|

काठमाडौं :  नेपाल विद्युत् प्रधिकरणका केही कर्मचारीविरुद्ध कार्यकारी निर्देशक कुलमान घिसिङ आक्रोशित भएका छन्। सोमबार आफू र संस्थाविरुद्ध अनावश्‍यक प्रचार गर्न प्राधिकरणभित्रका कर्मचारी लागिपरेको बताउँदै उनी त्यस्ता कर्मचारीविरुद्ध आक्रोशित भएका हुन्।

उनले विगतका लोडसेडिङ गराउनका लागि सहयोग गर्नेहरू आफ्नाविरुद्ध लागेको समेत गुनासो गरेका छन्। ‘विगतमा लोडसेडिङ गर्नेहरू सलबलाएका छन्, उनैहरूका इसारामा सामाजिक संचाल र केही मिडियामा संस्था र मेरोविरुद्ध अनर्गल प्रचार भएको छ’ सोमबार पत्रकार सम्मेलन गरी घिसिङले आक्रोश पोखे।

आक्रोश पोख्ने क्रममा उनले आफू विगतका कार्यकारी निर्देशक जस्तो कठपुतली नबन्ने बताए। ‘विगतमा उच्च वर्गका भनिने कर्मचारीले भनेको मान्नुपर्ने कठपुतली जस्तो हामी बन्दैनौँ, यसो गर्दा नत लोडसेडिङ हट्थ्यो नत निगम नाफामा जाने थियो’ घिसिङले भने। उनले आफूले अनावश्‍यक मिटिङ गरेर ६० लाख रुपैयाँ भत्ता खायो भनेर सामाजिक संजाल र केही मिडियामा आएको बताउँदै त्यस्तो नभएको बताए। ‘विनियमले दिए अनुसारको मैले खाने, कार्यसम्पादनको आधारमा मूल्यांकन भएर दिएको इन्सेन्टिभ खाने हो, त्यो पनि सहसचिवस्तरको कर्मचारीले मूल्यांकन गरेपछि मात्रै’ घिसिङलले भने, ‘निर्णयमा केही भूमिका नहुने आमन्त्रित भएर बोर्ड बैठमा जानेहरू ६० लाख भत्ता खायो भनेर प्रचार गरिएको रहेछ यसमा मेरो आपत्ति छ।

उनले अनावश्‍यक प्रचार गर्ने केही कर्मचारीलाई स्पष्टीकरण मागेको र थप अध्ययन गरिरहेको समेत बताए। ‘विगतमा जस्तो प्राधिकरणमा कसैको दादागिरी चल्दैन, पाँचौँ तहका कर्मचारी अनावश्‍यक प्रचार गर्दै हिँड्न पाउँदैनन्’ घिसिङले भने, ‘मन्त्रालयबाट अनुदान लिएर प्राधिकरण नाफामा गयो पनि भन्दा रहेछन्, यो विषय चार्टर अकाउन्टेनले हेर्ने हो कि पाँचौँ तहको कर्मचारीले?’

उनले डेडिकेटेड फिडर ट्रंक लाइनबाट विगतको कार्यविधिका आधारमा ग्राहकलाई महसुल लिइएको नीतिसम्मतको काम गरेको दाबी गरे। विगतका कम विद्युत् भएको डेडिकेटेड फिडरको आवश्‍यकता परे पनि अहिले यस्तो अवस्था नरहेको भन्दै पुनर्विचार गर्न थालिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.