डाक्टरहरूको आन्दोलनले बिरामीलाई सास्ती

|

काठमाडौं : केही वर्षअघि मुखमा क्यान्सर भएर उपचार गराइरहेका  अर्घाखाँचीका ४७ वर्षीय शेरबहादुर  सुनारको खुट्टामा क्यान्सर भयो। जसले गर्दा आइतबार उनलाई श्रीमती मीनाले उपचारका लागि ट्रमा सेन्टर ल्याइन्। हातमा डेढ वर्षीय छोरालाई लिएर अर्घाखाँचीदेखि श्रीमानको उपचार गर्न आएकी मीनालाई टिकट काट्न काउन्टर जाँदा त्यतिबेला मात्र थाहा भो डाक्टरहरूको आन्दोलनले आज उपचार हुँदैन।

मीनाले भनिन्, 'मुखमा भएको क्यान्‍सर खुट्टामा पनि सरेको थाहा भएपछि आजबाट थप उपचार गर्ने भनेर डाक्टरले बोलाएकोले टाढादेखि आयौँ तर उपचार गर्नै पाइएन।' उनले थपिन्, 'टाढादेखि आएर पनि उपचार गर्न नपाउँदा मनै खिन्न भएको छ।'

यस्तै, हात भाँचिएपछि धादिङबाट उपचारका लागि राजधानी आएका ४५  वर्षीय मंगलबहादुर सुनारको हातमा अप्रेसन  गर्नुपर्ने थियो। तर, चिकित्सकहरूको आन्दोलनले गर्दा उनी त्यसै घर फर्किए। उनले भने, 'आज अप्रेसन भनेर समय तोकिएको थियो जसले गर्दा धादिङदेखि आएको तर नहुने भो।' यी बिरामी त प्रतिनिधि पात्र मात्रै हुन्। नेपालकै जेठो र केन्द्रीय अस्पतालका रूपमा चिनिएको वीर अस्पताल र ट्रमा सेन्टरमा दैनिक चार/ पाँच सयभन्दा धेरै बिरामी उपचारका लागि आउने गर्छन्।

गरिबको अस्पताल भनेर चिनिएका यी अस्पतालमा आउने धरै बिरामी विभिन्न जिल्लाबाट स्वास्थ्य परीक्षणका लागि आएका सयौँ बिरामी अस्पताल बन्द हुँदा उपचार नै नगरी फर्किन बाध्य छन्।

बिहान १० बजे थाहा टिम वीर अस्पताल र ट्रमा सेन्टर पुग्दा  बिरामीहरू बन्द रहेको टिकट काउन्टर खुल्छ कि भनेर कुरिरहेका देखिन्थे। तर, चिकित्सकहरू भने अस्पताल परिसरमा ब्यानर र प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन्।  संघीयताअनुसार स्वास्थ्य सेवाका कर्मचारीको समायोजन सार्वजनिक गरिएको समायोजन सूचीले आफूहरूलाई अन्याय गरेको भन्दैआफूहरूको माग पूरा नभएको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले देशभरका सरकारी अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गराएका छन्। आन्दोलनको तेस्रो दिन धरै बिरामीहरूको भिड हुने वीर र ट्रमा अस्पतालमा डाक्टरहरूले बिरामीलाई सेवा दिन छोडेर आन्दोलनमा उत्रिँदा बिरामीले उपाचार पाएका छैनन्।

पटक-पटक सहमति गरेर आफूहरूलाई सरकारले धोका दिएको भन्दै आएका चिकित्सकहरूले यसपटक आफूहरूको आन्दोलन वार कि पार पार्ने भन्दै आन्दोलनमा उत्रिएका छन्। यसपालि आफूहरूका माग पूरा नभए अन्तिम विकल्पमा सरकारसमक्ष राजीनामा बुझाउने चिकित्सक संघले यसअघि नै  घोषणा गरिसकेको छ। संघका अध्यक्ष पाण्डेका अनुसार हालसम्म सात सय चिकित्सकहरूको राजीनामापत्र संकलन भइसकेको बताए। उनले भने, 'हामीले सात सयजना चिकित्सक साथीहरूको राजीनामा संकलन गरिसकेका छौँ,माग पूरा नभए जुनसुकै बेला सामूहिक राजीनामा बुझाउनेछौँ।' यस्तै, सरकारले तयार पारेको समायोजनपत्रसमेत आफूहरूले नबुझ्ने संघले घोषणासमेत गरिसकेको छ। हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत १८ सय सरकारी चिकित्सकको दरबन्दी रहेकोमा देशभ १४ सय मात्रै चिकित्सक कार्यरत रहेको मन्त्रालयको तथ्यांक छ। जुन  चिकित्सकको दरबन्दी मन्त्रालयले देशमा एक करोड जनसंख्या भएको समयमा निर्धारण गरेको थियो।

यसअघि पुस २२ गते पहिलो आन्दोलन गर्दा सरकारले आठबुँदे सहमति गरेर आन्दोलन स्थगित गरेका चिकित्कहरूले २७ माघमा पुन: दोस्रो आन्दोलन गरेका थिए। तर, हाल तेस्रो आन्दोलन गरेका चिकित्सकहरूको आन्दोलनको तेस्रो दिन आइपुग्दासम्म सरकारले आफूहरूको मागलाई कुनै सुनुवाइ नगरेको संघका अध्यक्ष डा पाण्डे बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.