जिल्ला प्रशासनबाट लिनुपर्ने अनुमति वडाबाटै!

|
प्रतीकात्मक तस्विर

संखुवासभा : जिल्ला प्रशासन कार्यालय, संखुवासभाले अन्तर्राष्ट्रिय संगीत महोत्सवका नाममा 'ट्रान्स पार्टी' आयोजना गर्न लागेकाहरूलाई अनुमति नदिएपछि उक्त पार्टीका आयोजक जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयविरुद्ध उच्च अदालत पुगेका छन्।

जिल्ला प्रशासन कार्यालय, संखुवासभाले मादी नगरपालिका-९ रोकेडाँडा, तीनजुरे, मिल्के र जलजले क्षेत्रमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय संगीत महोत्सवमा लागुपदार्थको प्रयोग, अश्लील गतिविधि र खुला यौन गतिविधि हुने सूचना पाएको भन्दै सोही आधारमा प्रशासनले अनुमति दिएको थिएन। अनुमतिबिना कार्यक्रम गर्न लागिएको भन्दै प्रहरीले आयोजकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

गतवर्ष पनि यस्तै कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा अश्लील गतिविधि भएको प्रशासनलाई सूचना पुगेको बताएको छ।

प्रतिबन्ध लगाइएको भन्दै आयोजकले भने जिल्ला प्रशासन कार्यालय, संखुवासभा र जिल्ला प्रहरी कार्यालय संखुवासभाविरुद्ध उच्च अदालत धनकुटामा रिट दायर गरेको हो।आयोजक शक्ति पिक म्युजिकको तर्फबाट खोटाङ दिक्तेल नगरपालिका-७ का सुभाष केसी र धनकुटा नगरपालिका-६ का मानप्रकाश खड्काले रिट दर्ता गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाई दर्ता गरेको रिटमा विदेशी पाहुनाहरू नेपाल आइसकेको र लाखौँ खर्च भइसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले कार्यक्रमलाई रोक लगाउनु कानुनविपरीत भएको उल्लेख गरिएको छ।

उच्च अदालत धनकुटामा परेको रिटका बारेमा आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए।

ट्रान्स पार्टीमा आएका विदेशी अलपत्र

'अन्तर्राष्ट्रिय संगीत महोत्सव' नाम दिइएको ट्रान्स पार्टीमा आएका करिब दुई हजार विदेशी बीच बाटोमै अलपत्र परेको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रम आयोजनाका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भए पनि आयोजकले भने वडा कार्यालयसँग कार्यक्रमको लागि स्वीकृति लिएको पाइएको छ। उक्त कार्यक्रममा सहभागी हुन आएकाहरूलाई कार्यक्रमस्थल जान लाग्दा सुरक्षाको कारण देखाउँदै धनकुटाको हिले र तेह्रथुमको चित्रेमा रोकिएको बताइएको छ।

कार्यक्रममा गुराँसको अवलोकनसँगै योगा, ध्यान, नेचर क्याम्पिङ, लाइभ म्युजिक लगायतको कार्यक्रम तय गरिए पनि प्रशासनले कार्यक्रमको गलत अर्थ लगाउँदै कार्यक्रम नै गर्न नदिएको मादी नगरपालिकाका प्रमुख विदुर लिङथेपले बताए। उनले भने गत वर्षको कार्यक्रम हेरेर स्थानीयको सकारात्मक प्रतिक्रियाका आधारमा स्थानीय सरकारले अनुमति दिएको बताए। उनले थपे, 'रुढीग्रस्त, पुरातनपन्थी सोचको प्रजिअ भएका कारणले यस्तो भएको हो।'

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले  लागूऔषध गाँजा र यौनजन्य गतिविधि हुने भएकाले रोक लाएको भनेका छन् नि ? भन्ने प्रश्नमा नगरप्रमुख लिङथेपले भने, 'कहाँ आयो गाँजा? गाँजा भेटिएमा त प्रहरी र प्रशासनले सर्च गरेर पक्राउ गर्नुपर्थ्यो नि। कार्यक्रमस्थलमा यौनजन्य क्रियाकलाप हुने भनिएको छ। त्यो भएको कुनै तथ्य छ? प्रमाण छ? अनुमानका भरमा विदेशी पर्यटकहरूलाई यातना दिने प्रजिअ पर्यटन विरोधी हुन।'

आयोजक पक्राउ

यसैबीच शक्ति पिक इन्टरनेशनल म्यूजिक फेस्टिभल प्रा. लि. काठमाडौंका अध्यक्ष सुवास केसी प्रकाउ परेका छन। उनलाई गत २२ गते डि. जे. म्यूजिकका सामानसहित जिल्लाको प्रवेश स्थल टुटेदेउरालीमा आएर कार्यक्रम स्थलतर्फ जान लाग्दा प्रहरी प्रशासन विरुद्ध नारावाजी र गालीगलौज गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानरी दिएको छ।

केसीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी प्रमुख श्यामकुमार सारु मगरले जानकारी दिए।

मूलरुपमा पश्चिमा मुलुकहरुमा ट्रान्स पार्टी प्रचलनमा रहेको छ। यस्ता पार्टीमा यौनजन्य क्रियाकलाप हुने, युवायुवतीले लागुऔषधको नशामा लट्ठिएर नग्नता तथा अश्लीलता प्रदर्शन गर्छन। यस्ता पार्टीलाई नेपालका अन्य भागमा पनि प्रशासनले प्रतिबन्ध लगाउदै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.