आराेप प्रत्याराेपले ढिलाइ

|

काठमाडौं: भूकम्प गएको तीन वर्ष भइसकेको छ। भूकम्पबाट क्षति भएकामध्ये काठमाडौं महानगरपालिकाभित्रका साना-ठूला गरी करिब तीन दर्जन सांस्कृतिक सम्पदामा क्षति भएको थियो। केही पुनर्निर्माणको चरणमा छन् भने कतै अझै पनि पुनर्निर्माणको पर्खाइमै छन्।

महानगरपालिकाभित्रका सम्पदाको जीर्णोद्बार कार्यको सम्पन्न भइसकेको छैन। महानगरका कतिपय स्थानका सम्पदा अहिले पनि लथालिंग अवस्थामै छन्। कुनैमा साधारण त कुनैमा गम्भीर क्षति पुगेको थियो। कतिपय सम्पदाले मानवीय क्षतिसमेत पुर्‍याए। तर,केही सम्पदाबाहेक अधिकांश निर्माण हुन सकेका छैनन्। केही भर्खर शिलान्यास भएका छन् भने केही पटक–पटक बनाउँदै भत्काउँदै गरिएको छ।

पुनर्निर्माण प्राधिकरणको असहयोग, पुरातत्व विभागको समन्वय अभाव र दाताहरुको प्रतिबद्बतामा सर्तैसर्त, निर्माणमा प्राविधिक तथा तल्लो तहमा डकर्मी, सिकर्मी अभावले सम्पदाको निर्माणमा गति लिन नसकेको महानगरकाे भनाइ छ। 

काठमाडाैं महानगरभित्रका ४३ वटामध्ये १९ वटा सम्पदाको पुनर्निर्माण  पूर्णरूपमा सम्पन्न भएकाे छ। स्वयम्भू, बौद्धलगायत विश्वसम्पदा सूचीमा परेका सम्पदाकाे पुनर्निर्माण भइसकेकाे काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगाेलले बताए।  महानगरमा अझै २४ वटा सम्पदाहरू निर्माण गर्न बाँकी छ।

सम्पदाको पुनर्निर्माणका लागि महानगरले चासो देखाए पनि पुरातत्व विभागले सहयोग नगरेकाले निर्माणको काम सम्पन्न हुन नसकेको महानगरको आरोप छ। सम्पदा निर्माणको क्रममा रहे पनि अन्य धेरै सम्पदा पुनर्निर्माणका लागि पुरातात्त्विक विभागले अस्वीकृत गरेकोले समस्या भएको महानगरपालिकाले बताएको छ।

विस २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले महानगरपालिकाभित्रका ४३ वटा सम्पदा क्षति गरेको थियो। ती मध्येमा १९ वटा सम्पदा महानगरले निर्माण गरिसकेको काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

महानगरले ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको डंगोलले दाबी छ। 'महानगरले निर्माण गर्न नसकेको भनेको रानीपोखरी पुनर्निर्माणको मात्र काम हो' उनले भने।

निर्माण हुँदै गरेका सम्पदाहरू

मैत्रीपुर महाविहार, वटु भद्रकाली मन्दिर, कीर्तिपुण्य महाविहार, बाघ भैरव मन्दिर, शोभा भगवती, भगवान् बहालस्थित बिहार पुनःनिर्माण, खुसीबही महाविहार, भेलु महादेवको पाटी सुधार, बटुमा रहेकाे कृष्ण मन्दिरको पर्खाल, उमामहेश्वर मन्दिर, राधाकृष्ण सेवा संस्था, तारकेश्वर धाम, लगन बहाल, संकटा मन्दिर परिसरमा रहेको मुग द्यो मन्दिर निर्माण, राधाकृष्ण देवस्थल हाडीगाउँ, बैरोचन तीर्थको बिहार,  वडा नम्बर पाँचकाे वृत्तचित्र निर्माण हाडीगाउँ, दयाश्वर महादेव परिसरको भजन घरलगायत सम्पदाहरू निर्माण गर्न बाँकी छ।

महानगरले यस आर्थिक वर्षभित्रमा १५ वटा सम्पदा निर्माण गर्ने योजना लक्ष्य राखेको छ। पुरातात्त्व विभागको नक्सांकन अस्विकृतका कारणले सम्पदा निर्माणकाे काम समयमा नभएकाे प्रवक्ता डंगाेलकाे दाबी छ। महानगरले यस आर्थिक वर्षमा ४९ करोड रुपैयाँ सम्पदा पुनर्निर्माणको लागि बजेट विनियोजन गरेको छ।

के भन्छ पुरातत्व विभाग 

भूकम्पले क्षति  पुगेका ऐतिहासिक सम्पदाहरू हतार गरेर बनाउन नहुने पुरातत्व विभाग इन्जिनियरङ शाखाका प्रमुख सम्पद घिमिरे बताउँछन्। अन्यत्र क्षतिग्रस्त सम्पदा यति छिटो बनाइँदैन भन्दै घिमिरेले भने, अध्ययन,अनुसन्धान र किन क्षति भयो भनेर सम्पूर्ण खोजी गरेर मात्र बनाउने काम गर्ने गरिन्छ तर यहाँ सम्पदा निर्माणमा किन यति हताराे।' केही संस्थाले  जिम्मा लगाएका  काम पूरा गर्न सकेका छैनन्।

पुरातत्व विभागका अनुसार हालसम्म देशभरका भूकम्पले क्षति गरेका २०० वटा सम्पदा निर्माण सम्पन्न गरिसकेको जनाएकाे छ।

महानगरपालिकाले आफूखुसी बनाउन खोजेकोले पनि केही ढिलो हुन गएको छ,' प्रमुख घिमिरेले भने, 'ठाउँ,मापदण्ड र रेखांकनअनुसार निर्माण गर्नुपर्ने भएकोले पनि ढिलो भए पनि, भनिएजस्तो ढिलो काम भने भएको छैन।' सम्पदा जस्तो कुरा विभागले र महानगरले आफ्नो खुसीले बनाउन पाउँदैन। 

के भन्छन् विज्ञ

नेपालमा सहकार्यको संस्कारको संस्कृति नभएको पुरातत्व विभागका पूर्वमहानिर्देशक कोषराज आचार्यकाे भनाइ छ।  सम्पदाजस्तो महत्वपूर्ण क्षेत्रको निर्माण गर्दा धेरै विचार गरेर काम गर्नुपर्छ तर,यहाँ आफ्नो इच्छामा काम गर्ने गरेका छन्। दक्ष जनशक्ति, ठोस नीति नबन्दा यस्तो समस्या आएको आचार्यको भनाइ छ।

अपनत्‍वको महसुस गर्न नसक्दा पनि निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै राजनीति संस्कारले पनि निर्माण कार्य प्रभावित भएकाे उनकाे दाबी छ। 'कामभन्दा पनि यहाँ जुँगाको लडाइँ छ,कसले गर्ने भनेर लागेको छन्,' उनले भने,' सम्पदा भनेको सबैको सम्पत्ति हो भनेर कोहि लागेको छैनन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.