्तो होला? उनको सपनाले मूर्तरूप तब लियो जतिबेला अंग्रेजी विभागले उनलाई आंशिक शिक्षकको रूपमा प्रस्ताव गर्‍यो। उनी २७ वर्षको उमेरमा नै त्रिभुवन विश्वविद्यालयको शिक्षक बने। यसलाई उनी जीवनको निकै ठूलो उपलब्धी ठान्छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयको उपप्रध्यापकका रूपमा कार्यरत छन्।

उनी पहिलोपटक कक्षाभित्र छिरेको सम्झन्छन्।'उमेरका हिसाबले आफ्नो र आफूले पढाउने विद्यार्थीको उस्तै छ। सुरुवातमा मलाई घमण्ड चढ्यो। अंग्रेजीबाहेक अरू बोलिन्। एकवर्ष मैले अंग्रेजी बोलेर विद्यार्थीको हुर्मत लिएँ।' एक वर्षपछि उनलाई लाग्यो, 'म अंग्रेजीको बखानबाजी गर्न आएको होइन। म त ज्ञान बाँड्न आएको हुँ। एउटा भाषाको कारण विद्यार्थीले ज्ञान आर्जन गर्न सक्दैन भने त्यो असल शिक्षक हुन सक्दैन। जागिर खानको निम्ति मात्र मैले पढाउनुको सार्थकता छैन।' त्यसपछि उनले भाषा मिश्रण गरेर पढाउन थाले। आजको दिनसम्म पनि उनले यही तरिकाबाट विद्यार्थी पढाउँछन्।

लेखन यात्रा

पाठ्यक्रमका अतिरिक्त पनि जीवनमा आत्मविश्वास कसरी आर्जन गर्ने, लेखनको क्षेत्रमा पनि नयाँ पुस्ता कसरी अगाडि बढ्न सक्छ। भन्ने विषयमा आफू सदैव लागिरहेको र लागिरहने उनी बताउँछन्।

इलाम उनको स्थायी घर हो। गाउँको उकाली ओरालीमा अभ्यस्त उनी सुविधायुक्त सहरको संस्कृतिसँग निकै लामो समयपछि मात्र जोडिए। गाउले जीवन सहरभित्र छिरे पनि सहर उनीभित्र छिरेन। उनको सोच, सपना, भाषा, उनका गीत, साहित्यमा गाउँकै बिम्व प्रतीक आउँछ।  सहर आक्कलझुक्कल मात्र समेट्छन् उनी। उमेरको बढ्दो लम्बाइसँगै उनी भारतको मणिपुर बसे। मणिपुरमा बस्दा उनको संगत नेपाली, मणिपुरे, नागा, बिहारी, बंगाली, बर्मेलीहरूसँग भयो। चेतना विस्तार हुने उमेरमा उनी यस्तो ठाउँमा पुगे जहाँ  लिँग, जात,वर्गभन्दा माथि मान्छे बाँच्नु मेजर प्रश्न थियो। र मिलेर बाँच्नुको मेजर प्रश्नकै कारण जीवनका कथा लेखे। कविता लेखे। उनको लेखनमा जातीयता, लिंग, छुवाछुतका विषय गौढ छन्।

 उनले सपना विरासतमा पाए। उनका बुबालाई गाउँमा सबैले गरेको सम्मानका कारण उनलाई लोभ लाग्थ्यो। मलाई पनि सम्मान गरिदिए हुने सबैले। सम्मानको लायकको पात्र आफूमा सम्मान पाउन आवश्यक गुण हुनुपर्ने उनले बुझे।

लेखनको क्रममा अनेक विचारहरू आउँछन्। जुन कविता बन्छन्। तिनलाई कथा बनाउनतिर लागियो भने बिग्रन्छ। एकखालको विचार आउँछ। जुन कथा बन्छन्। सिर्जनाको गुण हो सार्वजनिकता। सार्वजनिक हुदैँ गर्दा कहिले कविता, कहिले कथा। मान्छेहरू उनलाई लेखनमा चंचले पनि भन्ने गरेको बताउँछन्। आफू एउटै विधामा अडिन नसकेको स्विकार्छन् उनी। आफूभित्रका भाव तरङ्ग  धेरैतिर दौडिन्छ। आफू विभिन्न विधामा फैलनुलाई उनी अन्योचित ठान्दैनन्। उनी भन्छन्, 'म अझै साहित्य सिक्ने क्रममा छू। यहाँ बहुप्रतिष्ठित लेखक साहित्यकार विभिन्न विधामा फैलिदाँ पनि सफल छन्।' विषयवस्तुको आधारमा विधाको छनोट हुने गरेको उनले बताए।

समालोचना

समालोचना गर्दा दुस्‍मनी कमाइन्छ भन्ने एक किसिमको हल्ला छ बजारमा, तर यो विषयलाई उनी नकार्छन्। जब मान्छे समालोचनाको नाममा पूर्वाग्रहित बन्न थाल्छ भने उसले दुस्‍मनी मात्र होइन, असल समालोचक  उपाधिबाहेक सबथोक पाउँछ। हाम्रा समालोचनाहरू लोभमा अडिएका कुरा स्वीकार्ने उनी, कतिपयले व्यक्तिगत कुण्ठा पखाल्न पनि समालोचना गरिरहेको बताउँछन्।

एकथरी समालोचक भने नयाँवाद प्रतिपाद गर्ने भन्दै हल्ला गर्दै हिँड्नेहरू पनि छन्। जुन न समयले मागेको हुन्छ न समाजले। पार्टीका समालोचकले आफ्नो विचारको लेखक आए अब्बलको दर्जा दिने, फरक विचारको लेखकको कृतिलाई निकृष्ट भनिदिने प्रवृत्ति हाबी रहेको छ। पौड्याल समीक्षा र समालोचनाबाट बढी चिनिएका छन्।  नेपाली समाजले टठस्थ र पूर्वाग्रहरहित समालोचकलाई स्वीकार गर्ने गरेको बताउँछन्।

एउटा समालोचक जुनदिन लोभबाट मुक्‍त हुन्छ, त्यसदिन ऊ साच्चिकै समालोचक बन्ने उनले बताए। उनी भन्छन्, 'देशले  कृष्णचन्द्र सिंह प्रधान, इन्द्र बहादुरलाई हृदयमा राखेको छ। किनभने उनीहरू लोभबाट मुक्त थिए। र उनीहरू मेरा आदर्श हुन्।' समालोचक बनेर किताबमाथि प्रश्न गर्छन्। कतिपय समालोचकलाई कृति कस्तो हुनुपर्छ भन्ने थाहा छैन। केही समालोचकहरूले समालोचनमा ख्याति कमाएपछि कृति लिएर आएका छन्। तर, गुमनाम यसरी भएका छन् कि स्वयं लेखकले भनेपछि मात्र कृति बजारमा आएका रहेछन् भन्ने थाहा लाग्छ। कृतिमा के हुनुहुन्न भन्ने थाहा पाउने समालोचकलाई के हुनुपर्छ भन्ने चेत आजको आवश्यकता हो। एउटा समालोचक, समालोचक मात्र भयो भने समस्या हुन्छ। उसले सिर्जना गर्दाको प्रशव वेदना पनि बुझेर ऊ समालोचनाको क्षेत्रमा आउँनुपर्ने बताउँछन् उनी।तर, यो दुई वर्षको अवधिमा उनको एक कथासंग्रह 'त्यसपछि गोदावरी फूलेन' र कविता 'कृति शून्य प्रहरको साक्षी' सार्वजनिक भइसकेको छ।

किन लेख्ने?

फरक समय र फरक परिवेशमा मान्छेले फरक परिचय बनाउँदै जान्छ। प्राध्यापन उनको पेसा हो। लेखन उनको रहर हो। शोख हो। अहिलेको लेखन प्रवृत्ति फास्टफुड जस्तो भएको उनी बताउँछन्। अचेलको साहित्यमा लुगा मात्र छ। त्यो पनि गुडियाको। कतिपय लेखक लेख्नेबितिक्कै समाजमा हेरिने दृष्टिकोण फरक हुन्छ भन्ने मोहले लेखनमा आइरहेको उनले बताए।

स्टेजमा माला भिर्नलाई, नाम कमाउनलाई लेखक हुने होइन। कसैले केही नलेख्दा पनि देश चलिरहन्छ। हावा बहिरहन्छ। जब यिनै चलिरहने र बहिरहने कुराहरूमा जब असन्तुष्टि छ। अभिव्यक्त गर्न आफूसँग केही वैकल्पिक कुराहरू छन् भने लेखक हुने हो। जब भएको, भनिएको र लेखिएको  विषयभन्दा पृथक् केही  भन्नु छ भने त्यो विचारले लेख्न बाध्य भएपछि  उ लेखक बन्छ। वैकल्पिक विचार, धारणा भएको मान्छे बल्ल लेखक बन्छ। भनिसकेका कुराहरू नै बग्याएर लेखेर मात्र लेखक नहुने उनले बताए। अचेल केही लेखकमा सेलिब्रेटी बन्ने हुटहुटीमा लागेको उनी बताउँछन्। भन्छन्, 'कतिपय लेखकसँग लेख्ने विषय छैन तर सेलिब्रेटी बन्ने लोभले लेखिरहेका छन्।' 

नेपाली लेखकको लेखनको स्तर

हाम्रो लेखन अहिले सुस्ताएको उनको विश्‍लेषण छ। पुरानो लेखन विश्वस्तरको रहेको उनी बताउँछन्। उनका अनुसार बिपी, भिक्षु, पारिजात लगायतको पुस्ताको लेखन विश्वस्तरको थियो। बीचमा लेख स्खलित भयो। यहाँ राजनीतिकरण भयो। अचेल लेखकहरू दुई वर्गको अन्तरसंघर्ष लेखिरहेका छन्। प्रेमको विषयमा पनि यस्तै छ।कुण्ठा र यौनलाई प्राथमिकतामा राखेर लेखिरहेका छन्। लेखन अर्थपूर्ण हुनुपर्छ। उनी भन्छन्,'अहिलेको नेपाली लेखक असन्तुष्टि लेखिरहेका छन्। मैले अखबारको समाचार लेखन र साहित्य लेखनमा कहाँनेर विभेद छ ठम्याउन सकिरहेको छैन।' अब लेखक आफैँलाई प्रश्न गर्नुपर्ने बेला आइसकेको छ। उनी भन्छन्, 'लेखकले सधैँ अरूलाई नै दोष देखाएर असन्तोषपूर्ण साहित्य लेखिरहेका छन्। मानौँ लेखक यो देशको यस्तो मसिहा हो,जसले देश धानिरहेको छ। उनी भन्छन्, 'नेपाली साहित्य खस्किरहेको छ। यो अवस्थामा आउनुमा हामी सबै लेखकहरू जिम्मेवार छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.