समाज

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजबाट सुरु
SHARES

चैत २७, २०७५

    भक्तपुरः तःमढी (टौमढी)स्थित ङातापोल (पाँचतल्ले) मन्दिरको ठीक अगाडि काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको ३ तल्ले भैल खः (भैरवनाथको रथ) चिटिक्क पारेर तयार गरिएको छ। मन्दिरको छानामा चारैतिर रातो तोरण राखिएको छ। पित्तलको छानामा रातो तोरणले रथलाई निक्कै आकर्षण बनाएको छ। चार वटा ठूला ठूला पाङ्ग्रासहितको तीन तल्ले रथको अगाडि लामो वेतसीं (बेताल राख्ने अर्धचन्द्राकार लामो काठ) राखिएको छ।

    अर्धचन्द्राकार सो काठको टुप्पोमा वेताल भगवान् विराजमान गराइन्छ। रथका चार वटै पाङ्ग्रामा भक्तपुर कै प्रसिद्ध चित्रकार पूर्ण चित्रकारले भैरवको मुखाकृतिको चित्र कोरेर थप आकर्षण बनाएको छ।

    रथमा भैरवनाथको मुर्ति विराजमान गराउनु अघि रथका अगाडि पाँच र पछाडि चार/चार वटा डोरी बाँधिन्छ जसलाई नवदुर्गाको प्रतिकका रुपमा लिइन्छ। रथ सम्पूर्णरूपले तयार भइसकेपछि रथमा भैरवनाथको मुर्ति विराजमान गराईन्छ, मुर्तिसँगै राजसंस्थाको प्रतिक खड्ग, तरवार, निशान राखिन्छ। त्यसपछि रथका अगाडि पछाडि भएका डोरीको सहायताले जात्रालुहरूले रथ तान्न सुरु गर्दछन र भक्तपुरको ९ दिन ८ रातसम्म धुमधामका साथ मनाइने  बिस्का जात्रा सुरु हुन्छ।

    यो जात्रा चैत्र महिनाको मसान्तको चौंथो दिन अर्थात चैत्र महिना ३१ गतेको छ भने २८ गतेबाट र ३० गतेको छ भने २७ गते सुरु हुन्छ। सोअनुसार यसवर्ष बुधवारदेखि बिस्का जात्रा सुरु भएको हो। जात्राको प्रमुख आकर्षण मध्ये एक हो रथ तानातान गर्नु। यसरी तानेर रथलाई क्वने (तल्लो) वा थने (माथिल्लो) टोलका स्थानीयले आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ।

    ९ दिन ८ रात धुमधामका साथ मनाइने बिस्का जात्राको पहिलो दिन रथलाई तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ। त्यसैगरी पहिले क्वनेतर्फ तानेर लानसके टेखापुखुसम्म ल्याउने र त्यहाँबाट पुनः टौमढीहुँदैं दत्तात्रय पुर्‍याएर त्यहाँबाट फर्काएर गःहिटीमा रथ पुर्‍याउनु पर्ने परम्परा रहेको छ। जात्रामा रथ तान्ने परम्परागत रुट क्वने (तल्लो टोल) तर्फ टौमढी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, बंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयसम्म रहेको छ। जात्राको दोस्रो दिन शून्य मान्निछ।

    तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ।

    जात्राको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं(हात नभएको सिंगो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो सिंगो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ।

    सिंगो उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ। पुरानो वर्ष विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा सिंगो उभ्याउने गरिन्छ। सिंगोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एकजोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। सिंगो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतिक मानिन्छ। सिंगो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ। सिंगो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ।

    सिंगो उठाएको हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ। यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि सिंगो उभ्याउने स्थानमा पुर्‍याइन्छ। र सिंगो उठ्नासाथ स्थानीय बाराही र इन्द्रायणी देवीको जात्रा मनाइन्छ।

    बिस्का जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष बैशाख १ गतेका दिन सिंगो ढालिन्छ। त्यसको लगतै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने परम्परा रहेको छ। जसलाई स्थानीय भाषमा द्यः ल्वाकिगु जात्रा भनिन्छ। साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ। जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने(माथिल्लो) र क्वने(तल्लो) टोलका बासिन्दाबाट तानातान गरिन्छ।

    बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। ‘भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनि उल्लेख गरिएको छ।

    त्यसैगरी भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ। 'तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ’ उनले भने, ‘यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो। पछिल्लो कालखण्डमा नेवारी नामाकरण अनुसार विसिक, बिस्क, बिस्का हुन पुगेको हो। त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो। नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ।’

    प्राडा. श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दावी समेत गरे। उनले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धीत रहेको र यसको प्रचलित सर्प मारेको र नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम मात्र रहेको बताए। ‘यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो। विश्व भैरवनाथको प्रतीक लिंगोमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात भैरव र भद्रकालीको हो। यसलाई जर्वजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ।’ उनले भने, ‘नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो। नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधि पुर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ। स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो? स्यातबाट कसरी स्का हुन गयो? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, विर ध्वजा लेखिएको छ। यस मानेमा विश्व नाथको ध्वजा विश्वध्वजा हो। विर ध्वजा हो भन्ने कुरा स्पष्ट छ। यसमा वीर भनेर भैरवको वाहान विर बेताललाई भनिएको हो। त्यस मानेमा पनि यो ध्वाजा विश्व ध्वाजा र विर ध्वाजा मान्न सकिन्छ। तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो।’

    बिस्का जात्रामा पछिल्लो केही वर्ष यता ढुंगामुढा हुने, झडप हुने गरेको छ। यसलाई रोक्न भक्तपुर प्रशासनले भरपुर प्रयाश गरेपनि आशातित सफलता भने पाउन सकेको छैन। यसवर्षको जात्रालाई पनि शान्तिपुर्वक सम्पन्न गर्न प्रहरी, प्रशासन र भक्तपुर नगरपालिकाको संयुक्त सहकार्यमा जात्रा रुटका विभिन्न स्थानमा सि सि क्यामेरा राख्ने, सडक बत्ति राख्ने कार्य भएको छ।

    भक्तपुर नगरपालिकाले जात्रालाई व्यवस्थित र मर्यादित बनाउन विशेष पहलकदमी लिएको छ। नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा समिति नै गठनगरी जात्राको सबैपक्षको तयारीको अवलोकन भइरहेको छ। जात्रालाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन जनचेतनाका लागि माईकिङ गर्ने, पर्चा पम्पलेट वितरण गर्ने र शान्तिपूर्ण र्‍याली समेत आयोजना गरिएको छ।

    जात्रामा हुने हुलदंगा नियन्त्रण गर्न, उच्छृंखल व्यवहार गर्नेलाई नियन्त्रणमा लिन र सम्भावित झडपलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिव १ हजार सुरक्षाकर्मी परिचालन हुने महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालय श्रेष्ठले  जानकारी दिए। उनले सादा पोशाकमा समेत प्रहरी परिचालन गर्ने र हुलदंगा गर्न खोज्नेलाई सिसी क्यामेराको फुटेजका आधारमा पनि नियन्त्रण गरेर कडा कानुनी कारवाही गर्ने बताए।

    बुधबार साँझबाट सुरु हुने बिस्का जात्राका लागि नयाँ बेतालको मुर्तिलाई भैरवनाथको रथमा विराजमान गराइन्छ। ३० वर्ष अगाडि जात्राको क्रममा इनाचो स्थित एक घरमा रथ ठोक्किएर बेतालको मुर्तिमा क्षति पुगेका कारण यस वर्ष भक्तपुर नपा–५ का स्थानीय नारायण प्रसाद खाइतुको आर्थिक सहयोगमा सो मुर्ति बनेको हो।

लक्ष्मी गारु

गारु थाहा खबरका भक्तपुर समाचादाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]