|

सोलुखुम्बु:   लामो समयदेखि सिद्धिचरण लोकमार्ग मर्मत हुन नसक्दा यात्रु तथा सवारी चालक जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन्।  हिउँदमा धुलो र बर्खामा हिलोको कारण यात्रा जोखिमपूर्ण बनेको हो। 

२०५८ सालमा कटारी–घुर्मी यातायात सञ्चालनमा आएको सिद्धिचरण लोकमार्ग सरकारी परिभाषामा पक्की हो तर सडकको अवस्था भने खन्दै गरेको सडक जस्तै धलाम्मे देखिन्छ। 'पक्की हो कि कच्ची हो छुट्याउन सकिदैन।'  कटारी नगरपालिका ११ का नरबहादुर बस्नेतले भने 'धेरै शासन व्यवस्था फेरियो तर यो सडकको अवस्था फेरिएन।, 

 सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी नगरपालिका हुँदै खोटाङ, ओखलढुंगा र सोलुखम्बु जोड्ने एक मात्र लोकमार्ग जिर्ण हुँदा सवारी साधन चलाउन कठिन हुने गरेको चालकहरुको भनाइ छ।   गाउँको भर्खर ट्रयाक खुलेको सडकमा सवारी चलाउनु र यस लोकमार्गमा सवारी चलाउनुमा कुनै फरक नहुने उनीहरूको गुनासो छ। 

कसमस सिमेन्ट उद्योगको लागि कच्चा पदार्थ ढुवानी गर्ने ट्रिपर चालक सन्तोष बुढाथोकीका अनुसार अत्याधिक धुलो उड्दा अन्य कुनै सवारी साधन देख्न मुस्किल पर्ने हुँदा दुर्घटनाको जोखिम हुन्छ। बुढाथोकीले भन्छन्, 'ट्रिपर चलाउँदा पाँच मिटर परसम्म देखिदैन त्यही माथि अत्याधिक बाक्लो धुलो उडेपछि  न त सानो गाडी देखिन्छ न त सडक नै, कति बेला डिल कट्ला भन्ने डरसरी अनुमानको भरले चलाउनुपर्छ।'

 लोकमार्ग पिच भएको करिव पाँच वर्ष नपुग्दै पिच उप्कन थालेको स्थानीयको दावी छ। सडक उप्कदै गएको बेला गुणस्तरीय स्तरोउन्ती गरिएको भएपनि पनि अहिलेको अवस्था नआउँने उनीहरुको भनाई छ। डेढ दशकमा आइपुग्दा पक्की सडक हो या कच्ची धुले छुट्टाउन मुस्किल छ।

लोकमार्गको मर्मत सम्भारमा कसैको ध्यान नपुगेको गुनासोलाई सडक डिभिजन कार्यालय लाहानले समेत स्वीकार्छ। सडक डिभिजन कार्यालय लाहानका इन्जिनियर बेचन कुमार भण्डारीका अनुसार पनि तत्काल सडकको मर्मत गर्नुपर्ने अवस्था छ।

जननिर्वाचितको बोली सुनिएन

 यस क्षेत्रका जनप्रतिनिधिले समेत लोकमार्ग भन्दा पनि ज्यानमार्ग भएको बताउँछन्। सडक दुर्घटनाको प्रमुख कारण सडकको अवस्था ठिक नभएको पनि जनप्रतिनिधिलाई राम्रै थाहा छ र यस बिषयमा बारम्बार सदनको शुन्य समयमा समेत सरकारको ध्यानकर्षण गरिएको ओखलढुंगा प्रतिनिधिसभा सदस्य यग्यराज सुनुवार दाबी गर्छन्। सांसद सुनुवारका अनुसार चाडै उक्त सडक खण्डलाई चार लेनको बनाउने योजना बन्दैछ।

खोटाङ जिल्ला प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईका अनुसारपनि सडकको तत्काल स्तरोन्ती हुने बुझिन्छ। तर यो व्यवहारमा कहिले आउने हो भन्ने बारे कसैलाई पनि थाहा छैन।  सोलुखुम्बु प्रतिनिधि सभा सदस्य हेमकुमार राई (शुरबीर)ले माथिल्लो सगरमाथाका तीन जिल्लाका संसादले सडकको दीगो मर्मतका लागि सरकारको ध्यानकर्षण गराउने काम भईरहेको बताए। जनप्रतिनिधिले गर्ने काम गरिरहेको भएपनि सम्वन्धित विभागले काम अगाडी नबढाउँदा समस्या यथावत रहेको सांसद राईको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.