|

डोल्पा : पुरानो कारगार भवन जीर्ण छ। कैदीबन्दी बस्ने भवनको गारो ठाउँठाउँमा चिरा परेकाछन्। भवनको गारो र पर्खाल आफै भत्किन थालेको छ।

कैदीबन्दीलाई दैनिक जसो जीर्ण भवन भत्केर ज्यान जाने हो कि भन्ने पिरलो छ। तर आडैमा चिटिक्क परेको नयाँ कारगार भवन छ। ठूलो क्षेत्रफलमा फैलिएको छ। भवन मजुबुतनै देखिन्छ। तर त्यो भवनमा कैदीबन्दी सार्न राज्यको ताकत छैन। किनभने भवन निर्माण पूरा हुन सकेको छैन। बाहिरी निर्माणको धेरै जसो काम सकिए पनि भित्रि काम नसकिएको भन्दै ठेकेदारले वर्षौदेखि त्यसै टारिरहेकाछन्। जिल्लादेखि केन्द्रसम्मका सरोकारवाला निकायले रमिता हेरिरहेकाछन्।

भत्कियो कारगार

मंगलबार राति त्यस्तै घटना घट्यो सदरमुकाम दुनैमा। भेरीपारि रहेको जिल्ला कारागारको करिव ७ मिटर भन्दा धेरै पर्खाल भत्कियो। जीर्ण भवनभित्र बस्ने कैदीबन्दीको निगरानी गरिरहेका सुरक्षाकर्मीको होस गुम्यो। पर्खाल भत्केको ठूलो आवाजले सुरक्षाकर्मीको निन्द्रा हराम भयो। कतै कैदीले नै पर्खाल फुटायर कैदीबन्दी सबै भागेका त होइनन् यस्तै कुरा दिमागमा खेल्यो। तर उनीहरूले भनेजस्तै भएको थिएन। कैदी बन्दीहरू मस्तले निदाइरहेका थिए।

उनीहरू मध्ये धेरैलाई आफ्नो सजाय कहिले भुक्तान हुन्छ होला भन्ने पिरलो थियो होला। कतिपयलाई अपराध गरेकोप्रति पश्चतापको रापले पोल्दै थियो होला। तर कसैले पनि पर्खाल फुटाउन कोसिस गरेका भने थिएनन्। कहाली लाग्दो जेल जीवनको अन्त्य गर्न भाग्न पनि कोही खोजेका थिएनन्। मध्यरात माटोको गारो लगायर बनाइएको पर्खाल जीर्ण भएका कारण भत्किएको थियो। एक्कासी मध्य रातमा जीर्ण भवनको पर्खाल गड्याङ भत्कियो। पर्खाल भत्किने बित्तिकै सुरक्षाकर्मीहरू भेला भए।

जिल्ला स्थित सुरक्षा निकायका आ आफ्ना हाकिमलाई खवर गरियो। उनीहरूले सोधे पर्खाल भत्किँदा कैदी बन्दी भागेका हुन्। होइन कोही पनि भागेका छैनन् पर्खाल आफै भत्किएको हो उनीहरूले आफ्ना हाकिमलाई भने। मस्त निन्द्रामा सुतिरहेका हाकिमले चैनको सास फेरे। उनीहरूले भत्किएको पर्खाल नबनाउन्जेल सुरक्षाकर्मी थप्न तथा कैदीबन्दीको निगरानी बढाउन कडा निर्देशन दिइयो।

भोलिपल्ट बिहानै सबै प्रमुखहरू भेला भएर के कसरी भत्क्यो जाँचबुझ गरे र तत्काल बनाउन निर्देशन दिइयो। तर निर्माणाधीन नयाँ कारागार भवन निर्माणका लागि ताकेता कसैले गरेनन्। जीर्ण भवन भत्केर मानवीय क्षति हुने हो कि भन्नेतर्फ कसैको पनि ध्यान गएन।

छ वर्षमा पनि भवन बनेन

दशक भन्दा अगाडि बनेको कारागार आफै भत्किन थाल्दा समेत आडैमा रहेको निर्माणधीन नयाँ कारगार भवनले पूर्णता पाउन सकेको छैन। छेउमै रहेको करिब छ वर्ष अघि निर्माण कार्य सुरु गरिएको नयाँ कारागार भवन निर्माणाधीन अवस्थामा छ। ठेकेदारको बहानाबाजी मै भवन निर्माण कार्य टारिरहेको छ। नयाँ कारागार भवन निर्माणका लागि भवन डिभिजन कार्यालय जुम्लाले ३ करोड ५२ लाख ५५ हजार रकम बिनियोजन गरेको थियो। बिस २०७२ साल असार मसान्तसम्ममा भवनको निर्माणकार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए तापनि काम सुरु गरेको छ वर्ष बित्न लाग्दा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

यता पुरानो कारागारका गारोहरू ठाउँठाउँमा चिरा फाटेकाछन्। कतिखेर भवन भत्किने हो र कैदीबन्दी थिचिने हुन चिन्ताको बिषय बनेको छ। तर लामोसमयदेखि निर्माणाधीन कारगार पटक–पटक म्याद थप्दा समेत बन्न सकेको छैन्। 'पुरानो कारागार भवन जीर्ण भएको तीन वर्ष बितिक्यो। जीर्ण भवनका कारण कैदी बन्दीहरू ढुक्कसँग निदाउने स्थिति छैन। कहिले बन्दै गरेको नयाँ भवनले पूर्णता पाउने हो र कैदीबन्दी, सुरक्षाकर्मीले सुरक्षित महशुस गर्ने हुन्' कारागार प्रमुख जेलर दिनेशकुमार रावतले चिन्ता ब्यक्त गरे।

कुल २० पुरुष र १० महिला क्षमता रहेको कारागारमा हाल ३२ जना पुरुष कैदीबन्दीहरू थुनामा रहेका छन। महिला एक जना पनि नरहेकोले पुरुषलाई पनि महिलाको थुनुवा घरमा राखिएको कारागार कार्यालयले जानकारी दिएको छ। समयमा नयाँ भवन नबन्दा कैदी र सुरक्षाकर्मीलाई समस्या परिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।

भवन डिभिजन कार्यालय जुम्लाले समयमा नयाँ भवनको काम पूरा नगरी दिँदा यस्तो दुख भोग्नु परेको प्रजिअ केशरीले बताए। माटो र ढुंगाको पर्खाल एकातिरको सबै भत्किएपछि कैदीहरू भाग्ने हुन कि भन्ने चिन्ता बडेको छ, तत्काल नयाँ भवनमा सार्ने ब्यवस्था नगरिए बर्खा याममा झनै कठिन हुने प्रजिअ केशरीले बताए।

मानव अधिकार आयोगको आपत्ति

राष्ट्रिय मानव अधिकार आयोगले जीर्ण कारगार भवनको धेरै पटक अनुगमन गरिसकेको छ। अनुगमनको क्रममा कैदीबन्दीले जीर्ण भवनको त्रासमा सजाय भुक्तान गरिरहेको बताउँदै आपत्ति जनाउँदै आएको छ। यस अघि मानव अधिकार क्षेत्रीय कार्यालय नेपालगञ्जबाट आएको टोलीले कारागार अनुगमनपछि दशकौँ पुरानो जीर्ण भवनमामा कैदी नराख्न निर्देशन दिएको थियो। 

अनुगमनपछि जिल्लास्थित कार्यालय प्रमुखहरूसँगको भेलामा पनि नयाँ भवनको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यथाशीघ्र कैदीबन्दीहरू सार्न निर्देशन दिएको थियो। आयोग मात्रै नभइ मानव अधिकारको क्षेत्रमा कामगर्ने विभिन्न संघ,संस्था तथा संञ्चार माध्यमकहरूले समेत नयाँ भवनको निर्माणमा ढिलाइ भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्ष गराएका थिए। तर अहिलेसम्म पनि भवनले पूर्णता पाउन सकेको छैन। यसैगरी भवन निर्माणमा ढिलाइ गरेर पेल्दै गए पुरानो भवन भत्केर मानवीय क्षति हुन सक्ने सम्भावना रहेको डोल्पा पुगेर दुइ पटक कारागार भवन अनुगम गरिसकेका मानव अधिकार आयोगका अधिकृत टंक खनालले बताए।

भवनका विषयमा भवन डिभिजन नै बेखवर

उता भवन डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर चन्द्र खड्गाका अनुसार एक चरणको ठेक्का समपन्न भएको र फेरि अर्को चरणको ठेक्का खोली निर्माण भएपछि मात्रै कारागार हस्तानान्तरण गरिने बताए। खड्काले अझै पनि भवन निर्माणले कहिले पूर्णता पाउने स्पष्ट रुपमा बताएका छैनन्। नयाँ बन्दै गरेको कारागार भवन धेरै क्षेत्रफलमा फैलियको र राम्रो भए पनि कैदीबन्दीले उहीँ वर्षौ पुरानो जीर्ण भवनमा जीवन बिताउनु परेको गुनासो गरेका छन्।

साघुरो कैदी बन्दी गृहमा खचाखच कैदीबन्दीहरू राख्दा सुधार गृहको अनुभूति नभएको कैदीको गुनासो छ। करोडौँ खर्चमा निर्माण भइरहेको भवनले वर्षौसम्म समेत पूर्णता पाउन नसक्दा समेत कसैको ध्यान जान नसकेको सरोकारवालाले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.