सरकार राजस्वमुखी हुँदा समस्या भएको विश्लेषकको दाबी

|

विराटनगर : विराटनगर भन्सार कार्यालय राजस्व असुलीले वीरगञ्ज र भैरहवा भन्सार कार्यालयपछि तेस्रो स्थानमा रहँदै आएको छ। प्रदेश १ अन्तर्गत विराटनगर र भारतको जोगवनी बजारसँग जोडिएको यो नाकाबाट राज्यले मनग्ये राजस्व असुली गर्छ। औद्योगिक नगरी विराटनगरमा यही नाकाबाट धेरैजसो कच्चा पदार्थका मालवस्तु आयात हुन्छ। 

नाकाबन्दी, बन्द हडताल र जुनसुकै अस्तव्यवस्त हुँदा पनि विराटनगर भन्सार कार्यालयले राजस्व असुली लक्ष्यअनुसार गर्दै आएको छ। तर, चालू आर्थिक वर्षमा भने उक्त भन्सार कार्यालयले राजस्व असुली लक्ष्य अनुसार गर्न सकेको छैन। विराटनगर भन्सार कार्यालयमा लक्ष्य अनुसार राजस्व असुली नभएको विषयमा भन्सार कार्यालयका प्रमुख मिमांशु अधिकारीको भनाइ र अर्थविश्लेषकहरूको भनाइ फरक–फरक छ। 

भन्सार कार्यालयका अनुसार यस वर्ष ४२ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य छ। हालसम्म भन्सार कार्यालयले उक्त लक्ष्य अनुसार राजस्व असुली गर्न सकेको छैन। विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउन र असोज महिना बाहेक अन्य ६ महिनामा राजस्व लक्ष्य अनुसार उठाउन नसकेको देखिएको छ। 

तथ्याङ्कअनुसार भन्सार कार्यालयले चालू आवको साउनमा १ सय दशमलव ६८, भदौमा ९० दशमलव ४९, असोजमा १ सय ३३ दशमलव ५६, कार्तिकमा ९२ दशमलव ८२, मंसिरमा ९३ दशमलव ८७, पुसमा ९३ दशमलव १०, माघमा ८० दशमलव ४६ र फागुनमा ८२ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साउन र भदौ महिनाबाहेक अन्य सबै महिनामा राजस्व सङ्कलन लक्ष्य भन्दा बढी देखिन्छ। 

गत आर्थिक वर्षमा विराटनगर भन्सार कार्यालयले लक्ष्यभन्दा ५.०२ प्रतिशत राजस्व बढी सङ्कलन गरेको थियो। गत वर्ष भन्सार कार्यालयको लक्ष्य ३१ अर्ब, २४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब ८१ करोड भन्दा बढी राजस्व सङ्कलन भएको थियो। यो आर्थिक वर्षमा भने ४२ अर्ब ५३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा आठ महिना बितिसक्दा ५९ दशमलव ८६ अर्थात् २५ अर्ब ४६ करोड मात्रै राजस्व सङ्कलन गरेको छ। चैत महिनाको राजस्व असुली पनि लक्ष्य अनुसार जान नसकेको तथ्याङ्क भन्सार कार्यालयको छ। विराटनगर भन्सार कार्यालयबाट दैनिक २ सय ५० देखि ३ सय वटासम्म मालवाहक ट्रक तथा कन्टेनर जाँचपास हुने गरेको छ। 

व्यापारीले विराटनगर भन्सार कार्यालयबाट आयात हुने ट्रेडिङका मालबस्तु वीरगञ्ज भन्सार कार्यालयबाट आयात हुँदा राजस्व असुली कम भएको बताए पनि भन्सार कार्यालयले भने त्यस्तो कुरा अस्वीकार गरेको छ। ‘विराटनगर भन्सार कार्यालयबाट आयात हुने मुख्य बस्तुहरूमा ट्रेडिङका सामान खासै पर्दैन,’ भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले भने, ‘ट्रेडिङका मालबस्तु कहिले आयात कम हुने कहिले बढी हुने गर्छ, यसले राजस्वमा त्यति धेरै तल माथि पार्ने अवस्था छैन।’ कुन–कुन सामान आयात कम भयो भन्ने कुराको तथ्याङ्क विश्लेषण गर्न केही समय लाग्ने बताउँदै पौडेलले चिनी आयात रोकिएसँगै राजस्व असुली पनि प्रभावित भएको दाबी गरे।

आर्थिक वर्ष ०७४/०७५ मा विराटनगर भन्सार कार्यालयबाट ३ अर्ब ५५ करोड मूल्य बराबरको चिनी आयात भएको थियो। गत वर्ष चिनीले राजस्व सङ्कलनमा ४ .४३ प्रतिशत योगदान गरेको थियो। तर, यो आर्थिक वर्षमा चिनी आयात अत्यन्तै न्यून छ।

राजस्व असुली लक्ष्य अनुसार नहुनुमा मालवस्तु आयात नै कमी भएको भन्सार कार्यालयका प्रमुख मिमांशु अधिकारीको पनि दाबी छ। तर, के नेपालमा ती सामानहरू उत्पादन भएर कम भएको हो? या औद्योगिक कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरू बन्द भएका हुन्? उद्योगी तथा अर्थ विश्लेषक अविनाश बोहराका अनुसार स्थानीय बजार शिथिल रहेको, बैङ्कमा पैसा नभएको, ब्याजदर बढ्दाको असर र सरकारले गर्नुपर्ने पुँजीगत खर्च नभएको अवस्थाले पनि मालवस्तु आयात कम भएको हुनसक्ने बताए। यही अवस्था हेर्ने हो भने राजस्व लक्ष्य अनुसार उठ्न सक्ने अवस्था नहुने बोहराको भनाइ छ। 

बोहराले अन्तर्राष्ट्रिय प्राक्टिसमा राजस्व यति उठाउने, उति उठाउने भन्ने लक्ष्य नै नहुने बताए। ‘अन्तर्राष्ट्रिय प्राक्टिसमा राजस्व यति उठाउने, उति उठाउने भन्ने लक्ष्य नै हुँदैन,’ बोहराले भने, ‘व्यापार व्यवसाय बढेपछि राजस्व बढ्ने हो, सरकारले कसरी आन्तरिक व्यापार व्यवसाय बढाउन सकिन्छ भन्ने कुरामा ध्यान नदिएर राजस्व मुखी हुँदा सामान आयात कम भएको हो।’

चिनीको कारण भन्सारको राजस्व सङ्कलन नघटेको उनको भनाइ छ। ‘यो भन्दा अगाडि पनि चिनी आएको थिएन नि, त्यस बेला त लक्ष्य अनुसार राजस्व उठेकै थियो’, बोहराले भने, ‘भारतीय वस्तुको आयात घटेको छ र भन्सार कार्यालयमा बिलबिजकलाई मान्यता नदिई सन्दर्भ मूल्य सूचीका आधारमा मालवस्तु जाँचपास भइरहेको कारण आयातमा कमी आएको देखिन्छ।’

कारोबार गरेभन्दा बढी बिल विजक बनाएर बढी कर तिर्नुपर्ने भएपछि सामान आयात कम भएको र देशैभर राजस्व सङ्कलन प्रभावित भएको जानकारहरू बताउँछन्। सामान आयात कम हुँदा बजारमा आपूर्ति चाही कसरी भइरहेको छ भन्ने प्रश्नमा बोहराले स्टक माल र पहिले नै आयात भएको वस्तुले धानिरहेको बताए। केही समयपछि बजारमा वस्तुको अभाव सुरु हुनसक्ने उनको दाबी छ। 

विराटनगर भन्सार कार्यालयबाट बढी आयात हुने बस्तुहरूमा हाइस्पिड डिजेल, चिनी, सीआर सिटट, पेट्रोल, मोटरसाइकल, एमएस विलेट, पोलिथिन दाना, स्टिल वायर रेड ब्वायल र एमएस, एचआरसिट र तयारी कपडा रहेको छ। यही अवस्थामा लक्ष्य अनुसार राजस्व सङ्कलन हुन सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफमा कार्यालय प्रमुख अधिकारीले भने लक्ष्य धेरै टाढा नरहेकोले पूरा हुने दाबी गरे। अर्थ विश्लेषक बोहराले भने लक्ष्य अनुसार राजस्व सङ्कलन हुने कुरामा आफू विश्वस्त नभएको बताए।

यता, देशभित्र मालवस्तु विक्री गर्दा भन्सारमा कायम गरिएको मूल्यभन्दा घटी मूल्यमा कुनै व्यवसायीले विजक जारी गरेको पाइएमा आन्तरिक राजस्व कार्यालयले छानबिन र अनुसन्धान गरेर कर निर्धारण गर्ने भन्दै परिपत्र गरेको छ। 

आन्तरिक राजस्व विभागले मातहतका कार्यालयमा परिपत्र गर्दै छानबिन र अनुसन्धान गरी कर निर्धारण गर्न निर्देशन गरेको हो। परिपत्रमा भन्सारले कायम गरेको मूल्यभन्दा घटी मूल्यमा विक्री गर्ने तर भन्सार मूल्याङ्कनअनुसार तिरेको मूल्य अभिवृद्धि कर क्रेडिट लिने गरेका कारण कर सङ्कलनमा नकारात्मक असर पर्न गएको उल्लेख छ। उक्त पत्रको उद्योगी व्यवसायीले भने विरोध गर्दै आएका छन्।

विश्लेषक बोहराले नेपाल विश्व व्यापार सङ्घको सदस्य राष्ट्र भइसकेको कारण यसखालका परिपत्र गर्ने र राजस्व उठाउने नाममा पुरानै तरिका अपनाउने कुरा सान्दर्भिक नभएको बताए। 

भन्सार कार्यालयले कुनै पनि मालवस्तुको मूल्याङ्कन कसरी बढाउने र भन्सारको राजस्व असुली लक्ष्य अनुसार पुर्‍याउने भन्ने चिन्तामा रहेको कारण ड्युटी बढाएको, भन्सारका कर्मचारी र एजेण्टको चेपुवामा उद्योगी व्यवसायी परेको मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाको भनाइ छ। भन्सार कार्यालयको मनपरीका कारण यहाँबाट आउने ट्रेडिङको मालबस्तु आउनै छोडेको र बिललाई मान्यता नदिई बढी मूल्याङ्कन गर्न खोज्दा व्यापारीले वीरगञ्जबाट ट्रेडिङका सामान आयात गर्न थालेको उद्योग सङ्गठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.