|

दाङ : कमलरीको विषयवस्तुमा निर्माण गरिएको चलचित्र ‘लावाजुनी’ ले युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ।

सञ्चारकर्मीसमेत रहेका केएल पीडितको निर्माण/निर्देशन रहेको ‘लावाजुनी’ लाई सेन्सर बोर्ड (चलचित्र जाँच समिति)ले युनिभर्सल प्रमाणपत्र दिएको हो।

यो प्रमाणपत्र प्राप्त गर्ने चलचित्रलाई सबै उमेरसमूहका दर्शकहरूलाई हेर्न पाइने हुन्छ।

पश्चिमी नेपालका जिल्लाहरूमा थारु समुदायमा विगतमा प्रचलित कमलरी प्रथामा आधारित चलचित्र ‘लावाजुनी’मा कमलरी बस्दा थारु बालिकाहरूले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रण गरिएको निर्माता/निर्देशक पीडितले बताए।

चलचित्रमा कमलरीको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्त ढंगमा उठाइएको बताइएको छ।

‘पहल नेपाल’को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘लावाजुनी’मा छविलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रिया देवकोटा, निश्मा वलीलगायतका कलाकारहरूको अभियनय रहेको छ।

‘लावाजुनी’मा संगीत सन्तोष श्रेष्ठको रहेको छ। चलचित्रका गीतहरूमा कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र यांशु श्रेष्ठले स्वर दिएका छन।

करीब ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको चलचित्र ‘लावाजुनी’को कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन्। यसका निर्माताहरूमा रिना बस्नेत, सम्झना जीएम, टोपबहादुर जीसी र शारदा बीसी रहेका छन।

‘लावाजुनी’लाई नेपाल र विदेशमा ‘च्यारिटी शो’ गरी हलहरूमा रिलिज गरिने कार्यकारी निर्माता बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.