|

उदयपुर : लिम्चुङबुङ गाउँपालिका उदयपुर जिल्लाको पश्चिम-उत्तरमा अवस्थित छ। यस गाउँपालिकाको सुरुको नाम साबिकको सुनकोसी थियो। स्थानीय सरकार बनेपछि गाउँपालिका नाम परिवर्तन गरिएको हो। यस गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बराहा, बलाम्ता र जाते गरी पाँच वटा वडा छन्। १०६.८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको गाउँपालिकाको जनसङ्ख्या ११ हजार ९९२ रहेको छ।

स्थानीय सरकार बनेपछि लामो समयदेखिको जनप्रतिनिधिविहीन अवस्थाको अन्त्य भएको छ। स्थानीय तह विकास निर्माणको काममा जुटेका छन्। जनप्रतिनिधि सुविधाभोगी बनेको आरोप धेरैतिर लाग्ने गरेको छ। समयमै राज्य सरकारले अधिकार नदिएकोले काम गर्न कठिन भएको जनप्रतिनिधिहरू बताउँछन्। सबैतिरको प्रमुख समस्या कर्मचारी अभाव नै देखिएको छ। 

यसै परिवेशमा लिम्चुङबुङ गाउँपालिकामा के कस्ता काम कारबाही भइरहेका छन्? जटिलता के के छन्? लगायतका विषयमा गाउँपालिका अध्यक्ष मेजरकुमार राई उर्फ मिजाससँग थाहाखबरकर्मी विदुर कटुवालले गरेको कुराकानी:

निर्वाचन भएको दुई वर्ष पुग्न लाग्यो, लिम्चुङबुङमा के–के हुँदै छ?

लिम्चुङबुङका जनप्रतिनिधिहरू, स्थानीय राजनीतिक दल नेताहरू, बुद्धिजीवीहरू र जनता सबै एक भएका छौँ। लामवद्ध भएर लिम्चुङबुङको विकासमा लागिपरेका छौँ। लिम्चुङबुङबाहिर वा भित्र रहेका, सबै लिम्चुङबुङवासी एक भएर विकास र समृद्धिमा लागेका छौँ। लिम्चुङबुङका आम नागरिक अहिले ब्युँझेका छन्। सबै आफ्नो ठाउँ बनाउनु पर्छ भनेर जुटेका छन्। हामीलाई पनि काम गर्ने हौसला बढेको छ। गाउँपालिका गुरुयोजना बनाउँदै छ। ‘समृद्ध लिम्चुङबुङ, सुखी लिम्चुङबुङ’ भन्ने नाराका साथ काम गर्दै छौँ।

भनेर मात्र हुँदैन। नाराले मात्र हुने होइन। समृद्धिको लागि के योजना छ?

विज्ञहरूको साथ लिएर गुरुयोजना बनाउने हो। एभरेस्ट भ्युटप टावर, गाउँपालिकाको कार्यालय भवन, डिजिटल भिलेज प्रोफाइल अन्तिम चरणमा पुर्‍याएका छौँ। सुरक्षा, इन्टरनेट वा सञ्चार, खानेपानी, कृषि, पर्यटन, खेलकुद, विद्युत्, शिक्षा, सडकमा विशेष जोड दिएका छौँ।

मनोमानी रूपमा पैसा खर्च गर्न छोडेका छौँ। जनताले देखेको सपना पूरा गर्न हामी लागिपरेका छौँ। हामीले निर्वाचन जितेपछि सबैलाई गाउँ बनाउन आह्वान गरेका छौँ। उज्यालो लिम्चुङबुङको काम अघि बढिरहेको छ। प्रत्येक वडाहरूमा पोल गाड्ने र तार टाङ्ने काम भइरहेको छ। सबै क्षेत्रमा विकास निर्माणको काम थालिएको छ।

चुनावी घोषणापत्रका प्रतिबद्धताहरू कति पूरा गर्नुभयो त?

९५ प्रतिशत काम सुरु भएका छन्। चुनावी घोषणापत्रको आधारमा देखाएको सपना पूरा गर्दैछु। त्यही मेरो घोषणापत्रलाई जनताले अनुमोदन गरेर निर्वाचन जिताएका हुन्। जनताले दिएको निर्देशन, विश्वासलाई अक्षर/अक्षर पालना गरिरहेको छु। मैले देखाएका सपनाहरू वा जनताले चाहेको विकास निर्माणका कामहरू दिगो विकाससँग सम्बन्धित छन्। आजको भोलि जादुको छडी हुँदैन। त्यो कतिपय मेरो कार्यकालपछि देखिने छ। कति देखिँदै जाने छन्।

तपाईले गरेका कामहरू बुँदागत रूपमा भन्न सक्नु हुन्छ? 

विद्युत् सेवा विस्तार हो। अँध्यारो लिम्चुङबुङलाई उज्यालो बनाउन प्रदेश र संघीय सरकारसँग समन्वय गरेर गाउँपालिकाभर विद्युत् विस्तारको काम जारी छ। खानेपानीको हाहाकार हटाउन सुनकोसी खानेपानीको योजनाको डिपिआर बनेको छ। पर्यटन प्रवर्द्धनको काम गर्दै छौँ। इलाका प्रहरी कार्यालय स्थापना गरी प्रहरीको भवन बनाउँदै छौँ। प्रत्येक माध्यमिक तहका विद्यालयमा इ-लाइब्रेरीको व्यवस्था गर्दै छौँ। जिआइएसमा आधारित डिजिटल भिलेज प्रोफाइलको काम हुँदै छ। बर्खामा पनि सडकमा गाडी गुड्न सक्ने भएको छ।

पर्यटनका लागि नि?

एभरेस्ट भ्युटप पर्यटन विकास समिति गठन गरेका छौँ। जसको नेतृत्व ज्ञानबहादुर राईले गर्नुभएको छ। हङकङमा लामो समय बसेका, हङकङको विकास निर्माणलाई नजिकबाट नियालेका व्यक्ति हुनुहुन्छ। त्यही समितिले आउँदै गरेको नयाँ वर्ष २०७६ को वैशाख १ देखि ५ सम्म विभिन्न सांस्कृतिक महोत्सव एभरेस्ट भ्युटपमा गर्दै हुनुहुन्छ। यसरी हेर्दा लिम्चुङबुङ टुरिजमको हबको हुँदैछ। यसमा सबैको साथ सहयोग छ। प्रदेशकै नमुना बनाउन लागिपरेका छौँ। हलेसीसँगै लिम्चुङबुङ जोडिएको छ। हलेसी पूर्वको पशुपतिनाथ भनेर चिन्छिन्। लिम्चुङबुङ हलेसीको गेट हुनेछ। सप्तरीबाट सिधा रूपमा लिम्चुङबुङ हुँदै हलेसी पुग्ने सडक धमाधम निर्माण भइरहेको छ। हलेसी र लिम्चुङबुङबीचमा रहेको सुनकोसी नदीको बतासे घाटमा यस वर्षबाट बेलिब्रिज बनाउँदै छौँ। पक्की पुलको योजनासमेत राष्ट्रिय योजनामा परेको छ। हलेसीधाम लिम्चुङबुङको सहयात्री हुँदै अघि बढेको छ।

महोत्सव कस्तो हुन्छ?

यो उदयपुरकै उच्च भागमा गर्न लागिएको सांस्कृतिक महोत्सव हो। यहाँ विभिन्न जातजातिका संस्कृति, धर्म, संस्कारका नृत्य तथा सङ्गीतको प्रतियोगिता गराइने छ। बाहुन क्षेत्रीको वालननाच, मगरको हुर्रा, राईको चण्डी वा साकेला नाचलगायतको धेरै जातजातिका हुनेछन्। यो महोत्सव भनेको लिम्चुङबुङको पहिलो महोत्सव हो। यहाँ लिम्चुङबुङमा भएका कला संस्कार संस्कृति, खानाका परिकार, भेषभुषा, लिम्चुङबुङमा उत्पादन हुने वस्तुहरूको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले पनि आयोजना गरिएको महोत्सव हो।

अर्को प्रसङ्ग, गाउँपालिकाले यात्रुबस किनेको छ। किन त्यसको आवक्यकता पर्‍यो?

म व्यक्तिगत लाभका लागि राजनीतिमा आएको छैन। जनताको खुसीका लागि राजनीति गरेको हुँ। हिजो पनि मसँग गाडी थिएन, आज पनि छैन।  भोलि आवश्यक परे पनि चढ्न सक्दिन। भोट दिने जनता पैदल हिँड्ने अनि, भोट पाएर जित्ने जनप्रतिनिधि गाडीमा हुँदैन भन्ने मेरो मानसिकता हो। त्यसैले जनप्रतिनिधिलाई सवारी साधन नकिनेर यात्रुबस किनेको हो।

यो संघीयता र स्थानीय तह ठूलो बलिदानबाट प्राप्त भएको हो। हाम्रो नाफाको जीवन हो। हजारौँले ज्यान गुमाएपछि प्राप्त भएको हो। त्यही स्थानीय तहका जनप्रतिनिधिहरू सुविधाभोगी हुनु राम्रो होइन। जनताबाट निर्वाचित भएका हामी जनप्रतिनिधिले जनताको लागि काम गर्ने हो। 

स्थानीय सरकारलाई संविधानप्रदत्त अधिकार अझै दिइएको छैन भन्ने आवाज उठ्न थालेको छ नि?

अहिले तीन तहको सरकार छ। यी तीनै तहका सरकार संविधानअन्तर्गत बनेका हुन्। धेरैले भन्छन्, संघ र प्रदेशअन्तर्गत स्थानीय तह हो। यहाँ गलत व्याख्या भइरहेको छ। स्थानीय सरकार छुट्टै सरकार हो। 

तर, संविधानले दिएका केही अधिकारहरू स्थानीय तहलाई संघीय सरकारले हस्तान्तरण नगर्दा समस्या भएको छ। प्रदेश सरकार राम्रोसँग काम गर्न सकिरहेको छैन। संघबाट प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकार अझै पाउन बाँकी नै छ। संघीय सरकारले प्रदेश र स्थानीय तहलाई त्यो अधिकार समयमै दिए राम्रो हुने थिए।

लिम्चुङबुङमा कर्मचारीको अवस्था कस्तो छ?

लिम्चुङबुङमा कर्मचारीको अभाव छ। एक जना प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ। अहिलेको कर्मचारी समायोजन ‘रातभरि करायो दक्षिणा हरायो’ भने जस्तै भएको छ। हामीकहाँ अनुभवी कर्मचारीको कमी छ। एक्लो प्रशासकीय अधिकृतको भरमा छ।

संघ र प्रदेशमा कर्मचारी माग्नु भएन?

मागिसकेका छौँ। कृषि, पशुका दरबन्दीअनुसारका कर्मचारी आएका छैनन्। पशुको पाँचै वडामा कर्मचारी छैनन्। तर पनि हामीले आफ्नै बलमा काम गरिरहेका छौँ। संघ र प्रदेश पनि ताकेता गरेर कर्मचारी मागिरहेका छौँ। पाएका छैनौँ। म गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्य पनि हुँ। त्यहाँबाट पनि लिम्चुङबुङमा कर्मचारी अभाव भएकाले माग गरिरहेका छौँ। देशैभरिका स्थानीय तहमा कर्मचारी अभाव भएकाले नगरपालिका महासंघ र गाउँपालिकाका महासंघले मोर्चाबन्दी गरेर कर्मचारी माग्ने काम पनि जारी छ।

तपाईको कार्यकाल सकिँदा लिम्चुङबुङ कस्तो हुनेछ?

लिम्चुङबुङ गाउँपालिकाका पर्यटनको युगमा प्रवेश गरिसकेको हुनेछ। अँध्यारोमुक्त हुनेछ। इलाका प्रहरी कार्यालय खडा हुनेछ। खानेपानी समस्या हुँदैन। डिजिटल गाउँपालिकाका हुनेछ। गुरुयोजनाका साथ विभिन्न क्षेत्रका विकास निर्माणको काम एकसाथ अघि बढ्ने छ। कृषि, सडक, स्वास्थ्य, शिक्षा, खेलकुद, विद्युत्, सञ्चारका क्षेत्रमा फड्को मारेको हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.