|

भद्रपुर, (झापा) : भारतले नेपाली भूमिमै सडक किलोमिटर पिल्लर राखेको पाइएको छ। पूर्वी नेपालको मेचीनगरस्थित काँकडभिट्टाको मेची पुलनजिकै भारतले सिलगुढी र बागडुग्राको दूरी सहितको पिल्लर राखेको हो।

नेपाल-भारत सीमा सम्झौता अनुसार दुई देशको दशगजा क्षेत्रमा कुनै पनि गतिविधि गर्न नपाइने उल्लेख छ। तर‍ भारतले नेपाली भूमिमै आएर सडक किलोमिटर पिल्लर राखेपछि सर्वत्र विरोध हुन थालेको छ। मेची पुलमा दिनरात सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ भएकै स्थानदेखि ५० मिटर भित्रै सो पिल्लर राखिएको हो। नेपाली भूमिमा पिल्लर गाडिँदा समेत छेउमै तैनाथ सुरक्षाकर्मी मुकदर्शक बनेको स्थानीयको भनाई छ।

एडिभी कम्पनीमार्फत भारत सरकारका रेखदेखमा निर्माण भइरहेको नयाँ मेची पुल बनाउने ठेकेदार कम्पनीले सो एनएच ३२७ बी सिलगुढी (३२) र बागडोग्रा (१९) किलोमिटर उल्लेख गरेर पिल्लर राखिएको छ। आफूलाइ यस विषयमा जानकारी नभएकाले बुझ्नका लागि लगाइएको पनि जनाए। यता झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भारतले यसरी नेपालतर्फ पीलर गाड्न नपाउने बताए। झापा प्रशासन यस बिषयमा गम्भीर भएको बताउँदै उनले भने, ‘तत्काल नेपाली भूमिबाट पिल्लर हटाउँछौं।’

पिल्ल‍र हटाउन युवा संघको चेतावनी 

युवा संघ झापाले नेपाली भूमिबाट सडक किलोमिटर पिल्लर हटाउन चेतावनी दिएको छ। युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले आफ्नो फेसबुक एकाउन्ट पेजमा पिल्लर राखेको फोटो हाल्दै यस्तो चेतावनी दिएको हो। उनले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई बिहीबार दिउँसो २ बजेसम्मको समय दिएको र उक्त समयसम्म पिल्लर नहटाए आफूहरूले नै फुटाइ दिने बताएका छन्। 'यो सरासर भारतीय ज्यादती र नहेपाइ हो यो सहने कुरा आउँदैन', भण्डारीले भने। उनले आफूहरू गएर अहिले पनि फोर्न सक्ने जनाउदै केही समय प्रशासनलाई कुर्ने उल्लेख गरे।

पिल्ल‍र राख्न पाइँदैन : सडक विभाग

नेपाल भारतको सीमा सम्झौता अनुसार दशगजा क्षेत्रभित्रै यस्तो प्रकारका कुनै पनि पिल्लर राख्न नपाइने सडक डिभिजन कार्यालय दमकमा प्रमुख श्याम यादवले प्रस्टाए। 'काँकडभिट्टामा राखिएको सडक किलोमिटर पिल्लर नेपाली भूमिमा राख्ने भारतलाई कुनै अधिकार नै छैन। यो गलत कार्य भएकोले सो पिल्लर हटाइने छ', उनले भने।

दशगजा छाडेर भारतले आफ्नो सीमा सम्म मात्र यस्तो पिल्लर राख्न पाउने हुलाकी राजमार्ग आयोजनाका सव इन्जिनियर सुरेन्द्र यादवले बताए। ‘भारतले नेपाल आएर सडक पिल्लर राख्दा नेपाली भूमि त्यहीसम्म पर्ने बुझिन्छ। त्यसैले यो सरासर गलत नियत हो', उनले थपे।  यसरी भारतले सडक पिल्लर राखेर नै नेपाली भूमि मिच्दै आएको धेरै घटना बाहिरीएको बताउँदै उनले भने, ‘अहिले पिल्लर नहटाए भविश्यमा पिल्लरसम्म नै भारतले आफ्नो जमिन भनि कब्जा गर्नेछ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.