|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको बाँकी कार्यको घोषणा वैशाख ९ गते गर्ने तयारी भएको छ। तत्कालिन नेकपा एमाले र एमाओवादीबीच एकता भएर नेकपा बनेको एक वर्ष हुनलाग्दासमेत तल्ला कमिटीको एकताको काम बाँकी रहेको छ। 

एकताको बाँकी कार्य टुंग्याउने सन्दर्भमा नेकपाको सचिवालयले वैशाख ९ गतेलाई केन्द्रित गरेर आन्तरिक गृहकार्य अगाडी बढाएको छ। श्रीमती सीता दाहालको उपचारका निम्ती अमेरिका गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केलगत्तै गृहकार्य अगाडि बढाइएको छ। खास गरी केही दिन अघिबाट शीर्ष नेताहरू वैशाख ९ गतेलाई लक्षित गरेर एकताका काम सम्पन्न गर्ने कार्यमा लागेका हुन्।

केन्द्रीयस्तरमा पार्टी एकता भएको लामो समय भइसक्दा पनि एकताका बाँकी काम पुरा हुन नसक्दा नेकपा जनस्तरमा कमजोर बन्दै गएको र सरकारका काम कारबाहीका बारेमासमेत जनस्तरमा भ्रम रहेको भन्दै व्यापक गुनासो बढ्दै गएको छ। एकताको काम पुरा नहुँदा नेकपाका कार्यकर्ताहरू कामविहीन भएका छन् भने असन्तुष्टि बढ्दै गएको छ। नेकपाका केही केन्द्रीय नेताहरूले समेत एकताका बाँकी कार्य पुरा नहुँदा पार्टी ध्वस्त भएको, पार्टी जनस्तरमा कमजोर बन्दै गएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन। 

यसै सन्दर्भमा नेकपाका शीर्ष नेताहरूले वैशाख ९ गते पार्टी एकता सकिएको घोषणा गर्नेगरी आन्तरिक तयारी गरेका हुन्। त्यसका निम्ती नेताहरूले छलफल अगाडि बढाएको नेकपाका एक नेताले बताए। 'नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केपछि पार्टी एकता टुंग्याउनेगरी छलफल अगाडि बढेको छ। अहिले शीर्ष नेताहरू छलफलमा जुटिरहनुभएको छ', नाम उल्लेख नगर्ने शर्तमा नेकपाका ती नेताले भने। 

स्रोतकाअनुसार नेकपा सचिवालयका शीर्ष नेताहरूबीचमा छलफल गर्ने, सम्बन्धित प्रदेशका पदाधिकारीहरूलाई बोलाएर छलफल गर्ने काम भइरहेको छ। 

वैशाख ९ गते एकताको बाँकी काम पुरा गरी घोषणा गर्ने तयारीका सन्दर्भमा नेकपा महासचिव विष्णु पौडेलसँग बुझ्‍न खोज्दा आफू बैठकमा भएको बताउँदै यसबारेमा उनले थप प्रतिक्रिया दिएनन्। 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने यसबारे बोल्न चाहेनन्। उनले काम भइसनसकेको बताए। उनले एकतालाई पूर्णता दिने भनिएको र गर्नैपर्ने अवस्था रहेको बताए। 

यो पनि पढ्नुस्

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.