|

काठमाडौं :   नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाई मापन शुरू गरेको छ। नेपाल सरकारले आफ्नै लगानीमा पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्न लागेको हो। 

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडि बढाएको हो। 
सगरमाथाको उचाई मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरू बुधवार त्यसतर्फ प्रस्थान गरेका छन्।

उक्त टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा एक करायक्रमको आयोजना गरि बिदाई गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले माला र टिका लगाएर गाइडसहितको उक्त टोलीलाई बिदाइ गरेका थिए। 

उचाइ मापनका निम्ति आवश्यकपर्ने यन्त्रहरूसहित प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरेको हो। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए। प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाइ मापन गर्नेछन्। जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्कसूत्रको काम गर्ने र प्रमुख गौतम र कार्की भने सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापन गर्नेछन्। 

उक्त कार्यका निम्ति पाँचजना गाइडहरू खटाइएको छ। पिक प्रमोशन प्रालिमार्फत छिरिङ जाङ्बु शेर्माको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्‍याउन मद्दत गर्नेछन् भने आङ्बु शेर्मा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गर्नेछन्। 

यसैबीच, त्यस अवसरमा सगरमाथाको उचाई मापनका लागि जान लागेको टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुभकामना दिएका छन्।

कार्यक्रममा टोलीलाई शुभकामना दिँदै मन्त्री अर्यालले चुनौतीपूर्ण र सरकारले गरेको ऐतिहासिक कार्य भएको हुनाले सावधानीपूर्वक जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरे।

मन्त्री अर्यालले भनिन्, 'हामीले आफ्नै तर्फबाट पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्दै छौँ, सरकारले तपाइहरूलाई ठूलो जिम्मेवारी दिएको छ, सावधानीकपूर्वक उक्त जिम्मेवारी पूरा गर्दै सावधानीपूर्वक काम सम्पन्न गर्नुस् शुभकामना।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.