|

काठमाडौं : युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता संग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ।

दोस्रो क्रान्ति दिवस नेपाली साहित्यले आइतबार राजधानीमा गरेको क्रान्तिनक्षेत्र–२०७५ तथा बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवं साँस्कृतिक कार्यक्रममा उक्त कविता संग्रहको पूर्वमन्त्री कृपासुर शेर्पा, प्रदेशसभा-३ का सांसद् रामेश्वर फुयाँल र साहित्यकार जगन्नथा देवकोटाले संयुक्त रूपमा गरेका हुन्। उक्त संग्रहमा ४८ वटा कविताहरू छन्।

संग्रहको समीक्षा गर्दे साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’ ले संग्रहको शीर्षकले, साजसज्जाले कविताहरूको गाम्भीर्यतालाई प्रस्ट्याएको बताए। संग्रहभित्र शिक्षा, समाज सेवा, समाजका विभिन्न अंगहरूको वर्णन, विश्लेषण र राजनीतिका सकारात्म र नकारात्म पक्षप्रति व्यङ्ग्य गरिएका कविताहरू रहेको उनले बताए। उनले भने, ‘कृतिभित्र शिक्षा छ। राजनीतिको सकारात्मक पक्ष र नकारात्मक पक्षप्रति व्यङ्य छ। समाज सेवा र समाजका विभिन्न अङ्गहरूको पनि यसमा वर्णन, विश्लेषण रहेको छ।’

उनले बालबालिकाहरू, वृद्धहरू, युवाहरूले देशलाई माया गरेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले नै ‘हिमालको देश मेरो’ कविता संग्रहको रहेको बताए।

त्यस्तै, अर्का समीक्षक रमेश शुभेच्छुले फरक शैलीका कविताहरूले कविले क्षमता प्रदर्शन गरेको बताए। उनले भने, १४ वटा बाल कविताहरू छन्। ४ वटा प्रौढ कविताहरू छन्। २८ वटा गीति कविताहरू छन्। यी तीनवटै शैलीका कवितामा कविले क्षमता प्रदर्शन गर्नुभएको छ।’

कवि प्राध्यापक भएकाले बालकविताहरूमा बालकालिकाहरूलाई नैतिक उपदेशको पक्षलाई बढी महत्त्व दिएको समीक्षक शुभेच्छुले बताए । देशमा भएका साना–साना घटनाहरूलाई कवितामा समेट्ने प्रयत्न गरेको शुभेच्छुको भनाई छ।

घिमिरेका भोजपरे खिचडी (कवितासंग्रह) २०६७, मेरा जीवनका चरणहरू, भाग–१ (खण्डकाव्य) २०७०, फूल र म (कवितासंग्रह) २०७०, शालीकराम (शोककाव्य) २०७० प्रकाशित भएका छन्। उनका कृतिमा हिमाल मेरो देश (कवितासंग्रह) २०७६ पनि थपिएको छ। उक्त कविता संग्रहलाई उर्वर साहित्य समाजले प्रकाशनमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.