|

काठमाडौं :  निरन्तर शनिबारकाे नियमित रचना वाचन सम्पन्न भएको छ। यस पटककाे शृङ्खलामा अतिथिका रूपमा वरिष्ठ गजलकार ज्ञानुवाकर पाैडेल उपस्थिति रहेका थिए। कार्यक्रममा बाेल्दै पाैडेलले आफ्नाे गजल यात्राका राेचक अनुभूतिहरु सुनाए। तिसकाे दशकबाट गजल लेख्न थालेकाे कुरा बताउँदै उनले सुरुमा गजल लेख्दा यस्ताे पनि गजल हुन्छ र ? भनेर केहीले प्रश्न गरेकाे सम्झना गरे।

 उनले नेपालमा अहिले गजलकाे माहाेल निकै बढेकाे भए पनि दक्षिण एसियाका अन्य देशकाे दाँजाेमा पुग्न नसकेकाे धारणा व्यक्त गरे। नेपाली गजलकाे पुन:जागरण कालमा कवि-आख्यानकारहरुकाे भिडमा गजल लेख्नेहरु औँलामा गन्न पनि नपुग्ने अवस्था रहेकाे स्मरण गर्दै अहिले गजल लेख्नेहरुकाे लहर देखेर खुसी लागेकाे  उनले बताए। केहीले बहरकाे हाउगुजी देखाएर नयाँ पुस्तालाई अलमल्याउन खाेजेकाे भएपनि नयाँ पुस्ता नअल्मलिएर अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे।

गजलमा काव्यात्मकता मुख्य तत्त्व भएकाे भन्दै शास्त्रीयताकाे मापन बाेक्राका आधारमा हैन गम्भीरताका आधारमा हुनु पर्ने पौडेलले जिकिर  गरे। काव्य सिर्जनामा प्रतिभा जत्तिकै अभ्यास पनि आवश्यक भएकाे भन्दै आफू पनि निरन्तरकाे अभ्यासका कारण यहाँसम्म आइपुगेकाे बताए। मन्तव्यपछि पाैडेलले करिब एक दर्जन गजल र मुक्तकहरु सुनाएर सहभागिलाई मन्त्रमुग्ध पारे। कार्यक्रममा सुदर्शन शर्मा, इन्द्र लम्साल, पूर्णिमा प्रतिबिम्व, काशीराम बजगाई, सुनिल शर्मा, साेझाे गाउँले लगायतले आफ्ना रचना सुनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.